सन्दर्भ भूकम्प दिवस : भूकम्पले क्षतविक्षत हाम्रो मन

376
Shares

पङ्क्ति तयार भइरहँदा चीन–नेपाल सिमाना तिब्बतमा भएको ७ म्याग्निच्युडको भूकम्पले तिब्बत क्षेत्र त क्षतविक्षत भयो नै । हामी पनि हल्लियौँ, ठूलै त्रास अझै बाँकी छ र धेरैले भन्ने गरेका छन्, यस्तो भूकम्प फेरि आउन सक्छ र नेपालको पश्चिम क्षेत्रमा यो डर बढी छ । हरेक वर्ष माघ २ गतेलाई हामी भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै छौँ । ९० सालको महाभूकम्प कस्तो थियो । ९ वर्षअघि ७२ को भूकम्प त प्रत्यक्षः अनुभूति नै भइहाल्यो । २०७२ वैशाख १२, शनिबारको भूकम्पको सम्झना नगर्ने नेपालीहरु कोही भएनन्, विदेशीहरु पनि । उद्धारकै क्रममा पनि छिमेकी मुलुक भारतले करिब ६ घण्टा नबित्दै राजधानी काठमाडौंमा आफ्नो उपस्थिति जनायो। ९० सालको भूकम्पपछिको ठूलो र कहाली लाग्दो विनाशकारी भूकम्प ७.६ रेक्टर स्केलको भनियो, लगातार ५२ सेकेन्डभन्दा बढी कम्पन भएको यस भूकम्पले राजधानीलाई सर्लक्कै निल्न लागेको थियो।

राजधानीमा गगनचुम्बी महलहरु निर्माण गर्दा प्राविधिक दृष्टिकोण राखिएन, माटो परीक्षण गरिएन, घर, भवन बनाउँदा आधारभूत विषयहरु पानी, विद्युत्, सडक, खुल्ला स्थान, निर्माण सामग्रीको परीक्षण कुनै कुरामा ध्यान दिइएन । विपद्का बेला आकस्मिक सेवा एम्बुलेन्स, दमकलको आवागमन, फायर फाइटिङ इक्विपमेन्टतर्फ कुनै ध्यान दिइएन । छतमा राख्ने पानी ट्यांकी, घर भवनको उचाइ, जगअनुसारको सन्तुलित वजनबारे पनि सोचिएन । सबैतिर भार सन्तुलन पद्धतिलाई होस गरिएन । त्यसपछिका दिनहरुमा राजधानीको खुल्ला क्षेत्र टुँडिखेल अतिक्रमणको मारमा पर्न गयो, काठमाडौँमा बसपार्कको अभाव छ । कुनै कुरामा हाम्रो पूर्वयोजना छैन र अहिले पनि काठमाडौँ महानगरका गल्लीहरु खुलेका छैनन्, बिरामीका लागि, एम्बुलेन्स, आपत्मा दमकल, पानी ट्यांकी र फोहोरका गाडी नपुग्ने स्थानहरु धेरै छन् ।

निर्माणकर्तालाई यसबारे चेतना र कुनै तालिम दिइएन, नेपाली शैलीका घर, नेपालीपनका भवनहरुबाटै जिन्दगी राम्ररी चल्छ भन्ने कुराहरु कसैले बुझेन, अमेरिकाका कैयन स्थानमा स–साना घरहरु छन्, सबैतिर सुविधा छ, पूर्वाधारको । हाम्रो सरकारले राजस्वतिर मात्र ध्यान दियो, प्रविधि र डिजाइन, अध्ययन र अनुसन्धानतिर ध्यान दिएन । दुबईमा समुद्रभित्रै सयौँं तला घरहरु बन्न सक्छन् भनेकै भरमा, काठमाडौंँमा विदेशी शैलीको नक्कल गरियो । गोँगबुजस्तो उब्जनीको उर्वर अनि अत्यन्त हिलो र कमलो माटो ३ दशकअघिसम्मको अवस्थालाई मध्यनजर गरिएन। लगानीकर्ताहरुले पनि कत्ति होस पुर्‍याएको पाइएन । फलतः धेरैको ज्यान गयो भने आँकलन नै गर्न नसकिने भौतिक संरचनाहरु ध्वस्त भई अपूरणीय क्षति भयो, पुनर्निर्माणमा यसको मूल्य थप चर्काे भयो । २०७२ वैशाख १२ को प्रलयकारी भूकम्पले हाम्रो आर्थिक विकासलाई ठाडै चुनौती दियो भने राजधानीबासीहरु दिनरात खुल्ला आकाशमुनि रहे। भूकम्पले ८ हजार बढी मानिसलाई त सर्लक्कै निल्यो नै तर बाँचेकाहरुको हालत मरणको भन्दा कम भएन । नेपाल भूकम्पीय जोखिम क्षेत्रमा छ तर खुला जमिन कतै बाँकी छैन।

शनिबार सार्वजनिक बिदा, मौसम अनुकूल, मध्याह्नको समय भएकाले २०७२ को भूकम्पमा मानवीय क्षति कम भयो। लाइफ लाइनहरु बिग्रेनन्, अन्तर्राष्ट्रिय विमानस्थल, ठूला भनिएका राजमार्गहरु, अस्पताल भवनहरु, विद्युत् प्रसारण लाइनहरु, टेलिफोनका ठूला टावरहरु, खानेपानीका ठूला लाइनहरु, विद्युत्का ठूला जलाशयहरु फुटेका, भत्केका भए हाम्रो हालत के हुने थियो ? सो भूकम्पले हाम्रा बालकालिकाहरु धेरै जोगिए, विद्यालयहरु बन्द भएको कारण । तर पनि मनोवैज्ञानिक असर धेरै परेको छ अहिलेसम्म, कारण त्यसपछिको लगत्तै वेशाख २९ गतेको भूकम्पले पनि धेरैको ज्यान लियो, करोडौँ सम्पत्तिको क्षति भयो । त्यसपछि हालसम्म सयौँ पराकम्पहरु भई नै रहेका छन्।

विदेशमा भूकम्पमा के गर्ने भनी सिकाइएको हुन्छ । यस्तो कार्यमा प्रधानमन्त्रीदेखि आम नागरिक बाल, वृद्ध सबैलाई सहभागी गराइन्छ । नयाँ भवनमा कसैको प्रवेशपूर्व नै आगलागी, भूकम्प वा आपतकालीन अवस्थामा भाग्ने इस्केप रुटबारे सूचना दिइन्छ, रुटहरुबारे जानकारी गराइन्छ । आपत्का बेला घर, विद्यालय, सपिङ सेन्टर, मलहरुमा भाग्ने बाटो पहिले नै तय गरिएको हुन्छ । घरेलु सामानको कोठामा सजावट गर्दा पनि यसको पूर्ण तयारी तालिम दिइएको हुन्छ तर हाम्रो अवस्था यस्तो रहेन र अभैm छैन। ठूला भवनदेखि धरहरा चढेकाले समेत निमेषभरमै ज्यान गुमाए। भूकम्पको स्केल कम हुँदैमा क्षति कम हुन्छ भन्ने पनि होइन। सन् २०१० मा हाइटीमा गएको ७ रेक्टर स्केलको भूकम्पले अढाइ लाख मान्छेलाई निलेको थियो। काठमाडौं उपत्यकाको भूमि–सतहभन्दा ५ सय मिटर तलसम्म माटो र बालुवा छ, त्यसमुनि चट्टान छ।

चट्टानमा आउने कम्पनभन्दा माटो–बालुवामा १० गुणा बढी कम्पन हुन्छ, तरंग बढ्छ । त्यसैले काठमाडौं भूकम्पको दृष्टिले बढी जोखिममा छ। अनियन्त्रित र अव्यवस्थित बसोबासले भूसतहको पानीलाई जबर्जस्ती निकाल्ने गर्नाले काठमाडौं उपत्यकालाई थप कमजोर बनाएको छ। यता भारतसमेत भूकम्पको जोखिममा छ । जमिन सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरतिर दुई से.मि.ले धकेलिरहने गर्नाले हिमालको फेदीमा बढी शक्ति सञ्चय हुने गरेको र त्यो शक्ति चट्टानले थेग्न नसकेपछि चट्टान काटेर ऊर्जा तरंगित हुँदा कसैले नसोचेको कम्पन महसुस हुने गर्छ, काठमाडौँमा त्यही भयो । नेपाली भूभागमध्ये चुरेक्षेत्रको १७० कि.मि. पूर्वी–पश्चिम भाग नसर्ने तर दक्षिणतिरबाट धकेलिरहने गर्दा उत्तरतिरको युरोसियन तिब्बती प्लेटसँग ठक्कर खाँदा हामीकहाँ भूकम्प हुने, कहाली लाग्दो र बिर्सनै नसक्ने त्यो वैशाख १२ र २९ कालो दिनको अनुभूति गरिरहनुपरेको छ । पछिका पराकम्पनहरुले पनि तर्साउन छोडेका छैनन्।

