दुई–दुई कार्यकाल राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब सक्रिय राजनीतिक जीवनमा आउने कुराले हालको राजनीतिको बजार तताएको छ। उनको सक्रिय राजनीतिमा फर्कने उद्घोषले नेकपा एमाले वृत्तमा कस्तो असर परेको छ ? भनेर भन्दा पनि भण्डारी सक्रिय राजनीतिक जीवनमा फर्कने उद्घोषले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने धेरै नै असहज वतावरण बनाएको छ। त्यही कारणले प्रम ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नआउनको लागि अनुरोध गरे अनि सुझाव र चेतावनीसमेत दिन भ्याए । तर प्रम ओलीका यी कुनै पनि अस्त्र भण्डारीका लागि कामयावी बन्न सकेनन् र भण्डारीको सक्रिय राजनीतिमा फर्कने दृढ निश्चय कायम नै रहेको सुन्नमा आएको छ।
हुन त विद्या भण्डारीलाई दुई–दुई कार्यकालका लागि राष्ट्रपतिको गरिमामय पदमा आसीन गराइरहन केपी शर्मा ओलीकै मुख्य हात रहेको कुरा सबैलाई अवगत नै छ । प्रम ओलीको बुझाइअनुसार विगतमा आफूले लगाएको त्यत्रो ठूलो गुनको बदला भण्डारीले पनि राजनीतिक सक्रियताको घेराबाहिरै बसिदिएर तिरेको भए जाती हुन्थ्यो भन्ने ओलीको आग्रह देखिन्छ । विद्याको राजनीतिक सक्रियतासँग प्रम ओली डराउनुको कारण आफूले विगतमा गरेका र भएका कर्तुतहरुको पोल खोलिएर सर्वत्र छताछुल्ल पो हुने हुन् कि भन्ने रहेको छ।
यदि ओलीले आफ्नो मानसले सोचेको अनुसार नै कार्यक्रम भएका खण्डमा प्रम ओलीले राजनीतिबाटै हात धुनुपर्ने मात्र होइन कि सजाय भोग्नुपर्ने दिनसमेत नआउला भन्न सकिँदैन । यदि विद्याप्रतिको प्रम ओलीको सकारात्मक निषेध हो भनेचाहिँ त्यसको विपरीत त्यत्रो गरिमामय पदमा आसीन भएको व्यक्तित्वको सक्रिय राजनीतिमा ओर्लेपछिका दिनमा उक्त लोकप्रियता गुमेर नजाओस् भन्नका खातिर पनि ओलीले विद्यालाई सक्रिय राजनीतिमा नआउन चेतावनी दिँदै निषेधको बाटोबाट रोक लगाउन खोज्दै छन् भन्ने पनि बुझ्न सकिन्छ । अर्कोतिर नेकपा एमालेका धरै कार्यकर्तामध्ये कोही प्रम ओलीको गुटमा छन् भने प्रम ओलीका जति धेरै नभए पनि केही वफादार कार्यकर्ता विद्या भण्डारीका पनि रहेका छन्। यदि ती दुवै गुटका कार्यकर्तालाई एकै ठाउँमा गोलबद्ध गर्ने हो भने निकै साहस बढाउने खालको वातावरण बन्ने हुन्थ्यो । यदि ती कार्यकर्ता विविध खेमामा विभाजित भएको खण्डमा प्रम ओली र पूर्वराष्ट्रपति भण्डारी दुवैलाई घाटा लाग्ने दूरदृष्टिको नजरले विश्लेषण गरेर पनि प्रम ओलीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन निषेधको बारबेर गरेका हुन सक्छन्।
