कामपाकाे एक वडा एक चिकित्सक कार्यक्रम असफल हुँदै

५ चिकित्सकसहित २० कर्मचारीको तलब अनिश्चित

2.63k
Shares

–एनआईसी बैंकले मासिक १० लाख ६५ हजार बजेट रोक्यो
–स्वास्थ्य बिमाका बिरामीले निःशुल्क औषधी पाएनन्
–महानगरका सबै स्वास्थ्य कार्यक्रम अलपत्र

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले घोषणा गरेको एक वडा एक चिकित्सक कार्यक्रम असफल हुने भएको छ। एनआईसी एसिया बैंकले व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत बैंकले उपलब्ध गरेको तलबबापतको रकम पुस मसान्तबाट रोकेपछि घोषणा गरेलगत्तै उक्त कार्यक्रम असफल हुन लागेको हो।

बैंकले गत वर्ष चैत २७ देखि पुस मसान्तसम्म ५ चिकित्सकसहित २० जनाको तलब बेहोरिरहेको थियो। बैंकले कामपाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ५ चिकित्सक, ५ फिजियोथेरापिस्ट, ५कम्प्युटर अपरेटर र ५ कार्यालय सहयोगीका लागि मासिक १० लाख ६५ हजार रुपियाँ उपलब्ध गराएको थियो।

बैंकको व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत चिकित्सकलाई मासिक ४८ हजार, फिजियोथेरापिस्ट र डाटाइन्ट्री गर्ने कम्प्युटर अपरेटरसहित १० कर्मचारीलाई मासिक ३५–३५ हजारका दरले ३ लाख ३५ हजार र कार्यालय सहयोगीको मासिक २५ हजारको दरले १ लाख २५ हजार रुपियाँ उपलब्ध गराएको थियो।

बैंकले कामपालाई पुस १९ गते पत्राचार गरी व्यवसाय प्रवद्र्धन र सामाजिक उत्तरदायित्व चालू आवमा विनियोजित बजेट समाप्त भइसकेको र यस्ता अन्य बजेट नभएकाले जनशक्तिको म्याद थप्न नसक्ने उल्लेख गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा ०८० असार मसान्तसम्मका लागिमात्र कर्मचारी खटाउने सम्झौता भएको थियो। दोस्रोपटक उक्त तीन महिनाभित्र कर्मचारी नियुक्ति प्रक्रिया नसकिएकाले ०८१ असार मसान्तसम्म थप गरिएको उल्लेख छ।

कामपाले फेरि केही समय थप गर्न आग्रह गरेपछि बैंकले चालू आवको पुस मसान्तसम्मका लागि म्याद थप गरेको थियो। ‘अब थप्ने अवस्था छैन’ –निमित्त कार्यकारी अधिकृत अनिशराज खनियाँले भन्नुभयो। उहाँले तोकिएको समय सकिएको जानकारी गराउँदै कामपालाई पत्राचार गरिसकेको बताउनुभयो।

बैंकले पठाएको पत्र मेयरको सचिवालयले गोप्य राखेको छ । सचिवालयले बैंकलाई नियुक्ति नवीकरण गर्न आग्रह गरेको छ। कामपा प्रशासनले बैंकलाई पत्र पठाएर नवीकरण गर्न आग्रह गरेको छ। स्रोतका अनुसार यदि बैंकले नवीकरण नगरे कामपाको नाममा एनआईसी एसिया बैंकमा रहेको सबै खाता बन्द गर्नेसम्मको चेतावनी दिएको छ।

कामपाको सो कार्यक्रम असफल भए मेयर साहको स्वास्थ्य योजनामा गम्भीर असर गर्नेछ। ‘३२ वटै वडामा बैंकको शाखा खोल्न दिएका छौं, कामपाको कर्मचारीदेखि मिर्गाैला क्यान्सरलगायतका गम्भीर प्रकृतिका बिरामीको रकमसमेत सोही बैंकमा राख्न बाध्य बनाएका छौं, यस्तो अवस्थामा पनि बैंकले सहयोग नगरे खाता बन्द गर्न बाध्य हुनेछौं’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

बैंक र कामपाको सोही निर्णयको आधारमा कामपा जनस्वास्थ्य विभागले चिकित्सकसहितको सात प्रवद्र्धन केन्द्र शुरू गरेको थियो। तर, अहिले रोकिने अवस्थामा पुगेको छ। ३२ प्रवर्द्धन केन्द्र चलाउने योजना थियो। अब सक्ने अवस्था देखिएन। बैंकले रकम उपलब्ध नगराए कामपा आफैंले तलब बेहोर्ने तयारी गरेको छ । त्यसका लागि कार्यपालिका बैठकले निर्णय गर्नुपर्छ।

यसैबीच कामपाले सञ्चालन गरेको सेवा केन्द्रमध्ये ८, १९ र ३० वडामा मात्र कार्यान्वयन भएको देखिएको छ। बिरामीको चाप कम भएको कारण सेवा केन्द्र सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको कामपाले जनाएको छ।

यसअघि मेयर साहले महानगरभित्र बसोबास गर्ने सबैका लागि सस्तोमा औषधी उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो। उक्त फार्मेसी खोल्ने काम रोकिएको छ। भएका सेवा केन्द्र सञ्चालन गर्न हम्मेहम्मे परेको कामपालाई कसरी फार्मेसी सञ्चालन गर्ने भन्ने योजना नै छैन।

‘हाल स्वास्थ्य केन्द्रले उपलब्ध गराउने ९९ प्रकारका निःशुल्क औषधी कार्यक्रम पनि कार्यान्वयन हुन सकेको छैन। स्वास्थ्य बिमाबापतको औषधीसमेत दिन नसकेको कामपा स्वास्थ्यमा पूर्ण असफल भएको छ’ –स्रोतले भन्यो । अब त पुस सकिएको छ, चिकित्सक आउने हुन् वा होइनन् भन्ने चिन्ता छ। यदि, चिकित्सकसहित २० जना कर्मचारीलाई तलब दिन सकेन भने कामपाका स्वास्थ्यका प्रायः सबै योजना असफल हुने स्रोतले बतायो।