ढोकामा उभिएर उपदेश मागेको हो त ?

752
Shares

परोपदेशे पाण्डित्यम् सर्वेषाम् सुकरम् नृणाम्,
धर्मे स्वीयमनुष्ठानम् कस्यचित्तु महात्मनः ?

अर्थात् अर्कालाई उपदेश दिँदा पाडित्य देखाउन त सबैलाई सजिलो छ, आफूले अरुलाई उपदेश गरेकै बाटोमा आफू हिँड्न भने एकाध महात्माले मात्र सकेका होलान् ।

भर्खरै दुई दिनअघि घरअगाडि उभिन आइपुगेका एक मगन्ते युवालाई मैले पनि एक घल्चा उपदेश पिलाएर पठाएँ ।
कुनै समय हुँदो हो, जिज्ञासु विद्यार्थीहरु विद्वान् गुरुका ढोकामा उभिएर पनि उपदेश माग्दा हुन् । हामीले जुन समय देख्यौँ ढोकामा उभिएर भिखारीहरु उपदेश होइन, भीख माग्थे। दिए झोली थाप्थे। नदिए केही नबोली छिमेकका अरु ढोकाअगाडि अलख जगाउन पुग्थे । यसरी भीख मागिहिँड्नेलाई त्यसताका जोगी भनिन्थ्यो । जोगीहरु भेषधारी हुन्थे । यस्ता जोगी महिनामा एक–दुईजना मात्र देखिन्थे । गाउँबस्तीमा जोगी ढोकाअगाडि अलख जगाउन आइसकेपछि एक–दुई मुठी अनाज भिक्षा दिन एकाध अपवादलाई छाडेर धेरैजसो कन्जुसहरु पनि आँट गर्थे । भिखारीहरु विनाभिक्षा फर्कनुपर्ने अवस्था थिएन । नगदे व्यवहार चल्ने शहरमा भने गाउँकोे त्यो अन्नदानी रीतिस्थिति यथावत् रहने कुरा भएन, रहेन।

हिजोआज हाम्रो शहरी समाजमा जतासुकैका जुनसुकै कन्जुसले पनि सदाबहार दिन सक्ने दातव्य के हो ? सबैलाई थाहा छ, त्यो भनेको उपदेश हो । अरुलाई उपदेश दिन खप्पिस पण्डितहरु अर्थात् कन्जुसहरु आफ्नै जीवनमा त्यो उपदेश कति लागू गरिरहेका हुन्छन् त ? सन्जोगले कतै हिमालमा महाकवि देवकोटाका सर्प भेटिए मात्र । अन्यथा यो पनि स्यालको सिङ खोज्नुजस्तै मृगमरीचिका मात्र हो । व्यवहार हेरेर निक्र्यौलमा पुग्नुपर्दा हाम्रो समाजमा धेरैजसो उपदेश–पण्डितहरु गाला चड्काउन लायक नै हुन्छन् । यथार्थ यही छ ।

यस्तो सहायता माग्ने हामीजस्ता साधारण मान्छेसित होइन। सरकारसित माग्ने हो। स्थानीय सरकार छ। सङ्घीय सरकार छ। गृह मन्त्रालयमा गएर निवेदन दिनुस् न। अनि तपाईं हट्टाकट्टा शिक्षित युवा देखिनुहुन्छ। यस्ता युवाले कसैका घरअगाडि उभिएर सहायता मागिहिँड्ने होइन नि !’ मेरा यी भनाइले ती युवामा कुनै प्रतिक्रिया आएन। उभिएर मतिर हेरिरहे ।

मगन्ते बन्नु ठीक होइन । दह्रा पाखुरा–पिँडौला भएकाले काम गरेर खानुपर्छ, मागेर होइन । यो आजको नेपालमा धेरैले सुनेजानेको उपदेश हो । मैले पनि धेरैलाई यो उपदेश बाँडेको छु । कान चिरेको छैन । गोरख मन्त्रहरु थाहै छैन । बराँठका सिङ पनि हातमा छैन । राति त्यसको आवाज सुनिएको पनि छैन । बिहान बोरा लिएर एक हट्ठाकट्ठा युवक ‘मैले राति फेरि लाएकाो, सिधा दिनुस्’ भन्न आइपुग्छ । त्यसलाई सिधा दिने कि यसरी झुक्याएर माग्नुहुँदैन भन्दै उपदेश दिने ? नाथ सम्प्रदायका योगीहरु कस्ता हुन्छन्, थाहा नभएको भए सजिलो हुन्थ्यो । थाहा छ, यस्ता हुँदैनन् । थाहा भएपछि सिधा दिन गाह्रो छ । नदिन पनि सजिलो छैन।

