हाम्रो देशका नेताहरुको चिन्तन, दक्षता र दूरदर्शिता नाप्ने दायित्व आम जनताकै हो । राष्ट्रप्रति अगाध आस्था, विकासप्रतिको चिन्ता, तत्कालीन परिस्थितिको ज्ञान र राजनीतिक जानकारी भएका नागरिक यो देशमा नभएका भने होइनन् तर संख्यात्मक हिसाबमा त्यो समुदाय न्यून रहेको हुँदा नेता छनोट गर्ने क्रममा उक्त सचेत समुदायको मत छायामा परेको कुरा प्रस्ट छ । उक्त तप्कालाई छोडेर बाँकी जमातलाई आम जनता मानिदिने हो भने नेता छनोट गर्ने क्षमता आम जनतासँग छ।
हरेक जमिनले आफ्नो क्षेत्रफलअनुसारको आकाश पाउँछ, हरेक युगका मानिसले आफ्नो औकातअनुसारको विकास पाउँछन् र हरेक समाजले आफ्नै हैसियतअनुसारको नेता पाउँछ। कुनै समाजशास्त्रका प्रोफेसर वा विशिष्ट राजनीतिज्ञ राउटे समुदायमा गएर ‘मलाई यहाँको मुखिया छनोट गर, म यो समुदायको समूल विकास गरिदिन्छु’ भनेर बिन्ती बिसाउँदा पनि मुखिया छनोट हुन सम्भव छैन। उनीहरु आफ्नै धरातलको कसैलाई आफ्नो नेता (मुखिया) चुन्छन्। तर नेताको क्षमता जाँच गर्ने आफ्नो क्षमता भने ज्यादै धमिलो छ। अर्थात् जनताको ठूलो हिस्सासँग त्यो क्षमता छैन, जसले आफ्ना नेताको क्षमता निष्पक्ष जाँच्न सकोस्।
राष्ट्रप्रति अगाध आस्था, विकासप्रतिको चिन्ता, तत्कालीन परिस्थितिको ज्ञान र राजनीतिक जानकारी भएका नागरिक यो देशमा नभएका भने होइनन् तर संख्यात्मक हिसाबमा त्यो समुदाय न्यून रहेको हुँदा नेता छनोट गर्ने क्रममा उक्त सचेत समुदायको मत छायामा परेको कुरा प्रस्ट छ।
आफ्ना नेताप्रतिको आम जनताको अपेक्षा पनि सतही र क्षणिक भएका कारण नेताले गहन, दीर्घकालीन र राष्ट्रोपयोगी सोच राखिरहनु आवश्यक ठान्दैनन् । अझ आफू नजिकका स्वार्थ समूहका अपेक्षाका फोकाहरु पनि प्रशस्तै हुन्छन्, जसलाई राष्ट्रियताको तराजुमा राखेर तौलिने हो भने खासै वजनदारचाहिँ हुँदैनन् । यी र यस्तै अपेक्षा पूरा गर्नमा नै धेरै समय र मानसिक ऊर्जा खर्च गर्नु हाम्रा नेताहरुको मूल चरित्र देखिन्छ।
यस्ता कम महत्वका कामहरु गरेर ठूलै समर जितेको आत्मरतीमा रमाउनुले प्रस्ट हुन्छ देशप्रतिको चेत । क्षणिक लाभ लिन सफल भएका कुनै झुन्डले गाउने नेताको स्वस्तीगानलाई आफ्नो सफलतासँग जोडेर प्रफुल्लित हुनु अनौठो मानिदैन । अबको युग विज्ञान प्रविधिको युग भएको हुँदा नेतृत्वकर्तामा यस विषयको ज्ञान हुनु जरुरी छ । आफूमा विषयगत ज्ञान छैन भने ‘ममा कुन क्षेत्रको ज्ञान छैन’ भन्नेचाहिँ ज्ञान हुनुपर्छ । त्यतिमात्र हुँदा पनि विषयविज्ञहरुको सहयोग लिन सकिन्छ । अर्थतन्त्रका नयाँ आयामहरुको विषयमा दख्खल राख्नुपर्छ । सैद्धान्तिक रटान र किताबी शिक्षालाई मात्र ज्ञानको मानक बनाउनु पनि शतप्रतिशत सही नहुन सक्छ ।
राष्ट्रिय आयका उच्चतम स्रोतको पहिचान र परिचालनमा बढी केन्द्रित हुनु आजको टड्कालो आवश्यकता बिर्सनुहुँदैन । हाम्रा नेतृत्वले प्रायः कुनै संस्थामा व्यक्तिगत फेरबदल वा स्वार्थ समूहको छानबिन र झीना–मसिना नियमित काममा नै बढी समय खर्च गर्ने गर्छन् । अरु निकायले गर्ने काममा धेरै मानसिक कसरत गर्ने गरेको हुँदा मूल काम छुटेर गएको पत्तो हुँदैन । राज्यको मेरुदण्ड के–के हो, पहिचान गरेर सोही विषयमा मात्र धेरै चिन्तन र सघन निर्णय गरिदिने हो भने राष्ट्रको सर्वाङ्गीण विकास त्यति टाढाको विषय होइन।
देशमा शान्ति कायम राख्न र जनताको हितमा काम गरेर अगाडि बढ्न सबैले चाहेको हुन्छ तर राजनीतिक एउटा यस्तो पाठशाला हो जहाँ हरेक रंगको पहिचानसँग जोडिनुपर्छ, शायद यो देशको धमिलो राजनीतिसँगै नेताले जनतासँग गर्ने व्यवहार त्यही देखिएको छ । गाउँको विकास शहरमा पु¥याउँछु भन्नु र जनताको माग सबै पूरा गर्छु भन्नुमा अत्युक्ति नहोला तर गाउँले बिस्तारै बदलिँदो जीवनशैली पाएको छ । हरेक कुराको चुनौतीसँगै समाज परिवर्तन भएकै छ । तर देशको युवा जनशक्ति विदेश पलायन रोक्न सरकारले भूमिका निभाउन सकेको छैन । युवाले रोजेको नेता भए पनि नेताले रोजेको युवा यो देशमा उपलब्ध हुनसकेको छैन ।
आम जनताले आफ्नो पायक पर्ने नेता जति स्खलित भए पनि विवेक बन्दगी राखेर रेडिमेड समर्थनको ढोल मात्र पिटिरहने गर्छन्। यसका साथै आफूलाई पायक नपर्ने नेताले राष्ट्रहितमै काम गरे पनि तथ्यहीन आलोचनाको लुतो फाल्ने काम नगर्ने हो भने कि नेताको चेत फेरिन्थ्यो, कि नयाँ नेताको जन्म हुन्थ्यो। अन्यथा राष्ट्रको महत्वपूर्ण काम गर्नुपर्ने नेताले वृक्षरोपण गर्ने, कुचो लगाउने, धान रोप्नेजस्ता कामहरु गरेर धेरै हिउँद पार गर्नेछन्। हामी त्यस्तै कार्यको तस्वीर हेरेर खुशी मनाउँदै दशकौँसम्म विकासको आशमा आँखा ओछ्याउन बाध्य हुनेछौँ।
प्रतिक्रिया