काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रपतिले जारी गरेको भूमिसम्बन्धी अध्यादेशप्रति कडा आपत्ति र विरोध जनाउनुभएको छ। उहाँले सरकारले आफ्ना कार्यकर्ता पोस्ने गरी अध्यादेश ल्याएको संकेत गर्दै विरोध गर्नुभएको हो।
लामो समयपछि बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले खोला नदीमात्र नभई खुलामञ्च र टुँडिखेलसमेत कार्यकर्तालाई बाँड्न लागिएको भन्दै सत्तारूढ दलप्रति आपत्ति जनाउनुभएको हो।
‘अब खोलामात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ, बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्वीर राख्दै बालेनले आफ्नो स्टाटसमा आक्रोश पोख्नुभएको छ।
सरकारले सिफारिस गरेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गरेलगत्तै बालेको आक्रोशपूर्ण स्टाटस आएको हो। सार्वजनिक जग्गा कार्यकर्तालाई बाँड्ने खतरा रहेको भन्दै राष्ट्रपति पौडेलले सो अध्यादेश केही दिन रोक्नुभएको थियो तर सरकार र सत्तारुढ दलको दबाबपछि उहाँ सो अध्यादेश जारी गर्न बाध्य भएको स्रोतको दाबी छ।
प्रतिक्रिया