मेलुङका किसानलाई गाई पालनमा सहयोग


दोलखा ।
दोलखाको मेलुङ गाउँपालिकाले दुग्ध व्यवसाय प्रवद्धनको लागि गाई पालन गर्न आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम सुरु गरेको छ । गैर सरकारी संस्था हेफरसंगको सहकार्यमा पशुपालन व्यवसाय अन्र्तगत गाईपालनको लागि सहयोग कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष हिरा कुमार थोकरले बताए ।

मेलुङ गाउँपालिका वडा नम्बर– २ मा पहिलो चरणमा १८ वटा उन्नत जातको गाई खरीदमा गाँउपालिकाले सहयोग गरेको र अब छिट्टैे थप १६ वटा गाई खरीदमा सहयोग हुने पालिका अध्यक्ष थोकरले बताए ।

हेफरसंग को सहकार्यमा सुुरु भएको कार्यक्रममा गाई खरीदको लागि पालिकाले १७ लाख रुपैया छुुट्टाएको वडा नम्बर– ४ का वडा अध्यक्ष रामकृष्ण भण्डारीले बताए । पालिकाले छनौट गरेको किसानलाई एकलाख सम्मको गाई खरीद गर्दा पचास प्रतिशत पालिकाले उपलब्ध गराउने र एकलाख भन्दा बढीको गाई खरीद गर्दा पचास हजार रुपैयासम्म पालिकाले दिने वडा अध्यक्ष भण्डारीले बताए ।

किसानहरुलाई गाई खरीदको लागि प्राविधिक सहयोग, गाईको उपचार र नियमीत जाँचको लागि सहयोग र समूह निर्माण गरी बिभिन्न तालिम, सहुलियत दरमा ऋण लिन सहयोग जस्ता कुरामा हेफरले पालिकासँगको समन्वयमा किसानसंग सहकार्य गर्दै आएको हेफरका कार्यक्रम संयोजक सन्तोष भट्टराईले बताए ।

विगत सात बर्ष देखि पशुपालन व्यवसाय गर्दै आएका मेलुङ गाउँपालिका वडा नम्बर– २ का वीरबहादुर तमाङ पालिकाले गाई पालनमा सहयोग गरेर किसानहरुलाई प्रोत्साहित गरेको बताउँछन् । विगत सात बर्षदेखि गाईपालन गर्दै आएका वीरबहादुरले पालिकाको सहयोगमा भर्खरै एकलाख ४० हजारमा होलिस्टिक जातको गाई ल्याएको बताए ।

पालिकाको सहयोगमा ल्याएको समेत आफुसँग अहिले ६ वटा गाई भएको वीरबहादुरले बताए । दैनिक ४८ लिटरसम्म दुध बिक्री गर्दै आएका वीरबहादुर पशुपालन, तरकारी खेती, मिल सञ्चालन जस्ता व्यवसायमा सक्रिय छन् । व्यवसायबाट गाँउमै बसेर बार्षिक २० लाखसम्म कमाई हुने उनले बताए ।

मेलुङ– २ साँखेका रामहरि अधिकारीले पनि गाँउपालिकाको सहयोगमा एक लाख २० हजारमा गाई खरिद गरेका छन् । अब आफुसँग दुईवटा गाई भएको रामहरिले बताए । पालिकाको सहयोगपछि गाईपालनमा किसानहरुको आकर्षण बढेको र आम्दानी पनि राम्रै हुने गरेको रामहरिको भनाई छ ।

किसानहरुलाई पशुपालन व्यवसायमा सक्रिय गर्दै पालिकालाई दुग्ध निर्यातको थलो बनाउन तीन ठाउँमा दुध सङ्कलन केन्द्र समेत राखिएको पालिका प्रमुख हिराकुमार थोकर बताउँछन् ।

पालिकाकै सहयोगमा कल्लेरी, ढलेको वर र उपल्लो गाउँमा दुध सङ्कलन केन्द्र स्थापना गरिएको पालिका प्रमुख थोकरले बताए । पालिकाबाट दैनिक दुई सय ५० लिटरसम्म दुध सङ्कलन हुने र त्यो चरिकोट स्थित दोलखा दुग्ध डेरीमा लगिने पालिकाले जनाएको छ ।

किसानहरुले दोलखा दुग्ध डेरीबाट प्रतिलिटर ५७-५८ रुपैयाँसम्म पाउने वडा अध्यक्ष रामकृष्ण भण्डारीले बताए ।

तस्विरहरुः पालिकाको विभिन्न ठाउँमा किसानहरुले पालेका गाई ।