‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया, यो फूलबारीको छोटा–बडा चारै जात छत्तीसै वर्णले सम्भार गरुन् ।’ –राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह ।
विशेषतः यस चराचररुपी भौतिक तथा सांसारिक जगत्मा आदिम मानवद्वारा स्थापित आदर्श, मूल्य, मान्यता, संस्कृति, सभ्यता र नीति–नियमको परिधिमा समाजको स्वरुप राज्य अवधारणाको गति निरन्तररुपमा अगाडि बढ्दै आएको हो । मानवीय विकास शृङ्खलाहरुबाट नै समाज, राज्य–राज्यबीचको बनोट र सरकार सञ्चालनको दायित्वबोधभित्र अनेकन् पृथक्–पृथक् राजनीतिक शासनप्रणालीको उद्भव, विकास, विलय र स्थायित्व पनि यिनै स्वरुपबाट सम्भव भएका हुन्।
इतिहासको कालखण्डमा अनेकौं आरोह–अवरोह एवम् चरम कहाली लाग्दा घुम्ती र मोडहरु पार गर्दै आजको विश्व रङ्गमञ्च आधुनिक भौतिक विकासको शिविरमा प्रवेश गरेको हो । तत्कालीन एउटा सानो राज्य गोर्खा राज्यका नरेश पृथ्वीनारायण शाहको नेतृत्वमा वीरताका साथ आफ्नो विवेकपूर्ण बाहुबलले आर्जन गरेको सिङ्गो प्रारुप नै आधुनिक नेपालको संरचना हो । यस्तै पूर्वरुप र स्वरुप संरचनाभित्र साना–ठूला, सम्पन्न एवम् विपन्न राज्यहरुको स्थापना, उदय, पतन र विलय पनि एकैसाथ हुँदै आएका हुन् ।
आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक अद्वितीय युगपुरुष हुन् । उनले पाँच दर्जनभन्दा बढी स–साना गणराज्यहरुमा टुक्रा–टुक्रामा विभाजित भएर रहेको तत्कालीन नेपाललाई अत्यन्त सुझबुझ र विवेकका साथ आधुनिक नेपालको निर्माण गरेकै कारण आज हामी यस धर्तीमा उभिएर आत्म–गौरवका साथ बहस गरिरहेका छौं । पृथ्वीनारायण शाहको नेतृत्वमा गरिएको नेपालको एकीकरण अभियान भनेको विश्वका महान् राष्ट्र चीन, जर्मनी, अमेरिका, फ्रान्स, बेलायन, इटालीलगायत राष्ट्रका महान् एकीकरणकर्तासँग मात्र उनको योगदानको तुलना गर्न सम्भव छ। त्यसैैले पृथ्वीनारायण शाह ‘आइरन अफ द म्यान’को उपाधिद्वारा विभूषित जर्मनीका एकीकरणकर्ता ओटोवान विस्मार्कसमान हुन्। गोर्खा दरबारमा विक्रम संवत् १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह २० वर्षकै उमेरमा गोर्खा राज्यका राजा भएका थिए। उनले वि.सं. १८०० बाट नेपाल एकीकरणको अभियान यात्रा आरम्भ गरेर नुवाकोट, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, भादगाउँ र पाटन राज्यमा विजय प्राप्त गरेपछि वि.सं. १८२५ मा कान्तिपुर राज्यमाथि विजयपश्चात् यसलाई आधुनिक नेपालको राजधानी घोषणा गरेका हुन्।
यस विजयसँगै पृथ्वीनारायण शाहले उपत्यकाको मान, शान, सम्मान, इज्ज्जत, आमद, वैभव र उच्चतम मर्यादालाई आत्मसात् गरेका थिए । नेपाल एकीकरणको अभियान यात्रा आरम्भसहित अहम् भूमिका निर्वाह गरेको गोर्खा राज्य नेपाल राज्यमा विलय भयो । यसरी विजेता गोर्खा राज्य पराजित राज्यमा विलय भएको उदाहरण विश्वको एकीकरण इतिहासमा अत्यन्त विरलै भेटिन्छ। यो नै पृथ्वीनारायण शाहको महान् राष्ट्रभक्ति, उदारता एवम् विवेकको परिचायक हो । किनभने त्यति बेलाको सवाल जय–पराजयको भन्दा पनि नेपाल एकीकरणद्वारा सिङ्गो राष्ट्रनिर्माणको पक्षमा केन्द्रीकृत रहेको थियो ।