यी सबै विषय त केवल प्रम ओली र पूर्वराष्ट्रपति भण्डारीबीचका बखेडाका विषय हुन् । आम जनताका नजरले हेरेर उद्घोष गर्दा पनि आखिर प्रश्न त उही र उस्तै रहने कुरा निश्चित हुन्छ । आखिर आफूलाई त्यति धेरै गुन लगाएर देशकै उच्च आसनमा बसाउनको लागि भरमग्दुर प्रयत्न गरी सफल भएका प्रधानमन्त्री ओलीले सकेसम्म सक्रिय राजनीतिमा आउनबाट निषेध गर्दागर्दै पनि भण्डारी आफ्नै हठमा अडिग रहेर सक्रिय राजनीतिमा फर्कने प्रयासमा लागेकी छन् । यस सक्रियताका दुई पाटा रहेका छन् । पहिलो सकारात्मक सोच वा विचारको पाटो पर्दछ । दोस्रो नकारात्मक सोचको पाटो पर्दछ । सकारात्मक सोचले राजनीतिमा सक्रिय हुँदै गर्दा नेपालको बदनाम भएको राजनीतिको भद्रगोल अवस्था, देशको अवस्था चुसिएर जर्जर भएको नेपाली जनताको मानस आदि कुरालाई आफ्नो स्वच्छ हृदयले मनन गरेर, ती सारा विकृत अवस्थाको अन्त्य गर्ने सपना देखेर, आफू जतिसुकै संघर्षले भरिएको जीवनलाई पनि सार्थक जीवनमा रुपान्तरण गर्ने उद्देश्यले सक्रिय राजनीतिमा लाग्नु आफैँमा जायज निर्णय हो । यस्तो जायज निर्णयले सक्रिय राजनीतिमा लागेकी भए उनलाई निःस्वार्थ भावले साथ दिने र सहयोग गर्ने लाखौँ कार्यकर्ता तयार हुनेछन् ।
नेकपा एमाले नेपाली कांग्रेसपछिको ठूलो र कम्युनिस्ट सिद्धान्त बोकेको राजनीतिक दल हो । चुनावमा पनि आफैँले स्पष्ट बहुमत ल्याएर सरकारको नेतृत्व गरी आएको राजनीतिक दल हो । यसका संस्थापक नेता कमरेड पुष्पलालको ठूलै योगदान रहेको छ । यस राजनीतिक दललाई पुष्पलालपछिका विभिन्न कालखण्डमा कमरेड मदन भण्डारी, मनमोहन अधिकारीजस्ता नेतृत्वले जगेर्ना गर्ने काम गरेर आफ्नो महत्वपूर्ण भूमिका निभाएका थिए। उक्त कम्युनिस्ट पार्टीमा सामेल भएका र केही योगदानसमेत दिएका व्यक्तिहरुको योगदानलाई चटक्कै बिर्सेर यसका सञ्चालकहरुमा मोहको भावनाले नराम्ररी गाँजी झन्–झन् रसातलतिर डुबाउने काम हुन थालेको छ। आजसम्मका दिनमा आइपुग्दा एमाले पार्टी केवल नाम मात्रैको पार्टी बन्न पुगेको छ। हुन त आजको यो लेख तयार पार्दासम्मको घडीमा नेकपा एमालेकै अध्यक्ष केपी शर्मा ओली सत्ताको कुर्सीमा विराजमान रहेका छन्।
मुर्झाएर जाँदै गरेको सद्बुद्धिलाई सही स्थान र सही तरिकाले उपयोग गर्न सकेको खण्डमा केही काम पनि असम्भव छैन भन्दा फरक पर्दैन । त्यसैले सक्रिय राजनीतिमा फर्कने उद्घोष गरिरहेको यो अवसरमा आम नेपालीको कौतुहलता भनेको विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कंदा कस्तो सोचले फर्कने हुन् ? त्यसले नै उनको भविष्यको चित्र निर्धारण गर्नेछ।
