भीम रावलको निष्कासन स्वाभाविक: एमाले सचिव भट्टराई

7.61k
Shares

दोलखा।

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरिएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वाभाविक रहेको बताएका छन् । 

दोलखा भ्रमणमा आएका एमाले सचिव भट्टराईले प्रेस चौतारीले बुधवार चरिकोटमा आयोजना गरेको कार्यक्रममा भीम रावललाई तीन बर्षदेखी पार्टीमा राख्ने प्रयत्न गरिएको भएपनि उहाँले पार्टीसँगको अनुबन्ध तोड्न चाहेपछि निष्कासन गरिएको बताए । ‘पार्टीमा प्रवेश गर्ने ढोका सधै खुला हुन्छ एमाले सचिव भट्टराईले भने– तर निस्कने ढोका भने कहिले काहीमात्र खुल्ने हो जुन भीम रावलको लागि खोलिएको छ ।’

एमाले सचिव योगेश भट्टराईले वर्तमान कांग्रेस– एमालेको गठबन्धन सरकार २०८४ सम्मै रहने उल्लेख गर्दै निर्वाचनमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने बताए । यो सरकार मुलुुकमा विभिन्न सङ्कट रहेको बेला बनेको हो । छ महिनाको अवधिमा सरकारले केही राम्रा काम गरेको छ । त्यसैले यो सरकार बजार हल्ला जस्तो आज भोलीनै विगठन भै हाल्ने अवस्था छैन– सचिव भट्टराईले भने । 

सरकारले सात बुँदे सहमति अनुसार नै संविधान संशोधन लगायतका काम गर्ने उल्लेख गर्दै  एमाले सचिव योगेश भट्टराईले भने– सविधान संशोधनको विषयमा एमाले र नेपाली कांग्रेस आन्तरिक छलफलमा छन् । दुई पार्टी बीच संयुक्त छलफल पनि हुन्छ । अनि सबै राजनीतिक दलको सहमतिमै सरकारले संशोधनको प्रस्ताव अघि बढाउने छ । 

एमाले सचिव भट्टराईले चीनसंगको विआरआई सम्झौता सरकारको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा दूतावास र परराष्ट्र मन्त्रालय परामर्शमै रहेको बताए । 

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सबै देशसंग सन्तुलित छ भट्टराईले भने– छिमेकी चीन र भारतसँग त झन् राम्रो नहुने कुरै भएन । बिआरआई सम्झौताका कारण भारतसँगको सम्बन्ध नबिग्रने एमाले सचिव भट्टराईको भनाई छ ।

प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद भरत बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।