हाम्रा वीर सपुत पुर्खाहरुले सङ्घर्षका साथ जसरीतसरी आजसम्म बचाइराखेको यो स्वतन्त्र राष्ट्र नेपाल र २५० वर्ष लामो इतिहास भएको संसारकै सबैभन्दा वैभवशाली राष्ट्र संयुक्त राज्य अमेरिकाबीच धेरै सवालमा सन्निकट रहेको छ, जसका बारेमा अलिकति नवीन शैलीमा चर्चा गर्ने सबल उद्देश्य र प्रयास यहाँ गरिएको छ। सर्वप्रथम स्पेन निवासी क्रिस्टोफर कोलम्बसले १९ नोभेम्बर १४९३ मा अमेरिका पत्ता लगाएपछि नै संयुक्र राज्य अमेरिकाको इतिहास प्रारम्भ हुन्छ । कोलम्बसको जन्म सन् १४५१ मा स्पेनमा भएको थियो । स्पेन त्यति बेला युरोपको सभ्य र धन सम्पदाबाट सम्पन्न देश थियो । पृथ्वीनारायण शाह जन्मनुभन्दा २२९ वर्षपहिले अमेरिका पत्ता लागेको थियो भने सन् १७७६ मा अमेरिका स्वतन्त्र हुँदा नेपालको एकीकरण यात्राले आधा काम सम्पन्न गरिसकेको थियो । अमेरिका किङ्डम अफ ग्रेट ब्रिटेनद्वारा ४ जुलाई १७७६ मा स्वतन्त्र भएको घोषणा गरिएको हो, जसले ३ सेप्टेम्बर १७८३ मा मान्यता प्राप्त गर्यो ।
पृथ्वीनारायण शाहको निधन भएको दुई वर्षपछि वि.सं. १८३३ अर्थात् सन् १७७६ मा दुई अमेरिकी विद्वान्का विचारहरुका साथ अमेरिका स्वतन्त्र भएको हो । यसरी हेर्दा आधुनिक नेपालको निर्माण २५७ वर्षमा प्रवेश गरेको छ भने अमेरिका पनि यो यात्रामा २५० वर्षमा प्रवेश गरिसकेको छ । यता पृथ्वीनारायण शाहले राष्ट्रनिर्माणको अचुक अस्त्रका रुपमा नेपाली जनतालाई दिव्योपदेश दिइसकेका थिए । त्यसै कारण संयुक्त राज्य अमेरिकाको आजको युगको चमत्कारी भौतिक विकास भनेको आर्थिक चमत्कार र राजनीतिक चमत्कारको साझा कथा हो, जसलाई शिखरमा पु¥याउन दुईवटा अमेरिकी विचारहरुको महत्वपूर्ण योगदान रहेको छ । राजनीतिक स्वतन्त्रताको लागि आर्थिक स्वतन्त्रता एउटा आवश्यक औजार हो भन्ने सवाललाई अमेरिकी विचारकहरुले राम्रोसँग आत्मसात् गरेका छन् ।
नेपाल एकीकरणका अनुज पृथ्वीनारायण शाहले आफ्नो राज्य गोर्खादेखि पश्चिममा चेपे, मस्र्याङ्दी, त्रिशूली र सप्तगण्डकी नदीभन्दा पूर्वको भूभाग हुँदै विजयपुर चौदण्डीसम्म आधाआधी नेपालमा विजय प्राप्त गरेको अवस्था थियो, तर त्यति नै बेला उनका भाइहरुले अब जितेको भूभाग अंशवण्डा गर्नुपर्यो भन्नेजस्ता आशय व्यक्त गरिरहँदा पृथ्वीनारायण शाहले त्यसलाई अस्वीकार गरिदिँदा भाइ–भाइका बीचमा मनमुटावको अवस्था पनि सिर्जना भयो । विभिन्न टुक्रा–टुक्रामा रहेको तत्कालीन नेपाललाई एउटा सिङ्गो र बलवान् राष्ट्र निर्माण गर्ने अभियानमा सहयोग गर्न भाइहरुलाई उनले पुनः आग्रह गरेका थिए । विशेष गरी उनका भाइ दलमर्दन शाह व्यक्तिगत स्वार्थका निम्ति राष्ट्रलाई पुनः विभाजन गर्ने पक्षमा देखिए । राष्ट्र त एउटा अखण्डनीय तत्व हो, जसबाट सबैलाई समान अवसर प्राप्त हुन्छ भन्ने आधारलाई आत्मसात् गर्न दलमर्दनले सकेनन् वा बुझेनन् । बरु म राजा हुन्न तिमी नै राजा होऊ, तर राष्ट्र विभाजन गर्नुहुँदैन भन्ने पृथ्वीनारायण शाहको उदारता कति महान् थियो ? यही वेदनालाई लिएर राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा ६ दशकपहिलो राष्ट्रनिर्माता शीर्षकृत कालजयी सुन्दरकाव्य सिर्जना गरे, जुन काव्यको मर्म आजको २१ औं शताब्दीमा पनि जातीय राज्यको माग गर्ने र सङ्घीयताको नाउँमा राष्ट्र टुक्र्याउन उद्यत् रहेकाहरुको लागि एउटा अचुक अस्त्र बनेर रहेको यी दुई श्लोकले जे बोल्छ त्यही नै सत्य हो–
एकै पिताका सब बाह्र भाइ
बाँडेर जेथा थर बाह्रलाई
हामी बसेनौँ किन गोरखैमा
र निस्कियौँ आर्जन–पौरखैमा !
खेलेर ऐह्रा मृग एक मारी
बाँडी कलेजो जति छन्, सिकारी
बिलो लिएझैँ शरमा उनेर
यो राज्य बाँड्ने चिज हैन हेर !