हिजोआज घरअगाडि गल्लीमा दिनहुँजस्तो क्यासेट बजाउँदै बिरामीवाला टोलीहरु आउँछन् र ढोका ढकढक्याएरै भेटेर भन्छन्, ‘किड्नी गयो । उपचार गर्न खर्च छैन । घरबाट सुको निस्कँदैन । सहयोग गर्नुहोस् । दया नै धर्म हो ।’ आदि, आदि । एकदिन हैन, दुई दिन हैन, हप्तामा सातै दिन फरक–फरक टोली । । हामी सर्वसाधारण गृहस्थ । सबैका ग्यासैका चुल्हा । ग्यास किन्न नसक्दा चुल्हो बल्दैन । हरेक महिना घाटाको बजेट जान्छ । क्यासेट बजाएर कसको ढोका ढकढक्याउन जाने सर्वसाधारण जनताले ? माननीय, मन्त्री, तस्कर, माफिया, बिचौलिया, भ्रष्ट, डन, डाँका केही हुन अघि सरेकोे भए गृह मन्त्रालयले लाखौँ अनुदान पनि दिँदो हो । त्यो हुन नसकेका वा नचाहेका सर्वसाधारण जनका लागि यहाँ दुःख पर्दा सघाउने सरकार छैन, मन्त्री–प्रधानमन्त्री कोही छैनन् । यस्तो स्थितिमा सर्वसाधारण गृहस्थले नाना थरीका पीडित आवाजहरुलाई खल्तीमा भए त मुखबुजो लगाइदिने, नभए के दिने ? कसरी दिने ? मैले कति आफ्ना अगाडि सारिएका बिचरा हातहरुलाई बाध्य भएरै भनेको छु, ‘बिरामीले, विभिन्न आश्रम चलाउनेले सरकारसित कुरा राखेर माग्नुपर्छ । सरकारले दिन सक्छ । पीडित जनतालाई सहायता दिनु, विभिन्न पीडित जन आश्रमहरुलाई अनुदान दिनु जनकल्याणकारी सरकारको कर्तव्य हो । प्रस्तावनामै समाजवादी भनिआएको सरकारको त अनिवार्य दायित्व नै हो अकिन्चन जनतालाई मद्दत गर्नु । सर्वसाधारण हामीजस्ता गृहस्थसँग त के छ र ? के दिन सक्छ ? ‘आफैँ त महादेव उत्ताना टाङ ।’

रातभरि रामायण सुनेकाले बिहान पण्डितसँग सीता कसकी श्रीमती हँ ? भनेर सोध्यो भनेजस्तै । उपदेश जति दिए पनि अगाडि पसारिन आइपुगेको हातले बझ्दैन । नोट नराखिदिएसम्म याचनाका हातले कुरै बुझ्दैन । पीडाका पिरलो र रन्थनाहटले गर्दा नबुझेको हो कि व्यावसायिक जिद्दी हो । छुट्याउन सजिलो छैन । कति टाठाबाठाले मान्छे भर्ना गरेरै माग्ने व्यवसाय चलाएका छन् पनि भनिन्छ । मगन्ते व्यवसायमा लाइसेन्स चाहिँदैन, भ्याट पनि लाग्दैन ।

हाम्रो गाउँघरमा त भिखारी इतरले पनि अनाज माग्ने चलन नयाँ होइन । हिउँदमा नगर्चीहरु नगरा बजाउँदै आँगनमा झुल्कन्थे । कोही आँगनमा छिर्थे र पर्खालमा बसेर सहनाई बजाउँथे । लामाहरु आँगनमा उभिएर तिब्बती भाषामा शान्तिपाठ गर्थे । तिब्बत रुपान्तरण हुनुअघि थाक्सेहरु माने पेमे हुम् भन्दै अन्नदान माग्न आउँथे । कदाचित् गन्धर्वहरु पनि सारङ्गी लिएर टुप्लुक्क आइपुग्थे। यी सबै घरका केटाकेटी र बूढाबूढीका आँखा र कानलाई पर्याप्त रमाइलो दिन्थे । आपसमा आत्मीयता र आफन्तपन थियो । यो गाउँको कुरा भयो । शहरको कुरा फरक छ ।

शहर बेग्लै छ । हाम्रो काठमाडौं त अझ राजधानी शहर । अपरिचित रहनु, नबोल्नु सभ्यता बनेको छ शहरको । यहाँ छरछिमेक भन्ने कुरा छैन । एउटै घरमा डेरा गरिबसेकाहरु पनि आपसमा अपरिचित रहनु सभ्यता ठान्छन् । ठूला दरबार, महल, बङ्गला कम्पाउन्डहरुमा त प्रायः कुक्कुरहरु मात्र बस्छन् । ती बोल्दैनन्, भुक्छन् । कथम् कदाचित् कोही ढोका उघारेर भित्र पस्यो भने त्यसका शरीरमा तीखा दाँतले यत्रतत्र गहन चुम्बन गरिदिन्छन् । अविस्मरणीय र भव्य स्वागत गर्छन् । यसैले शहरमा भीख माग्न पनि सजिलो छैन । ठूला घरहरुले सुन्दैनन् । साना घरहरु आफ्नै कानसँग डराउँदै सुन्छन् । नसुनेको बहाना गर्छन् । यहाँ धन हुनेसँग मन छैन । मन हुनेसँग धन छैन ।