सन् १९६० मे २२, स्थानीय समय दिवा ३ः१५ बजे । ९.५ रेक्टर स्केलको भूकम्प जसलाई ग्रेट चिली भूकम्पले चिनिन्छ, भूकम्प करिब १० मिनेटको । विश्वकै ठूलो भूकम्प, २५ मिट सम्मको छाल उठेको, विशाल सुनामी, चिलीमा गम्भीर असर परेको बेला हो, धक्का फिलिपिन्ससम्म, मृतक ६ हजारसम्मको अनुमान छ। अर्को भूकम्प ग्रेट अलास्का । ९.२ रेक्टर स्केलको थियो, सन् १९६४, गूड फ्राइडे भूकम्प, मार्च २७ शुक्रबार, करिब ८.२ मिटरको सुनामी आएको बेला हो, १३१ जनालाई सलक्कै निलेको क्षण । सुमात्रा भूकम्प, सन् २००४, २६ डिसेम्बर, हिन्द महासागरको भूकम्प, ३० मि. अग्लो सुनामी, ९.१ रेक्टर स्केलको, २५ हजारको ज्यान लिएको, भूकम्पको ऊर्जा क्षमता हिरोसिमामा प्रहार भएको बमभन्दा १५ सय गुणाले बढी थियो।

भूकम्पपछिको सुनामीपछि यसलाई हिन्द महासागर, दक्षिण एसियाली सुनामी, इन्डोनेसियाली र क्रिस्मस सुनामी नाम दिइयो । अर्को भूकम्प तोहोकु भूकम्प सन् २०११ को रेक्टर स्केल ९.१ को, जापानको तटीय क्षेत्रको, मार्च ११ को, साढे ४० मि. माथि छाल उठेको, सबैभन्दा घातक भूकम्प, उत्तरपूर्वी जापानमा व्यापक क्षति भएको थियो । सडक, रेलमार्ग, विकासका तमाम संरचना ध्वस्त भएका थिए । डेढ लाख घरको क्षति, थुप्रै आणविक भट्टीहरु पनि । ९ हजार ८९४ जनाको अवसान, ६ हजार १५२ घाइते र २ हजार ५६२ बेपत्ता भएका थिए । अर्को रुसको सुदूर पूर्वको काकचटमा, सन् १९५२ नोभेम्बर ४ को, ९ रेक्टर स्केलको, १५ मि. उचाइसम्म छाल उठेको, करिब १५ हजारको ज्यान गएको थियो ।

काठमाडौं उपत्यकाको भूमि–सतहभन्दा ५ सय मिटर तलसम्म माटो र बालुवा छ, त्यसमुनि चट्टान छ। चट्टानमा आउने कम्पनभन्दा माटो–बालुवामा १० गुणा बढी कम्पन हुन्छ, तरंग बढ्छ । त्यसैले काठमाडौं भूकम्पको दृष्टिले बढी जोखिममा छ। अनियन्त्रित र अव्यवस्थित बसोबासले भूसतहको पानीलाई जबर्जस्ती निकाल्ने गर्नाले काठमाडौं उपत्यकालाई थप कमजोर बनाएको छ।

सन् २०११ को हाइटीको भूकम्प संसारको दोस्रो सबैभन्दा घातक थियो। पहिलेको भन्दा दोब्बरले ज्यान गुमाएको अवस्था रह्यो, चीनको ९७ बढी काउन्टी प्रभावित, केही काउन्टीमा ६० प्रतिशत जनता स्वाहा भएको । यति बेला ठूला चट्टानका गुफाभित्र बस्थे मान्छेहरु, ढुंगे युगमा प्रवेश गरेझैँ। चट्टान भत्कँदा पनि मान्छे मरेका थिए। ८ रेक्टर स्केलको यो भूकम्पलाई इतिहासकै घातक भनियो । सन् २०१० जनवरी १२ मा, ७ रेक्टरको भूकम्प हाइटीकै हो, १२ दिनसम्म ५२ पल्टसम्म पराकम्प भइरहेको, करिब ३० लाख मानिस प्रभावित भएका र मर्नेहरुको संख्या ३ लाख १६ हजारको रह्यो।

