सहिद धर्मभक्त अस्पतालको कमजोर व्यवस्थापन, बिरामी जचाउन रातिको १२ बजेदेखि लाइनमा

2.35k
Shares

काठमाडौं ।

सहिद धर्मभक्त ट्रन्सप्लान्ट सेन्टर भक्तपुरको व्यवस्थापन कमजोर देखिएको छ। अस्पतालमा बिरामीको चाप बढी हुँदा पनि नेफ्रोलगायत विभाग हप्ताको चार दिन खुलाउँदा बिरामीका आफन्तले दुःख पाएका छन्।

अस्पतालले बिरामीको चाप बढ्दा डाक्टरको संख्या नथप्ने र दिनमा ९० जना बिरामीलाई मात्र हेर्ने नियम लगाउँदा बिरामीका आफन्तले दुःख पाएका हुन्। मिर्गाैला बिरामी आफैंमा संवेदनशील बिरामी भित्र पर्ने भए पनि अस्पताले मानवीयता नदेखाएको पाइएको छ। त्यसले गर्दा रातको १२ बजे गएर लाइन लाग्नुपर्ने बाध्यता देखिएको छ।

अस्पतालमा दैनिक ३ सयदेखि ४ सयको संख्यामा बिरामीका आफन्त पुग्ने गरे पनि अस्पतालले ९० जनालाई मात्र टोकन बाँड्ने गरेको मिर्गाैला फेरिसकेका बिरामीका आफन्तले बताएका छन्। उहाँहरूले नेपाल समाचारपत्रसँग कुरा गर्दै आफूहरू जिल्ला बाहिरबाट आउनुपर्ने र बस्न, खानको समस्या रहे पनि पालो पाउनका लागि रातको १ बजे अस्पतालमा लाइन लाग्नुपर्ने बाध्यता रहेको बताउनुभयो।

अस्पतालमा बिरामी जाँच गर्न आफूसँग भएको पर्ची रातको १ बजे लाइन लगाउनुपर्ने बाध्यता रहेको बिरामीका आफन्तले नेपाल सामाचारपत्रसँग बताएका छन्। अस्पतालमा नजिक घर हुनेले पालोमा राख्ने गरे पनि टाढाबाट आउने बिरामीका आफन्तले भने समस्या भोग्नुपरेको छ।

अस्पतालले बिहान ८ बजे ९० ओटा टोकन बाँड्न शुरू गर्ने गरेको छ । यस्तै डाक्टर भने ११ बजेपछि आउने गरेको पाइएको छ। लाइन लाग्नुपर्ने थाहा नपाएका बिरामी अस्पतालमा बिहान ५ बजे पुगे भने अर्को दिन बेलुका ४ बजेबाट लाइन बस्नुपर्ने बाध्यता रहेको छ।

जाडोको समयमा बिरामी रातिदेखि लाइनमा लाग्नुपर्ने बाध्यताका कारण धेरै बिरामी र उनीहरूका आफन्त पीडित हुनुपरेको छ।
बिरामीका आफन्त अस्पताल प्रशासन बारम्बार गएर अनुरोध गरे पनि सुनुवाइ हुन नसकेको बिरामीका आफन्तले बताएका छन्।

यसै विषयमा अस्पतालका अध्यक्ष डा. रोशन पोखरेल र सदस्य सचिव डा. पुकारचन्द्र श्रेष्ठलाई बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनुभएन ।