बिहानीको भुकभुके उज्यालोसँगै बास बसेका चराहरू भुर्र उडेर जान्छन् । गन्तव्य कता हो ? मुलुुकबाहिर होस् या भित्र, कुनै साँध–सिमानाले रोक्दैन। उड्दै–उड्दै जाँदा जब भोकको महसुस हुन्छ अनि पेटको लागि आफैँ संघर्ष गर्छन् । त्यस्तै मानव जीवनको भोकले एकपछि अर्को सोख खोजिरहेको हुन्छ। भोको पेटले सिर्जना गरेको तुवाँलोलाई हटाउन नसक्दा पुस्तौँदेखिको थातथलो छाडेर पहाडदेखि मधेस हुँदै परदेशतिर लाग्नु रहर होइन, बाध्यता।
ठाउँ स्थानान्तरण पनि मानव विकासको एउटा खुड्किलो हो । गरिबी, अभाव, उत्पादनमा ह्रास, प्राकृतिक विपद्जस्ता घटनाहरू नै बसाइँ सराइको कारण बन्छ । परदेश गएर जीविकोपार्जन गर्ने, दुई–चार पैसा कमाउने, घरपरिवारको सपना साकार बनाउने उद्देश्य बोकेको आख्यानभित्र मुगलानको जनजीवन, रहनसहन, सुख–दुःख, नौलो परिवेशमा भोगेका मजदुरहरूको जीवनशैलीलाई मूर्धन्य चित्रकार तथा लेखक लैनसिंह बाङदेलज्यूले बडो सुन्दर ढङ्गले खनजोत गरेर प्रवासी नेपालीहरूलाई मुलुकबाहिर स्थापित गर्नुभएको छ।
पहाड पर्वतको भूभागलाई सानातिना थुम्काथुम्की, खोलानाला र झरनाको छङछङले मोहित पारे पनि त्यहाँको रैथाने समुदायको मन रमेको देखिँदैन । उनीहरूलाई हातमुख जोड्नै धौ–धौ भएपछि गाउँ, परिवार छोडेर मुलुकबाहिर भासिन बाध्य हुन्छन् । कमाउन त परै जाओस् छाक टार्नै गाह्रो भएपछि अरुण खोला आसपासका बासिन्दाहरूलाई लेखकले जुरुक्कै बोकेर मुगलान पु¥याएका छन् । त्यसमा रने, अनि केही वर्षपछि म्याउची हुँदै बर्सैपिच्छे गाउँघर छाड्नेहरू धेरै हुन्छन् । दार्जीलिङ, घुम, सुकेबजार र टिस्टाको सेरोफेरोमा रने र म्याउचीले पनि अरूले जस्तै आरा काट्ने, तख्ता बोक्ने मजदुरी गर्दै गुजारा चलाउँछन् । उनीहरू पहाडबाट आउँदा सोझा, इमानदार र सतमा बसे पनि उमेरले फक्रँदै गएपछि रने र म्याउचीको विवाह हुन्छ । तर सानोतिनो कुरोमा विवाद भइरहनु र शंकाको भरमा रनबहादुरले श्रीमती म्याउचीलाई टिस्टाको गहिरो बहावमा मिसाइदिएको प्रसङ्गले मुलुकबाहिर अपनाउनुपर्ने सावधानी र नारी पात्रालाई निरीह बनाइएको छ। एकछिन्को सनकले श्रीमतीको ज्यान लिएको गोप्य कहानीलाई अरू उप–कथाहरूले छोप्न खोजे पनि जिज्ञासाको भार पाठकलाई बोकाइएको पाइन्छ।
मुगलानमा आरा काट्दा–काट्दै रनबहादुर गायब हुन्छ । त्यो समय संसारभर लडाइँ चलिरहेकोले पल्टन जाने ठिटाहरूसँगै रनबहादुर पनि लुसुक्क लाहुरतिर लाग्छ । उपन्यासमा युद्घ कहानीको लामो चर्चा नभए पनि रनबहादुरले चार वर्ष पल्टनमै बिताएको उल्लेख छ । घमासान लडाइँमा साथी दलबहादुरको पाखुरामा गहिरो चोट लागेपछि अस्पताल पु¥याउँछ । परदेशबाट घाइते साथीलाई घुमको घरमा पु¥याएर सुर्ताएकी एक्ली आमालाई जिम्मा लगाएबाट रनबहादुरको सहयोग तारिफयोग्य लाग्छ । त्यसपछि रन र दलबहादुरबीच मित्रताको गाँठो झन् कसियो । रनबहादुर पनि साथीकै घरमा बस्न थालेपछि दिनचर्या उसै गरी बित्दै जान्छ। पहाडमा गाईवस्तु पालेको, घाँस–दाउदा गरेको, गोठाला, खेताला गरेको, मुगलानमा आरा काटेको र पल्टनको तालिमबाट केही सिकेको थियो रनबहादुरले। तर श्रीमतीको काण्डले झस्किने गथ्र्यो।
