काठमाडौं ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी वरिष्ठ उपरीक्षकको बढुवाका लागि तीव्र लबिङ शुरू भएको छ। नेपाल प्रहरीको ११४ टोलीबाट एसएसपी बढुवाका लागि शक्ति केन्द्र अहिले चलायमान भएको छ।
सो टोलीका ३८ जनामध्ये तीन जना एसएसपी बढुवाको लिस्टबाट बाहिर छन् भने रिक्त रहेको २५ एसएसपीका लागि ३५ जना भिडेर लागेका छन्। २०५८ साल साउन १८ गते प्रहरी निरीक्षकमा भर्ना भएकामध्ये २०७५ फागुन २०७७ वैशाखमा प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरू अहिले एसएसपी बढुवाका लागि भिडेर लागेका छन्।
सो ब्याजको २०७५ फागुनमा १७ जना र २०७७ वैशाखमा २१ जना एसपीमा बढुवा भएका थिए। यी दुई समूहबाट नै एसएसपी बढुवा हुने गरी काम भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। बढुवाका लागि जिल्लामा रहेका एसपीहरू अहिले काठमाडौं आएर बसेका छन् भने काठमाडौं नै कार्यक्षेत्र भएकाहरू विभिन्न शक्ति केन्द्रमा बढुवाका लागि लागिपरेका छन्।
पहिलो लटमा एसपीमा बढुवा भएकाहरूमा गोविन्द अधिकारी, विनोद सिलवाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर रहनुभएको छ । उहाँहरूको बढुवा २०७५ फागुनमा भएको थियो ।
त्यस्तै, २०७७ साल वैशाखमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, वेद विष्ट, दयानिधि ज्ञवाली, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दिपेन्द्र शाही, रामप्रकाश साह, प्रवीण धिताल, राजेन्द्रप्रसाद धमला बढुवा हुनुभएको थियो । यही टोलीबीच बढुवाका लागि प्रतिस्पर्धा चलिरहेको छ।
केही दिनअघिदेखि नै एसएसपी बढुवाको तयारी गरेको भए पनि उच्च राजनीतिक दबाबका कारण पटकपटक नाम राख्ने र झिक्ने काम भइरहेको पनि प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। अहिले गृह सचिव गोकर्णमणि दवाडी र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच बढुवाका विषयमा पटकपटक मिटिङ, फोन वार्ता भए पनि एकमत हुन नसक्दा बढुवा समितिको बैठक पनि बस्न सकेको छैन।
गृहमन्त्री रमेश लेखकले मध्यपश्चिम र सुदूरपश्चिम हेर्न थालेको र बढुवामा प्रधानमन्त्री केपी ओलीले समेत आफ्नो सक्रियता देखाएकाले राजनीतिक लबिङ तीव्र भएको बताइएको छ।
प्रतिक्रिया