काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि उनलाई हिजो प्रहरी हिरासतमा राखिएको थियो। तर, आज उनी कार्यालय खुल्ने बित्तिकै अदालत पुगेका थिए।
अहिले उनको थुनछेक बहस सुरु भएको छ। अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएता पनि थुनछेक बहस सुरु नभए पछि सोमवार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको थियो।
हिजो अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरुमा नै बयान दिएका थिए। अदालतले कास्की जिल्ला अदालत झैँ धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो तर थुनछेक बहस नसकिएकाले उनले कम्तीमा एक दिन हिरासतमा बस्न बाध्य भएका हुन।
उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर नाराबाजी गरिरहेका थिए। उनले प्रहरी हिरासतमा जानु अघि सबैलाई ‘स्यालुट’ गरेका थिए।
सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयम् हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार भने हाजिर हुन भने सकेका थिएनन्।
हाल कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर भएका हुन।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ।
प्रतिक्रिया