एकदिन घुममा पहिला टिस्टामा मजदुरी गर्दाको माइला भुजेल र म्याउचीको बहिनी मसिनीसँग रनबहादुरको अचानक भेट हुन्छ र रनबहादुरले साथी दलबहदुरको घरमा पु¥याउँछ । रनबहादुरले श्रीमती म्याउचीलाई टिस्टामा बेपत्ता पारेको कसैलाई थाहा थिएन । तर म्याउचीबारे बारम्बार कुरा उठिरहन्छ । रनबहादुरले त्यो कुरालाई धेरै पटक टार्छ तर आफूले हत्या गरेको कुरा फुस्केला भनेर घर छाडेर हिँड्छ । मसिनीले भेना रनबहादुर हराएकोमा चिन्ता लिँदै सुतेकीले सपना पनि नराम्रो देखी र दलबहादुरको बूढी आमालाई सुनाई । आमाले भनी, ‘के अचम्म हो ! कस्तो अभासे सपना देखिछ्यौं ।’ साँच्चिनै भोलिपल्ट कटुसको रुखमा झुन्डिएर रनबहादुरले आत्महत्या गरेपछि पाठकले पछ्याइरहेको पात्रको अन्त्य हुन्छ । त्यसपछि दलबहादुरले माइला भुजेललाई एकजोर दुहुना गाई किनिदिई सहयोग गरेकोले अर्को पाटोमा छिरिन्छ । पहाडको गाउँघरमा सुन्ने गरेको– मुगलानमा त पहाडे भनेर हेप्ने, ठग्ने, शोषण गर्नेजस्ता भ्रमलाई मुलुकबाहिरको वास्तविक कथावस्तुले चिर्दै सहयोग र भाइचाराको सम्बन्धले उपन्यासलाई गर्विलो बनाएको छ।

बिरामी परेको दलबहादुर निको भएपछि रेल कम्पनीमा काम गर्न थालेको हुन्छ तर मन स्थिर थिएन । नोकरी छाडेर परदेशतिर लाग्छ । माइला भुजेल धनबहादुरको घरमा बसेर अहोरात्र खटी गाई पालनबाट राम्ररी आम्दानी गर्दै गर्दा माइला र मसिनीबाट छोरी रुपाको जन्म हुन्छ । माइलाको लगनशीलताले गोठमा अरू गाईवस्तु थपिएसँगै हर्के र चतुर्मान गोठालाहरू थपिए । पछिबाट गोरुगाढा खेप्ने सेर्बालाई पनि काममा लगाएर प्रवासमा पनि गरे के हुन्न; भन्ने दृष्टान्त भेटिन्छ । पहाडबाट आएर अरूको घरमा बसी दुई–तीनजनालाई रोजगारी दिनुले सकारात्मक सन्देश प्रवाह गरेको छ । मुगलान आएको कान्छा राईलाई माइलाले दुःखको बेला आफैँसँग राखेको थियो । तर सेर्बाको आहारिसे नजरले माइला र मसिनीबीच फाटो ल्याउँछ । सेर्बाको कुरा सुनेर भुजेलले मसिनीलाई भक्कु पिटेपछि दौरा–सुरुवाल लगाएर घरबाट निस्किन्छ, तर फर्केन । फर्केर आउने आशामा विरक्तिएको मसिनीको मन र श्रीमान् नहुँदाको शून्यतालाई लेखकले नारी–हृदयको कुना–कुना पसेर गरेको बयानले पढ्दा–पढ्दै साँच्चिनै भित्र कतै घोचिरहेको आभास हुन्छ।
मसिनी पहिलोपल्ट दार्जीलिङ आउँदा रेलगाडी देखेर छक्क परेकी र हर्न सुनेर बाटोमुनि भागेकी पहाडी चेलीले मुगलानमै घरजम गरेर प्रगति गर्ने सबल नारी पात्राको रुपमा देखाइएको छ । माइला भुजेलले अनेक दुःख गर्दै भविष्य उज्ज्वल बनाउँदै गर्दा सेर्बाले परिवार भाँडभैलो पारेपछि बेपत्ता भएको माइला, फर्किएन । यता परदेश गएको दलबहादुर टुप्लुक्क घर आइपुग्छ। आमाले दलबहादुरलाई माया मारिसकेको अवस्थामा छोराको उपस्थिति हुँदा छोरासँग गरेको मातृत्वभावको संवादले पाठकलाई त्यहीँ समाहित गराउँछ । घरमा रनबहादुर र माइला नभएको पीडा त थियो नै, र पनि आमाको करकापले ढल्कँदै गरेको उमेरमा दलबहादुरले बिहे गरेर छोराको बाबु बन्छ । घरको व्यवहार थामेर बसेको साथी गायब हुँदा दलबहादुरले टिस्टा, सिलगढी हुँदै कलकत्तासम्म पुगेर खोज्नुमा मुलुकबाहिर होस् या भित्र, जहाँ भए पनि मित्रताको सूत्रले बाँधेर कथासंरचनालाई मजबुत पारेको छ।