यो पशुपतिनाथको नगरी । यहाँ विभिन्न चाडको अवसर पारेर छिमेकी मुलुकका भेषधारी बाबाहरु पनि शङ्ख फुक्दै, घण्ट बजाउँदै, त्रिशूल हल्लाउँदै भयङ्कर आक्रामक शैलीमा शहर–गल्लीमा प्रकट हुन्छन् । कहिले एक्लै त कहिले लस्कर लागेर । राता आँखा, चड्किला आवाज र भैरव व्यक्तित्वका धनी तिनलार्ई पुराणको दुर्वासा नै ठानेर कति धर्मभीरु नेपालीहरु आशीर्वाद लिन ढोका खोलेर अगाडि प्रस्तुत हुन्छन् । लुरेलाङ्ग्रे, दुःखी अलख निरञ्जनलाई शहरले टेर्दैन ।

सत्ताको मलजल पाएर मौलाएका मालेमाशास्त्री, कर्मकाण्डी पुरेत, उपपुरेत जो छन् ती त अपान वायुबाहेक केही त्याग्न जान्दै जान्दैनन् । दुर्गन्धबाहेक केही दिन जान्दै जान्दैनन् । कुम्भकर्णलाई आदर्श बनाई हिँडेका यी पुरेत, सहपुरेतहरु खाएर कहिल्यै अघाउँदैनन् । समता र समानताका कुरा मात्र गर्छन् । हृदय ढुङ्गाको राख्छन्। त्यहाँ करुणाको थोपो रसाउँदैन । कुनै दुःखी जन केही राहत पाउन विनति बनेर आयो भने परिबन्द मिलाएर त्यसलाई खाइदिन पनि सक्छन्। बन्चरे टोपीका रत्नकरहरुको त कुरै नगराँै, तिनले रुपान्तरण अभियानका बाहक देवर्षि नारदलाई नै अगस्त्यले वातापीलाई झैँ कपाकप खाएर डकारिसकेका छन्। हाम्रो मुलुकको अवस्था अझै पौराणिक छ।

यस्तो स्थितिमा मजस्ता भावनाशील मनुवाले कसरी सोच्ने ? कसरी व्यवहार गर्ने ? मानसिकता एउटा छ। परिस्थिति अर्को छ। बिहान बरण्डामा उभिएर बादलको चित्रमयतामा अल्मलिइरहेको थिएँ। जाडो थर्काउन तातो घामको प्रतीक्षा थियो । तल गेटअगाडि उभिँदै मतिर हेर्दैका एक युवा देखेँ । कोठा खोज्न आएका हुन् कि ? घरमा कोठा थिएन । जवाफ तम्तयार थियो । नबोलिरहेका युवालाई सोधेँ, ‘किन ? के खोज्नुभएको ?’

‘मैले सहायता माग्न खोजेको । घाँटी बिरामी भयो । उपचार गर्न सकिएन।’
‘यस्तो सहायता माग्ने हामीजस्ता साधारण मान्छेसित होइन । सरकारसित माग्ने हो । स्थानीय सरकार छ । सङ्घीय सरकार छ । गृह मन्त्रालयमा गएर निवेदन दिनुस् न । अनि तपाईं हट्टाकट्टा शिक्षित युवा देखिनुहुन्छ । यस्ता युवाले कसैका घरअगाडि उभिएर सहायता मागिहिँड्ने होइन नि !’ मेरा यी भनाइले ती युवामा कुनै प्रतिक्रिया आएन । उभिएर मतिर हेरिरहे ।
देश विदेशमा नेपाली युवाहरुको बिचल्लीको अवस्था सम्झेर तरक्क हुँदै पैसा जुटाउन म घरभित्र पसेँ । पैसा लिएर तल ढोकामा पुग्दा युवक त्यहाँ थिएनन् । बाहिर निस्केर दायाँ–बायाँ हेरेँ । युवक कतै दखिएनन् ।

पीडाको उपचार उपदेश होइन, सहानुभूति र सहयोग हो । ती युवक मेरो उपदेश सुन्न ढोकामा उभिन आएका थिएनन् । घरभित्र पस्दा मैले ‘पख्नोस् है’ पनि भनिन । बोलीको पनि कन्जुस भएँ म । सामान्य शिष्टता पनि पालन गरिन । सद्व्यवहारको पनि कन्जुस भएँ । त्यतिखेर म नराम्ररी चुकेँ । मैले यस्तो नगर्नुपथ्र्यो । अभैm पश्चात्तापको रापमा छु ।