काठमाडौं ।
स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
गत आइतबारीदेखि जारी थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सो आदेश दिएको हो। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछाने अहिले नै कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको र मुद्दाको कारबाहीको क्रममा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि भन्दै अदालतले हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
लामिछानेले अनुसन्धान अधिकारी र अदालत समक्षको बयानमा इन्कारी बयान गर्नुभएको थियो । लामिछाने बयानमा भन्नुभएको थियो– ‘आफू गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रालिबाट शेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयरबापत पाएको हुँ। उक्त प्रालिबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यत्तिकै सेयर हस्तान्तरण गरी गएको हुँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रालिको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको तथा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु।’
तैपनि लामिछानेमाथि किटानी जाहेरी दरखास्त रहेको देखिएको अदालतको आदेशमा भनिएको छ । लामिछानेले अदालतमा आफू गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रा.लि.बाट सेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयरबापत पाएको हुँ भनेर बयान दिनुभएको थियो ।
त्यसै गरी गोर्खा मिडियाबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यतिकै शेयर हस्तान्तरण गरेर गएको लामिछानेले बयानमा भन्नुभएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रालिको खातामा आएको रकमका बारेमा आफूलाई केही थाहा नभएको र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम नलिएको भन्दै आफू निर्दोष छु भनेर उहाँले इन्कारी बयान दिनुभएको थियो ।
लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन मागबमोजिम सो प्रालिमा बिक्रीमा रहेको सेयरमध्ये १ लाख ८० हजार सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर खरिद गरेको देखिएको अदालतले भनेको छ । त्यसले गर्दा लामिछाने गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एवं प्रबन्धक निर्देशकसमेत रहेको देखिएको अदालतको आदेशमा भनिएको छ ।
त्यस्तै, लामिछाने गोर्खा नेटवर्क मिडिया प्रालिमा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोर्खा नेटवर्क मिडिया प्रालिको ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको पाइएको अदालतमा आदेशमा उल्लेख छ।
लामिछाने प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोर्खा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखिएको पनि अदालतले आदेशमा भनेको छ। सहकारी संस्थामा ऋण भुक्तान गरेको र गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको अदालतको आदेशमा भनिएको छ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबारमात्र छुट्नुभएको थियो । त्यसअघि उहाँ ८४ दिनदेखि प्रहरी हिरासतमा रहनुभएको थियो।
प्रतिक्रिया