भूकम्प प्रतिको संवेदनशीलतालाई बुझेर सुरक्षित संरचना निर्माण गरिनु पर्छ : मन्त्री यादव

1.32k
Shares

काठमाडौँ ।

खानेपानीमन्त्री प्रदीप यादवले विश्वका विभिन्न मुलुकसँगै नेपाल पनि भूकम्पको जोखिम युक्तमा पर्ने भएकाले भूकम्प प्रतिको संवेदनशीलतालाई बुझेर अनि मनन गरेर हामीले सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन् ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) द्वारा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

हाम्रो देश नेपाल विश्वमै ११ औँ स्थानमा पर्ने भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले विगतका भूकम्पहरुले हाम्रो कमजोर संरचना र असुरक्षित विकासले कति ठूलो क्षति पुर्‍याउन सक्छ भन्ने पाठ सिकाएको मन्त्री यादवले बताए ।

उनले भने, “यस वर्षको सरकारी नारा समेत “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” रहेको छ । बिगतका विपद् अनि भूकम्पहरुले पुर्‍याएका क्षतिलाई स्मरण गर्दै हाम्रा संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउनु पर्छ ।”

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका  मन्त्री यादवले भूकम्पजस्ता प्राकृतिक प्रकोपहरुबारे सचेत गराउँदै हामीले अपनाउनुपर्ने तयारी र व्यवस्थापनका पक्षहरुलाई गम्भीरतापूर्वक आत्मसात् गर्नु पर्ने बताए । उनले भने, “गएको हप्ता, एक बिहानै, काठमाडौँ उपत्यका हल्लियो, जब चीनमा ठूलो भूकम्प आयो हामी डरायौँ, प्रकृतिको अपार शक्तिलाई सम्झँदै आगामी दिनमा प्राविधिकहरुको सल्लाहमा मात्रै संरचना निर्माण गर्नु पर्छ ।”

यसैगरी चरम मौसमको अवस्थाले हाम्रो वातावरणमा असर गरिरहेको र भूकम्प, बाढी, पहिरो जस्ता विपद्हरुले हाम्रा पूर्वाधार, विशेष गरी खानेपानी प्रणाली, जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो असर पार्ने गरेकाले यस्तो अवस्थामा इन्जिनियरहरूको भूमिका अझ महत्त्वपूर्ण र अपरिहार्य रहेको मन्त्री यादवले दाबी गरे ।

सरकारले इन्जिनियरहरूको महत्त्वलाई बुझ्दै विपद् व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको र नीति निर्माणदेखि योजना कार्यान्वयनसम्म, प्राविधिकको सल्लाह र सहभागिता आवश्यक रहने मन्त्री यादवले बताए । “तपाईहरुको कार्यलाई सहज बनाउन प्राविधिक, आर्थिक, र नीतिगत सहयोग उपलब्ध गराउन र पूर्वाधार निर्माणका लागि प्राविधिक सहयोगको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्ने छ ।” उनले भने ।

सोही क्रममा बोल्नु हुँदै मन्त्री यादवले भवन निर्माण संहिता पालन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुरिनु पर्ने, पुराना र जोखिमयुक्त संरचनालाई सुदृढीकरण गरिनुपर्ने बताए । उनले भने, “समुदाय, विद्यालय, र कार्यालयहरुमा भूकम्पीय जोखिम र पूर्वतयारीका विषयमा जनचेतना कार्यक्रम सञ्चालन गरी नियमित रुपमा अभ्यास गराई जोखिम प्रतिकार्य क्षमतामा वृद्धि गरिनुपर्छ ।”

नेपालजस्तो भौगोलिक रुपमा प्रकोपका लागि संवेदनशील मुलुकमा सुरक्षित संरचना निर्माण, आपत्कालीन पूर्वाधार व्यवस्थापन, र दिगो पुनर्निर्माणका लागि प्राविधिक जनशक्तिको सक्रियतामा जोड दिए । “भूकम्पीय जोखिम न्यूनीकरणका लागि खानेपानी प्रणालीलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउन प्राविधिक जनशक्तिले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,” उनले भने ।

सोही कार्यक्रममा बोल्नु हुँदै ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले यहाँ ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ जस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरी सबै नागरिकलाई नियमित रुपमा अभ्यास गराउनु पर्ने बताए । उनले भने, “हाम्रो देश भूकम्पको उच्च जोखिममा छ, हाम्रो संरचना निकै कमजोर छन्, जोखिमबाट बच्नका लागि हामी के गर्ने भन्ने विषयमा सचेतना जगाउन जरुरी छ ।”