मातृभाषाको लागि सञ्चारको बहस


मातृभाषा संरक्षणको चिन्ता कुनै नौलो विषय होइन । नेपालमा मात्र नभई विश्वमा अझ भनौं दक्षिण एसियामा यसको संरक्षण, संवद्र्धनबारे पर्याप्त छलफल र विषय उठान भएको सयौँ वर्ष नाघिसकेको छ। यद्यपि यसबारे चिन्तनधारा रोकिएको छैन। बढ्दो भूमण्डलीकरण र सम्बन्धित राज्यको नीतिले गर्दा अहिले पनि मातृभाषाको विकास अपेक्षाकृत तवरमा अघि बढ्न सकिरहेको छैन। निःसन्देह शुरु–शुरुमा भाषा जोगाउनुपर्ने चेत साहित्यकारहरुले फैलाएका थिए। कुनै पनि भाषा जोगाउनको लागि त्यसको लिपि, व्याकरण र साहित्य नभई नहुने भन्दै जीवनभर साहित्य साधनामा लाग्ने महारथीहरु विविध भाषामा धथोरै होलान्, तर कुनै पनि भाषामा शून्य भने छैनन्।

शासकवर्गले राज्य सञ्चालनको क्रममा स्वार्थको लागि पनि आफ्नो भाषा, धर्म र संस्कृति जबरजस्ती लाद्ने गरेकोले अधिकांश मातृभाषा थिचोमिचो र बहिष्करणमा परेको ऐतिहासिक पृष्ठभूमि नेपाललगायत धेरै देशको यथार्थ हो। त्यस्तो अवस्थामा लोकतन्त्रको बहाली वा जनताको अधिकारको कोणबाट भाषिक समानताको विषय उठानले गर्दा यो विषय आम राजनीतिको विषय बनेको पनि उत्तिकै सत्य हो। त्यसैले मातृभाषाको संरक्षण अहिले कुनै देशको राष्ट्रिय चासो मात्र नभई अन्तर्राष्ट्रिय चासो र चिन्ताको विषय बन्न पुगेको छ।

कुनै पनि भाषा एकदिनमा बनेको होइन । समाज विकासको क्रममा हजारौं वर्ष लगाएर भाषा बनेको हुन्छ। भाषमा मानवजातिको संस्कार, अनुभवबाट सिद्ध ज्ञान, जीवन निर्वाहका सीप, संस्कार, इतिहास निहित रहेको हुन्छ। त्यस भाषाको साहित्य भण्डार ज्ञानको खुराक हो। यस अर्थमा कुनै एउटा भाषा स्वयंमा एउटा सभ्यता हो। मानवजातिको अमूल्य निधि हो। हरेक मानिसले आमाको गर्भदेखि हुर्किएर सिकेको भाषालाई मातृभाषा भनिन्छ।

मातृभाषाबाट गरिने सञ्चारमा सन्देशको सम्प्रेषण गर्ने बढी तागत रहेको छ। अन्तरहृदयको कुरालाई सहज तवरले भन्न सकिने भएकोले यसको ठूलो महत्व छ। यही तथ्यलाई बुझेर संयुक्त राष्ट्र संघले अहिलेको दशकलाई भाषिक दशकको रुपमा मनाइरहेको छ । मातृभाषा संरक्षणको दिशामा यसलाई अवसरका रुपमा लिनु उपयुक्त हुनेछ।

यस परिप्रेक्ष्यमा अहिले मातृभाषाको विकासको लागि सञ्चार क्षेत्रको भूमिकाबारेमा पनि बहसहरु हुन थालेका छन्। पत्रकारिताको आधारभूत कार्य भनेको सार्वजनिक महत्व, चासोको विषयमा जनतालाई सूचना दिने हो। सकारात्मक परिवर्तनका लागि शिक्षा दिने र प्रेरणा दिने तथा स्वस्थ मनोरञ्जन प्रदान गर्ने हो। हो, यस क्रममा भाषा संरक्षणसम्बन्धी समाचारलाई प्राथमिकता दिएर भाषाको प्रवद्र्धनमा टेवा पुर्‍याउन नसकिने होइन। बहुभाषिक नेपालमा विभिन्न राष्ट्रभाषा (मातृभाषा) को पत्रकारिताद्वारा सम्बन्धित भाषा जोगाउने र जीवन्तता बनाइराख्न ठोस एवं प्रभावकारी योगदान पुर्‍याउन सकिने पक्षबाट अहिले बहसहरु हुन थालेका छन् । यदि कुनै भाषाको पत्रकारिताले हजारौँ वर्ष लगाएर निर्मित सम्बन्धित भाषा जोगाउन ठोस योगदान पु¥याउँछ भने पत्रकारिताको महत्व र महिमा यो जतिको अरु के होला ? पत्रकारिता क्षेत्रले भाषा संरक्षणमा पुर्‍याउन सकिने विशिष्ट योगदान पनि यही हो ।

यस हिसाबले मातृभाषाको लागि सञ्चार भन्ने भाष्यबाट अहिले बहसहरु शुरु हुनुलाई सकारात्मकरुपमा लिन सकिन्छ । नेपालमा नेपालभाषाको पत्रकारिता शुरुवात भएको सय वर्ष पुगेको सन्दर्भमा मातृभाषा शताब्दी वर्ष मनाइरहँदा भारतमा हालै भएको अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनलाई यसै बहसको शृङ्खलाका रुपमा लिन सकिन्छ। नेपालको संविधानमा नेपालमा बोलिने सबै माषाहरु राष्ट्रभाषा भनिसकेको स्थितिमा त्यसको व्यावहारिक कार्यान्वयनको स्वरुप कोर्न यस्ता बहसले टेवा पुर्‍याउने निश्चित छ।