कांग्रेस नेता साउद भन्छन्-  दुई तिहाइको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक होइन 

2.16k
Shares

बुटवल। 

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुई तिहाई बहुमतको सरकारले अध्ययादेश मार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले जिकिर गरेका छन् ।

बहुमत हुँदापनि संसद् बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताउँदै नेता साउदले अनिवार्य संसद् सञ्चालन गरी  विधेयक मार्फत आउन चेतावनी दिए ।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य साउदले संसद् छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायित्व दिन नसक्ने ठोकुवा गरे । उनले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसद्मा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।

पूर्वमन्त्री समेत रहेका साउदले भने, ‘संसदलाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले बिभिन्न ऐनहरु निर्माण बनाईरहेको छ, जुन संविधान संवत छैन ।यसको विषयमा चौतर्फी विरोध भइरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन ।’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेस पार्टीले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे । उनले दुई दलबिचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामुकमार क्षेत्रीको अध्यक्षता तथा आचार्य प्रदीपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त जमुना ढकाललाई सम्मान समेत गरिएको थियो । ढकाललाई नेता साउदसहितका नेताले सम्मान गरेका थिए ।