काठमाडौं ।
राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंमा रहेका दर्जन बढी लोकसेवा तयारीका ट्युसन सेन्टरलाई उच्च निगरानीमा राखेको छ। काठमाडौंमा रहेका विभिन्न ट्युसन सेन्टरहरूले लोकसेवाको तयारी भन्दै हजारौं विद्यार्थीलाई पढाउँदै आइरहेका छन्।
ती केन्द्रमा सरकारका सहसचिव, उपसचिवहरू सरकारी काम छलेर तथा सरकारी गाडीको दुरुपयोग गर्दै लगातार पढाउन जान थालेपछि सर्तकता केन्द्रले त्यस्ता ट्युसन सेन्टरहरूमाथि निगरानी गर्दै कामचोर र सरकारी गाडीको दुरुपयोग गर्ने अधिकारीहरूको खोजतलास थालेको हो ।
सर्तकता केन्द्रका सचिव सरजुकुमार वैद्यले लोकसेवाका ट्युसन सेन्टरमा सरकारका सहसचिव, उपसचिवहरू सरकारी काम छलेर र सवारीसाधनको दुरुपयोग गर्दै जाने क्रम बढेको भन्दै उजुरीहरू आउन थालेपछि त्यस सम्बन्धमा छानबिन र निगरानी थालिएको जानकारी दिनुभयो।
केन्द्रले विभिन्न अनुसन्धान अधिकृतसहितको टोलीलाई ती ट्युसन सेन्टरको निगरानीमा खटाइएको जनाएको छ । ती टोलीहरूले ट्युसन सेन्टरलाई निगरानीमा राखी नियमित अनुगमन गरिरहेको र कुनै पनि अधिकारीहरू कार्यालय समयमा वा कार्यालय समय अघिपछि पनि सरकारी गाडी लिएर ट्युसन सेन्टरमा गएको पाइए उनीहरूमाथि कारबाहीको सिफारिस गर्नेछ।
निजामती सेवा ऐनमा आफ्नो जिम्मेवारीअनुसार काम नगर्ने, सरकारी सवारीसाधनको दुरुपयोग गर्ने र गैरजिम्मेवार बन्नेहरूमाथि विभागीयलगायतका विभिन्न कारबाहीको व्यवस्था छ । सतर्कता केन्द्रले सोहीअनुसार नै त्यस्ता सहसचिव तथा उपसचिवहरूमाथि कारबाहीको सिफारिस गर्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि केही सहसचिव र उपसचिवहरू सरकारी काममा भन्दा लोकसेवाको ट्युसन पढाउने काममा नै व्यस्त हुने गरेको र सरकारी सवारी साधनको चरम दुरुपयोग गर्ने गरेको भन्दै उनीहरूमाथि कारबाहीको माग गर्दै विभिन्न गुनासा र उजुरीहरू आउने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार लोकसेवाको ट्युसन पढाउने धन्दामा लामो समयदेखि लाग्दै आइरहेका सहसचिव र उपसचिवहरू बाहिरी जिल्लामा सरुवा भएर जान मान्दैनन्। कथंकदाचित सरुवा भइहाले पनि विभिन्न शक्तिकेन्द्रहरू प्रयोग गर्दै सरुवा थमौती गराउन सफल हुने गरेको बताइन्छ।
केन्द्रका अनुसार जिल्लामा मुख्य जिम्मेवारी लिएर गएका केही सहसचिव र उपसचिवहरू पनि काम छोडेर विभिन्न ट्युसन सेन्टरमा अनलाइन कक्षासमेत पढाउने गरेका उजुरीहरू आइरहेकाले त्यस्ता व्यक्तिहरूको पनि खोजतलास थालिएको छ।
केन्द्रका अनुसन्धान अधिकृतहरूका अनुसार सरकारी गाडी लिएर ट्युसन पढाउन जाने सहसचिवहरूले आफ्नो गाडी ट्युसन सेन्टरमा नराखी नजिकैको अन्य स्थानमा राख्ने गरेको भन्ने सूचना आएकाले त्यस सम्बन्धमा थप अनुसन्धान गरी दुरुपयोग गरिएका गाडीको खोजतलासलाई तीव्र पारिएको जनाइएको छ।
प्रतिक्रिया