काठमाडौं ।
नेपालको राजनीतिमा वामपन्थी र कम्युनिस्ट शक्तिबीच एकताबद्ध भई समाजवादी केन्द्र निर्माणको योजनासहित गठन भएको समाजवादी मोर्चालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गर्दै फाल्ने नीति अवलम्बन गरेको पाइएको छ।
आफूलाई अप्ठ्यारो परेको र सत्ताबाहिर रहेको बेलामा समाजवादी मोर्चालाई सम्झने र सत्तामा रहेको बेला मोर्चामा आबद्ध दल तथा तिनका नेताहरूलाई इग्नोर गर्ने प्रचण्ड प्रवृत्तिको मोर्चाभित्रै रहेका केही नेताहरूले विरोध गर्दै आएका छन्। उनीहरूले प्रचण्डले समाजवादी मोर्चालाई युज एन्ड थ्रोको नीतिअनुसार प्रयोग गर्ने गरेको गुनासो गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोर्चालाई आफू सत्तामा हुँदा सरकारको पक्षमा र आफू प्रतिपक्षमा पुग्दा सरकारविरुद्ध देखाउने हतियारका रुपमा प्रयोग गर्ने नीति लिनुभएको भन्दै आलोचना हुने गरेको छ।
आफैं प्रधानमन्त्री हुँदा २०८० असार ४ मा सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसलाई साइजमा राख्ने योजनाअनुरूप प्रचण्डले चार दलीय मोर्चा गठन गर्नुभएको थियो।
त्यतिखेर उहाँले उक्त मोर्चालाई सरकार टिकाउने अस्त्रका रूपमा प्रयोग गर्नुभएको थियो । यद्यपि, उहाँ प्रधानमन्त्री भएको बेला उक्त मोर्चा निस्क्रिय जस्तै थियो। संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा एमालेबीचको नयाँ सत्ता समीकरणको ६ महिनापछि उक्त मोर्चा फेरि सल्बलाएको छ। प्रचण्डले फेरि आफू सत्तामा जान भर्याङ बनाउन सो मोर्चाको प्रयोग गर्न थालेको टिप्पणी हुन थालेको छ।
संघीय संसद्मा रहेका तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र संसद्बाहिरको दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको मोर्चाको बैठक गत असारबाट एकैचोटि बुधबार बसेको हो। ६ महिनापछि बसेको बैठकले सरकारको पछिल्लो गतिविधिको समीक्षा गर्दै जननिर्वाचित संसद् छलेर अध्यादेशको बाटोमा निरंकुश ढंगले अघि बढ्न खोजेको निष्कर्ष निकालेको छ।
‘सरकार सार्वभौम संसद् बन्द गरेर निरंकुश शैलीमा अध्यादेशमार्फत राज्य चलाउने नीतिमा पुगेको हो कि भन्ने मोर्चामा आबद्ध दलहरुको निष्कर्ष छ’, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भन्नुभयो– ‘त्यसविरुद्धमा हामीले बृहत् कार्यक्रम नै गरेर अघि बढ्ने र समाजवादी मोर्चालाई सशक्त बनाउँदै सरकारलाई खबरदारी गर्छौं।’
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट अलग्गिएका महिन्द्र राय यादव सहभागी थिए।
यस्तै, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, नेकपा एसका महासचिव घनश्याम भुसाल, नेकपाका नेता खड्गबहादुर विश्वकर्मासमेत बैठकमा थिए।
नेकपा एमालेसँगको सत्ता सहयात्रामा प्रचण्ड प्रधानमन्त्री हुँदा दल विभाजित भएसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चाबाट बाहिरिएको थियो। अहिले प्रचण्ड–माधवले उपेन्द्रलाई मोर्चामा फेरि जोड्ने प्रयास जारी राखे पनि यादव उक्त मोर्चामा आइहाल्ने अवस्था छैन। प्रचण्ड र माधवले आफ्नो पार्टी विभाजन गराएर आफ्नो सत्ता सुरक्षित गर्ने खेल भएकाले यस्ता मोर्चाबाट देशमा केही नहुने दाबीसहित मोर्चामा सहभागी नहुने बताउनुभयो ।
प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, जसपाको १२ र एकीकृत समाजवादीको १० सिटसहित ५४ थियो । पछि जसपा नेपाल फुटेर उपेन्द्र यादव उक्त मोर्चामा नरहेपछि अहिले मोर्चामा ४९ सांसद छन्। मोर्चा घोषणा गर्दा नेताहरूले मुलुकमा ‘वाम एकता’ आवश्यक भएकाले मोर्चाबन्दी गरिएको र यो दीर्घकालीन हुने दाबी गरेका थिए। समाजवादी गणतन्त्र र धर्म निरपेक्षताका पक्षमा तथा वैदेशिक हस्तक्षेपविरूद्ध उभिने वाचा गरेका थिए।
तत्कालीन प्रधानमन्त्री प्रचण्डसहित चार दलका नेताहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । समाजवादको नेपाली बाटो तय गर्ने वाचा गरिएको सो प्रतिबद्धतापत्रमा वैज्ञानिक भूउपयोग नीति लागू गर्ने कुरासमेत उल्लेख थियो । तर, सत्ताबाहिर बस्दामात्रै मोर्चा आवश्यक ठान्ने माओवादी–समाजवादीले मोर्चाका नाममा सत्ताको भर्याङ चढ्ने खुड्किलोमात्रै बनाउन खोजेको प्रतिपक्षी दलकै कतिपय नेताहरूले टिप्पणी गर्दै आएका छन् ।
समाजवादी केन्द्र र एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा नेताहरूले वर्षौंदेखि बहस चलाउँदै आए पनि एकताभन्दा बढी फुटले कम्युनिस्ट पार्टीहरू खिइँदै गएका छन्। तत्कालीन समयमा एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपा फुटमा राम्रै भूमिका खेलेका नेताहरूले नै समाजवादी मोर्चा र कम्युनिस्ट एकताको कुरा गरेर सानातिना दलहरूलाई भ्रममा राख्ने काम भइरहेको नेकपा एमालेका नेता विशाल भट्टराईले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘कम्युनिस्ट एकता गरेर ठूलो कम्युनिस्ट पार्टी बनाउँदा त्यसलाई फुटमा रूपान्तरण गर्नेहरुले फेरि कम्युनिस्ट केन्द्रको कुरा गर्नु जनता ढाँट्ने कुरामात्रै हुन्। अहिले माओवादीलाई सत्ताको छटपटी चलेको छ। आफू प्रधानमन्त्री हुँदा सत्ता टिकाउन र सत्ताबाहिर गएपछि सरकार गिराउने नीतिअनुसार प्रचण्डले समाजवादी मोर्चा नामको एउटा समूह बनाएर साना दललाई भ्रमको पोखरीमा खेलाइरहनुभएको छ।’
समाजवादी मोर्चालाई सशक्त बनाएर सरकारका विरुद्धमा उतार्न माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत विपक्षी दलका नेताहरू सक्रिय छन्।
प्रतिक्रिया