पूर्वराष्ट्रपति विद्यालाई यही अवस्थाले चिमोटेर आफ्नो राजनीतिक दल (जसका कारण उनी दुई कार्यकालसम्म राष्ट्रपतिको गरिमामय कुर्सीमा विराजमान हुन पाएकी थिइन्) लाई दह्रो नेतृत्व दिई सबल र कामयावी बनाउँछु भन्ने सोचले आएकी हुन् भने आम नेपाली जनताले उनलाई भव्य स्वागतका साथ सहयोग गर्नेछन् । तर आफू र आफ्ना कार्यकर्ता सधैँ इमानदारिताका साथ कर्ममा आस्था राख्ने हुन जरुरी छ । पैसाले किनेका कार्यकर्ता कोही पनि इमानदार हुँदैनन् । केही समय देखावटीरुपमा इमानदार भएजस्तो देखिए तापनि तिनले एकदिन अवश्य धोका दिनेछन् । नेकपा एमालेजत्तिको राजनीतिक दललाई जसले उचाइतिर उचालेर लैजानुको साटो रसातलतिर भसाउँदै गरेको अवस्था छ, त्यस्ता व्यक्तिलाई पनि पूरै नफरत गर्नुको साटो केही हदसम्म हातेमालो गरेर अगाडि बढ्न खोज्नु उचित हुनेछ ।
नेपाली जनता र नेपाल देशलाई सधैँ शिरमा राखेर मन, बचन र कर्मले पार्टी सुदृढीकरणमा लाग्ने हो भने देशकै सर्वाधिक ठूलो राजनीतिक दलको रुपमा स्थापित हुन बेर लाग्नेछैन । यदि विद्या भण्डारीले नकारात्मक सोचले राजनीतिमा सक्रिय भूमिका खेल्ने कुरा उद्घोष गरेकी हुन् भने प्रम ओलीले गरेको आग्रह होस् वा दबाब वा चेतावनी जेसुकै होस्, त्यसैलाई मध्यनजर गर्दै राष्ट्रपति हुँदा उपलब्ध भएको सम्मानलाई यथावत्रुपमा जोगाएर बस्नु नै उचित हुनेछ । आफू दुई–दुई कार्यकाल राष्ट्रपति भएर अरु कसै अमुक व्यक्तिको जत्तिको सम्पत्ति जोड्न सकिएन, त्यसैले अब सक्रिय राजनीतिमा लागेर देश लुट्ने आफ्नो धोको पूरा गर्छु भन्ने अपवित्र लालसा बोकेर सक्रिय राजनीतिमा आउने कुरा हो भने आजभन्दा पहिलेका नेतृत्ववर्गहरुले जसरी देश लुटेर खाए, जनता दुहेर पिए, त्यस अवस्थाको अन्त्य निकट भविष्यमा भएरै छाड्नुपर्ने हुन्छ । खयर जनताले नलखेटे पनि पहिलेकाले जसरी लुट्ने अवसर शायद नपाउन सकिन्छ ।
विद्या भण्डारीको सक्रिय आगमनबाट नेपाल कम्युनिस्ट पार्टी एमालेले भ्रष्टाचाररहित समाज सिर्जना गर्न सक्ने सामथ्र्य राख्न सक्नुपर्नेछ । केवल नाराको रुपमा फलाको हालिने गरेको कम्युनिस्ट भनेका नक्कली कम्युनिस्ट मात्र हुन् । नक्कली कम्युनिस्टहरूलाई पाखा लगाएर खाँटी कम्युनिस्टले चलाएको राजनीतिक दल मात्र होइन कि सच्चा कम्युनिस्ट शासनको समेत परिकल्पना गर्न नसकिने होइन । तर लोभ र मोहका कारण गरिने अनेक दुष्कर्मले गर्दा हामीभित्रको सद्बुद्धि बेकारमा मरेर गइरहेको छ । मुर्झाएर जाँदै गरेको सद्बुद्धिलाई सही स्थान र सही तरिकाले उपयोग गर्न सकेको खण्डमा केही काम पनि असम्भव छैन भन्दा फरक पर्दैन । त्यसैले सक्रिय राजनीतिमा फर्कने उद्घोष गरिरहेको यो अवसरमा आम नेपालीको कौतुहलता भनेको विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कंदा कस्तो सोचले फर्कने हुन् ? त्यसले नै उनको भविष्यको चित्र निर्धारण गर्नेछ ।