कति मार्मिक, कति हृदयविदारक अनि कति मर्मस्पर्शी छन् यी काव्यिक सिर्जना, जसले यो राष्ट्रका महान् धर्तीपुत्र पृथ्वीनारायण शाहको सुन्दर परिकल्पनालाई जीवन्तता प्रदान गरेको छ । इतिहास र समयको सम्मानविना सभ्य समाजको निर्माण र देशको विकास सम्भव हुँदैन । यो विश्वजगत्को सर्वमान्यता पनि हो । हाम्रो मुलुकले यस कुरालाई अङ्गीकार गर्दै आएको पनि हो । तर यो देशमा २०६२÷०६३ को राजनीतिक परिवर्तनपश्चात् विकसित भएको बाँदरे चरित्रबाट हाम्रा तमाम वीर पुर्खाहरुले आर्जन गरेको योगदानप्रति घोर अपमान गर्ने काम भइरहेको छ । इतिहासका जहिले पनि सकारात्मक र नकारात्मक दुई पाटा हुन्छन् । त्यसलाई समयनिरपेक्ष होइन, समयसापेक्ष भएर जहाँ र जहिले पनि मूल्याङ्कन गरिन्छ, तर यहाँ त राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलगायत हाम्रा कैयौँ अग्रजहरुलाई तथानाम गालीगलोज गरेर आक्रोश पोख्ने क्रममा इतिहासलाई सत्तोसराप्नेहरु आफूले आफूलाई महान् ठान्छन्, कति तल्लो स्तरको चिन्तन हो यो ?
यो राष्ट्रको पक्षमा पृथ्वीनारायण शाहको योगदान कति समर्पित छ ? त्यसबारे अध्ययन, मूल्याङ्कन गर्ने अलिकति पनि क्षमता उनीहरुमा देखिँदैन । इतिहासको सकारात्मक पाटोलाई सहज चिन्तन गर्दै अगाडिको सुगम यात्रा बनाउँदै जाने हो, तर यहाँ त केही पठित पाखण्डीहरुद्वारा केवल नकारात्मक चिन्तन मात्र समाजलाई पस्कने काम भइरहेको छ । समयको गति कहाँबाट कहाँ पुगिसक्यो ? इतिहासको एक कालखण्डमा २४० वर्षको समयलाई सत्तोसराप गरेर नथाक्नेहरुले नेपाली समाजलाई एउटा जवाफ दिन सक्नुपर्यो । त्यो के भने, वि.सं. १८२५ भन्दाअगाडि रहेका भुरेटाकुरे राज्य रजौटाहरुसहितको नेपाल के ठीक थियो ? इतिहासविरोधी धेरै भिजिलान्तेहरुले यसको जवाफ दिन सक्नुपर्यो, हैनभने पृथ्वीनारायण शाहको योगदानलाई चरम अपमान गर्दै विष वमन गर्नेहरुसँग के यो आँट छ ? के यसलाई समर्थन गर्ने तागत र क्षमता उनीहरुसँग छ ? आजका जनता के यसलाई स्वीकार गर्न चाहन्छन् ? प्रश्न यहाँनेर छ । राष्ट्रनिर्माणको अचुक औषधि र अस्त्रको रुपमा रहेको उत्कृष्ट सिर्जना दिव्योपदेश पृथ्वीनारायण शाहको कृति नै होइन भन्ने उग्र पाखण्डी सुण्डमुण्डहरुले जवाफ दिन सक्नुप¥यो ।
आजीवन राष्ट्रनिर्माणको युद्धमै समय खर्चेका पृथ्वीनारायण शाह सदाझैँ जाडो छल्न वि.सं. १८३१ पुसमा आफ्नो पुरानो अन्तरिम राजधानी नुवाकोट गएको बेला सिकिस्त बिरामी परेका थिए । त्यतिखेर पृथ्वीनारायण शाहले नुवाकोट दरबारमा आफ्ना सबै भाइभारदारहरुलाई बोलाएर तीन दिनसम्म नेपालको भू–राजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकास प्रसङ्गमा जुन सार कुरा भनेका थिए, तिनलाई दिव्योपदेश शीर्षकमा सङ्कलन गरिएको छ । यस दिव्योपदेशको सङ्कलन इतिहास शिरोमणि बाबुराम आचार्य र इतिहासकार योगी नरहरिनाथजस्ता प्रकाण्ड विद्वान्द्वारा संवत् २००९ सालमा प्रकाशित गरिएको हो। पृथ्वीनारायण शाहद्वारा दिव्योपदेशमा व्यक्त आफ्ना दूरदृष्टिहरु, भाव तथा विचारहरु प्रखर राष्ट्रवादको रुपमा अभिव्यक्त हुन पुगेका छन् । आजको हाम्रो सुन्दर, स्वाभिमान तथा मातृभूमि नेपाल निर्माण गर्ने सुयोग्य परिकल्पनाकार पृथ्वीनारायण शाहको निधन वि.सं. १८३१ साल माघ १ गते ५२ वर्षको उमेरमै त्रिशूली र तादी नदीको पवित्र सङ्गमस्थल देवीघाट, नुवाकोटमा भएको हो।











प्रतिक्रिया