एमाले काभ्रेका प्रदेश सांसद जोडिएको सहकारी ‘संकटग्रस्त’

११ हजार बचतकर्ताको १ अर्ब ५२ करोड संकटमा

12.03k
Shares

काभ्रे ।

कान्तिपुर सेभिङ एन्ड क्रेडिट फाइनान्समार्फत सर्वसाधारणको अर्बौं रकम डुबाएका कांग्रेस नेता तथा कोषाध्यक्ष सीवी लामा जेलमा छन् । तेमाल घर भएका अर्का एमालेका नेता तथा वागमती प्रदेश सभामा नेतालाई पैसाको बिटो बुझाएर सांसद भएका ज्ञानबहादुर तामाङका कारण अर्काे सहकारी संकटमा परेको छ।

नेकपा माओवादीका नेता रामबहादुर गौतम अध्यक्ष रहेको अर्काे सहकारीका कारण पनि बचतकर्ताहरू संकटमा परेका छन् । रामबहादुर गौतम अध्यक्ष रहेको गौतमश्री सहकारी संकटग्रस्त घोषणाको तयारीमा छ। नेकपा एमाले काभ्रे जिल्ला सदस्य कल्पनाकुमारी श्रेष्ठ जीवी र रविसहितको सहकारी ठगीमा फरार छिन्।

नेसनल नमोबुद्ध सहकारीलाई संकटग्रस्त घोषणा गरेसँगै तामाङलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ । ११ हजार बचतकर्ताको १ अर्ब ५२ करोड रुपियाँ संकटमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वागमती प्रदेश सरकारअन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उक्त कार्यालयमा तालाबन्दी गरेसँगै बचतकर्ताहरू निराश भएका छन् । ज्ञानबहादुर तामाङ जिल्ला र स्थानीय पालिकामा समेत परिचित अनुहार होइनन् । २०७९ सालको स्थानीय तहमा टिकट नपाएपछि उनले पार्टी परित्याग गरेको स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । वैशाखबाट पुस नलाग्दै उनी प्रदेश सभाको सदस्य बन्न सफल भए । यो गठबन्धनका बेला उनी झन्डै मन्त्री भएका थिए ।

वागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको भोलिपल्ट सोमबार काठमाडौंको समाखुसीस्थित सहकारीको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार प्रदेश सहकारीमन्त्री मधुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट समस्याग्रस्त घोषणा गर्नुभएको हो।

तालाबन्दी गर्न समितिका अध्यक्ष प्रभात अधिकारीलगायतको टोली कार्यालय पुगेको थियो । तालाबन्दीसँगै टोलीले सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिस्कहरू सिज गरेको छ। सहकारीको सम्पत्तिभन्दा पनि दायित्व बढी देखिएपछि प्रदेश सहकारी मन्त्रालयले उक्त सहकारीलाई आइतबार समस्याग्रस्त घोषणा गरेको थियो ।

‘नेसनल नमोबुद्ध सहकारी संस्थाको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर त्यहाँ रहेका कम्प्युटरका सर्भर÷हार्डडिस्कहरू अध्ययनका लागि नियन्त्रणमा लिएका छौँ’, समितिका अध्यक्ष प्रभात अधिकारीले भन्नुभयो– ‘अन्य कागजातसहित माघ २ गते आज बुधबार उपस्थित हुन सहकारीका व्यवस्थापक र पदाधिकारीलाई निर्देशन दिएका छौँ ।’ सहकारी महाशाखाका रजिस्ट्रार कुमार तामाङले नेसनल नमोबुद्धको सम्पत्तिभन्दा दायित्व बढी देखिएपछि समस्याग्रस्त घोषणा गरिएको जानकारी दिनुभयो।

सहकारीका अध्यक्ष राजकुमार तामाङसहितका पदाधिकारीलाई गत वर्ष १७ असोज, २२ कात्तिक र २० चैतमा छलफलका लागि बोलाइएको थियो । छलफलका क्रममा सहकारीले बचत फिर्ताका लागि ३ वैशाख २०८१ मा कार्ययोजना पेस गरेको भए पनि सोअनुसार काम नभएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । वचतकर्ताहरूले उक्त सहकारीसँग १२ करोड २७ लाख बचत फिर्ताको माग गरेको जानकारी दिए । छलफलका क्रममा सहकारीसँग १ अर्ब ५२ करोड दायित्व देखिएको छ । सहकारीको सम्पत्ति भने अनुमानित ७० करोड बराबरी छ ।

उता, काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता हुँदा काभ्रेकी कल्पनाकुमारी श्रेष्ठ पनि परेकी छिन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार थिइन् । साथै उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य पनि हुन्।

भुम्लु गाउँपालिका–५ सल्ले घर भएकी कल्पनाकुमारी श्रेष्ठ सहकारी ठगीमा फरार देखिएपछि मुद्दाको किनारा नलाग्दासम्म पार्टी सदस्यबाट समेत निलम्बन गर्ने तयारी एमालेले गरेको छ । काठमाडौं जिल्ला अदालतमा कल्पनाकुमारीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । दैलेख जिल्ला घर भई भुम्लु गाउँपालिका–५ सल्ले घर भएकी कल्पनाकुमारी श्रेष्ठ उक्त सहकारीको पूर्वअध्यक्ष तथा कर्मचारीका रूपमा कार्यरत थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पौष २१ गते आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो। सहकारीको १ अर्ब १९ करोड ९५ लाख रुपियाँ अनियमितता गरेको आरोपमा रवि लामिछानेसहित स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता भएको हो।

त्यस्तै, सविना आले मगर, भक्तबहादुर भ्लोन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्व लेखा समिति सदस्य सुनिता नेवा, पूर्व सदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।