इस्वी ११५, डिसेम्बर १३ टर्कीको भूकम्प ७.५ रेक्टर स्केलको, जसमा रोमन सम्राट ट्राजनसहित २ लाख ६० हजार मरेका थिए । बाँच्नेहरु खान नपाएर मरे भोकले कैयन । इस्वी ५०५ को अर्को भूकम्प जसलाई एन्टाक्या भूकम्प भनियो, ७ रेक्टर स्केलको रह्यो भने डेढ वर्षसम्म पराकम्प भइरह्यो, जसमा २ लाख २० हजारको ज्यान गएको थियो, भूकम्पपछि आगलागी र आँधीबेहरीले स्तभ्ध बनाएको थियो । अर्को भूकम्प सन् १७७६ को ताइवानको भूकम्प, ७.६ रेक्टर स्केलको, जसमा ३ लाख ४२ हजार ७६९ को मृत्यु र १ लाख ६४ हजार ८५१ मानिस घाइते भए ।

हो, भूकम्पको घाउ पुरिन अझै धेरै समय लाग्छ । सम्पूर्ण आर्थिक संरचनाको तहसनहस भएको हो । ९० सालको भूकम्पमा जम्माजम्मी ३ लाख १५ हजारको जनसंख्यामा मर्नेहरुको संख्या ४ हजार २ सय ९६ थियो । संवत् १३१० देखि नेपालमा भूकम्पको अभिलेख छ, यति बेलाको भूकम्पमा काठमाडौंमा रहेका एक तिहाइ मानिसको मृत्यु भएको र सँगै राजा अभय मल्ल पनि मरेका थिए। त्यसपछि केवल ६ वर्षको अन्तरालमा आएको भूकम्पले काठमाडौंँको हजारौं पुरातात्विक भवनहरु ध्वस्त भएका थिए । त्यसपछि संवत् १४६३ अर्थात् झन्डै डेढ सय वर्षपछि मात्र भूकम्प आउँदा काठमाडौंका थुप्रै संरचनाहरु ध्वस्त भई सहकालका देवता रातो मच्छेन्द्रनाथको मन्दिर ध्वस्त भएको थियो।

त्यसपछि झन्डै पौने एक शताब्दीपछि श्रीनिवास मल्लको पालामा आएको भूकम्पले पनि काठमाडौंमा व्यापक क्षति भएकै हो। त्यसपछि झन्डै सवा सय वर्षपछि संवत् १८६६ मा आएको भूकम्प गीर्वाणयुद्धको पालामा आएको र ठूलै क्षति पु¥याएको थियो। त्यसपछिको भूकम्प १४ वर्षपछि संवत् १८८० मा आएको, ठीक–ठीक १० वर्षपछि संवत् १८९० मा राजेन्द्र विक्रमको पालामा भूकम्प आउँदा १८ हजार घर ध्वस्त भएका थिए। ९० को भूकम्प संखुवासभालाई केन्द्रविन्दु बनाई आएको सो भूकम्पले ८ हजार ५१९ व्यक्तिलाई निलेको, ८० हजार ८९३ घर ध्वस्त भएको, १ लाख २६ हजार ३५५ घरमा आंशिक क्षति पुगेको थियो।

२०७२ वैशाख १२ को महाभूकम्पको इपिसेन्टर गोर्खाको बारपाक थियो भने ठीक १ दिनपछि १३ गते आएको ठूलै भूकम्पको भने लमजुङ । दुवै भूकम्पका कारण गोर्खा, लमजुङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई क्षतविक्षत बनायो । पोहोर कार्तिक १७, मध्यरातको समय, जाजरकोटमा ६.७ रेक्टर स्केलको, पराकम्प धेरै भइरहे । ३ दिनपछि ५.८ रेक्टर स्केलको भूकम्प फेरि आयो । जाजरकोट र रुकुम गरी १५३ जना मरे, ८३ जना बालबालिका नै परे । जाजरकोटको नलगाढ धेरै प्रभावित बन्यो भने १७ महिला, १० पुरुष, १५ बालक, ९ बालिका बिते भने रुकुम पश्चिममा २८ बालबालिका परे । हामी भूकम्प दिवस मनाउँछौँ तर सचेतना र त्यसविरुद्धको तयारी भएजस्तो लाग्दैन।