सरकारले स्वेच्छाचारी रवैया देखाएको विपक्षी दलहरुको निष्कर्ष


काठमाडौं ।

विपक्षी दलहरूले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेका छन्। बुधबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको ६ दलको बैठकले सरकारले संसद् अधिवेशनलाई छलेर अध्यादेश ल्याउने निर्णय गरेकोप्रति विरोध जनाएको हो।

विपक्षीले तत्काल हिउँदे अधिवेशन बोलाउन पनि माग गरेका छन्। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकार स्वेच्छारी बन्दै गएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

‘सरकारले संसदलाई छल्न खोजेको छ। हिँउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याउने काम सरकारले गरको छ,’ पुनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो।’

सरकारले यसै गरी संसद छल्न खोजे प्रतिपक्षी दलले विशेष महाधिवेशनको माग गर्ने पुनले बताए। 

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, डा. बेदुराम भुसाल, प्रभु साहलगायत नेताहरू सहभागी थिए ।