कुनै पनि राजनीतिक दल भनेको कसैको बाउबाजेको बिर्ता हुँदै होइन । राजनीतिक दलभित्र हरेक विचारका मान्छेको आवागमन हुने भए तापनि नेतृत्वको विचार र व्यवहारले तिनलाई शतप्रतिशत प्रभावित बनाएको हुन्छ । विगतमा धरान नगरपालिकामा काम गर्ने कर्मचारी सबैजसो घुस्याहा थिए होलान् तर नगरप्रमुख निर्लोभी र निःस्वार्थी आएपछि सबैले भित्रैदेखि नभए पनि देखावटीरुपमा निर्लोभी बन्न बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ।
विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कने हुन् भने नेकपा एमाले पार्टीले आफ्ना कार्यकर्ता मात्र होइन कि नेकपा माओवादीबाट अलग भएर गएका विप्लव, बेग्लै राजनीतिक दल खोलेर पनि त्यसलाई औचित्यपूर्ण बनाउन असमर्थ रहेका बाबुराम भट्टराई प्रवृत्तिका सिद्धान्ततः अलग भएका नेतालाई समेत आकर्षण गरेर नेकपा एमालेमै एकताबद्ध गराउने प्रयासलाई सार्थक बनाउनु अनिवार्य छ। त्यति मात्र होइन कि विदेशी शक्तिकेन्द्रका दलाल बन्ने सबै कम्युनिस्ट पार्टीलाई नेकपा एमालेमै समाहित गराउन र एउटा बलियो र प्रभावशाली राजनीतिक दल स्थापना गराउन पाए देशमा राजनीतिक स्थायित्वसमेत कायम राख्न सहयोग पुग्ने थियो । त्यही शक्तिशाली राजनीतिक दलले धेरै समय नभए पनि केवल एक दशक शासन सञ्चालन गरेर आम भ्रष्टाचारीलाई धमाधम कार्यवाही गर्नुका साथै आउँदा नयाँ पुस्ताको नेतृत्व गर्ने, नयाँ पुस्ताका सरकारी कर्मचारी साराका दिमागमा केवल आफ्नै कमाइले जीवन चलाउनुपर्छ, अनियमित काम गर्नु अपराध हो भन्ने कुराको हेक्का रहने गरी सोचमा आमूल परिवर्तन ल्याउनु आजको अपरिहार्य आवश्यकता हो । विद्या भण्डारीको सक्रिय राजनीतिक कर्मले यी सबै अपेक्षालाई सम्बोधन गर्न सकेको खण्डमा मात्र सार्थक आगमन हुनेछ ।
विद्याको सक्रिय राजनीतिक क्रियाकलापले नेपालका अन्य राजनीतिक दलहरूलाई खासै असर पार्नेछैन। असर पारे पनि छोटो समयको असरले खासै प्राथमिकता पाउने कुरा दृष्टिगोचर हुन सक्दैन। जुनसुकै राजनीतिक दलको पुरुष नेता शासक बने पनि नेपाली जनताले आशा गरेअनुसारका उन्नति–प्रगतिका काम हुन नसकिरहेको वर्तमान र भूतको अवस्थाको विश्लेषण गर्दा शासकको रुपमा महिला नेतालाई आसीन गराउन पाए स्थायी शान्ति र उन्नतिका काम हुने थिए कि भनेर स्वयं शासक बनेर अनि असफल शासन चलाएको आरोप लागेका पुरुष शासककै मुखबाट पनि बोलेको सुनिएका कुरा हुन्। यदि यो विषयलाई प्राथमिकताका साथ लिएर पूर्वराष्ट्रपतिलाई शासनको जिम्मेवारी सुम्पने स्थानसम्म पुर्याएर परीक्षण गर्दा धेरै हदसम्म सफल भएको खण्डमा उनको राजनीतिक सक्रियताको पाइलो शतप्रतिशत सफल भएको मानिनेछ।
प्रतिक्रिया