मुगलान पस्नेहरूको मार्मिक कथानक शृङ्खलाले भरिपूर्ण उपन्यासमा भारतवर्ष तथा बर्मा पसेकाहरू कालान्तरमा नेपालको पहाड, दोलखा र अरुणतिर फर्किंदैनन् । दलबहादुरको बुबा हस्तमान पनि प्रवासमै स्थानीय भएको प्रसङ्गलाई जोड्दै लेखकले पात्रहरूमार्फत भन्छन्, ‘जुन मुलुक गरिब छ, जहाँ आफूलाई सुख छैन, स्वतन्त्रता छैन, जहाँ केवल गरिब श्रमजीवीको आत्माको क्रन्दन सुनिन्छ, जहाँ सभ्य मनुष्यको राँको छैन, जहाँ दरिद्र आत्माको नग्न चित्र छ, त्यस्तो मुलुकमा फेरि को फर्कने मन गर्छ (पृ.१५७) ? नेपालको कुनै पनि भूभागबाट आएका नेपालीहरूलाई पहाडे, गरिब, दरिद्र, अशिक्षित भनी तल्लो दर्जामा राख्नु र मुगलान बसेर घरजम गर्दै अर्को पुस्तामा सर्ने कथानक प्रस्तुतिले कता–कता बिजाउने गर्छ ।
धेरै वर्ष हराएको माइला भुजेल फेरि घुममा देखा पर्छ । घुमको गल्लीमा यताउता गरिरहने टिठलाग्दो बूढो मान्छेप्रति चियावाली तरुनीको मनभित्र दयाभाव जाग्छ र बोलाएर तातो चिया दिँदै बस्न दिएपछि फेरि अर्को सम्बन्ध कायम हुन्छ । त्यहीँ बस्दा–रहँदा पसलवाली तरुनी त आफ्नो छोरी रुपा रहेको थाहा पाउँछ भुजेल बूढाले । तर बूढाले म तिम्रो बुबा हुँ भन्न सक्दैन । यहाँ लेखकले पाठकलाई थाहा दिए पनि छोरी रुपालाई आफ्नो बुबाको परिचय नदिएकोले झन् उत्कण्ठित बनाइरहन्छ । छोरीले बुबालाई पटक–पटक बाजे भनी बलाउने, स्नेहसँगै खान दिने, आगो तपाउनेजस्ता व्यवहार र मीठो कुराकानीबाट बुबा भित्रभित्रै गलिसकेको हुन्छ भने छोरीले बुबासँग बूढो मान्छेको साइनोले संवाद गर्दा वास्तवमै मर्माहत बनाउँछ । माइला भुजेलले सहन नसकेपछि पहाडमा हुँदा रुपाकी आमाले दिएको एउटा औँठी छोरीलाई दिँदै ‘म तिम्रो बुबा हुँ’ भनी परिचय दिन्छ र बाबुछोरीको एकछिन् रोइलो चल्छ । त्यो बेला रात परेकोले भोलि आमालगायत सबैसँग भेट्ने बाचा गरी सुतेको माइला भुजेल बिहानीको उज्यालोसँगै सास छोडेपछि आमा मसिनी र साथी दलबहादुरले माइला भुजेलको निस्प्राण शरीर मात्र भेटेको कथावस्तुले जीवन के हो; अर्थबोध गराउँछ।
समग्रहमा भन्नुपर्दा गरिबीको कारण मुगलान पसेर नेपालीहरूले भोगेका घटना–परिघटनालाई वस्तुपरक शैलीमा उतारिएको आख्यानभित्र श्रमजीवीको वास्तविक जीवन भेटिन्छ । लेखनशैली अत्यन्तै सरल र सरसपूर्ण छ । कतिपय त्यहाँकै स्थानीय शब्दहरू प्रयोग गरिएको छ भने मूल पात्रले बोकेको विषयवस्तु आफैँसँग अन्त्य भएपछि अर्को पात्रले निरन्तरता दिएको लेखनकला अद्भुत लाग्छ। रनबहादुर परिश्रमी तर अलि सन्काहा पात्र र दलबहादुर बा पुस्तादेखि प्रवासमा रहेको विशाल छाती र सहयोगी पात्रको रुपमा चित्रण गरिएको छ।
नारी पात्राहरूमा म्याउची सोझी भएकै कारण अल्पायुमै संसार छाडेकी अभागी पात्रा हो भने मसिनी मेहनती, पवित्र हृदय र पतिको सधैँ कदर गर्ने पात्राको रुपमा चित्रित गरिएको पाइन्छ । माइला भुजेल कामप्रति इमानदार र आफ्नो पेसालाई पूजा गरेकै कारण सफल पात्रमा चिनिन्छ । सहायक पात्र–पात्राहरूले उपकथाहरूलाई जोड्ने काम गरेका छन् भने गौण पात्रहरूले अर्को कथासँगको गोरेटो खनेको भेटिन्छ । कथानक प्रस्तुति सलल बगेको छ । कथागत संरचनामा खासै विचलन भेटिन्न । मुगलान पसेका भुइँमान्छेहरूले उजाड भूमिलाई हरियाली बनाउँदै अन्य पेसाबाट आफ्नो जीवनशैलीलाई रुपान्तरण गरेको सन्देशमूलक उपन्यास मुलुकबाहिर पठनीय छ ।











प्रतिक्रिया