काठमाडौं ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विभागीय प्रमुखसँग समस्या समाधान होइन कर्मचारीलाई चेतावनी दिनुभएको छ। उहाँले प्रमुख बालेन्द्र साह थाइल्यान्ड भ्रमणमा भएका बेला विभागीय प्रमुखलाई कार्यकक्षमा बोलाएर चेतावनी दिनुभएको हो।
प्रमुख साहको पछिल्लो चरणको कारबाहीको विषयमा छलफल गर्न बोलाएकी उपमेयर डंगोलले विभागीय प्रमुखहरूलाई विचार गरेर काम गर्न चेतावनी दिनुभएको हो । उहाँले कानुनविपरीत मौखिक आदेशको भरमा काम नगर्न आग्रह गर्नुभयो। उपमेयर डंगोलको भनाइप्रति चकित हुँदै विभागीय प्रमुखहरूले उपमेयरले प्रमुख साहकै पक्षमा वकालत गरेको आशंका व्यक्त गरेका थिए।
उनीहरूको एउटै भनाइ थियो– ‘उपमेयरज्यूले मेयरको पछिल्लो गतिविधिविरुद्ध डिफेन्स गर्नुहुन्छ भन्ने लागेको थियो, उल्टै धम्क्याउनुभयो । हामी कसले कनुनविपरीत काम गरेका थियौं र ? कानुनको कुरा सिकाउने कि समस्या समाधान गर्ने बाटो खोज्ने?’
‘अघिल्लो मेयर विद्यासुन्दर शाक्यको कार्यकालयमा उममेयर हरिप्रभा खड्गीले गरेको डिफेन्सलाई सर्वत्र प्रशंसा भएको थियो। अहिलेको उपप्रमुख डंगोल मेयर साहको पक्षमा उभिएको मात्र देखिएको छ। एमालेबाट उपप्रमुख निर्वाचित डंगोलको कामप्रति पार्टीमै कुरा उठेको छ । उहाँले गरेको कामको पार्टीमा समेत मूल्याङ्कनको विषय बनेको छ।
‘प्रमुख साहले प्रमुख प्रशासकीय प्रमुख सरोज गुरागार्इंमाथि गरेको कारबाहीको विषयमा उपमेयरले एक शब्द बोल्न सक्नुभएको छैन । ‘सरकार आफ्नै थियो, प्रमुख साहले ५ लाख जरिवाना गरेको विषयमा उमप्रमुख डंगोलले कुनै प्रयास गरेको देखिएन, उहाँले समस्या समाधान गर्ने पहल गर्न सक्नुहुन्थ्यो तर समस्या समाधान नगरेर उल्टै कर्मचारीलाई चेतावनी दिने गर्नुभएको छ’ –स्रोतको भनाइ छ।
‘सरकार आफ्नै पार्टीको छ । महानगरको समस्या समाधान गर्न सक्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो तर मेयरको लहलहैमा लागेर केही गर्न सक्नुभएन । उपप्रमुख डंगोलले मेयर साहले गरेका अधिकांश कामको प्रसंशा गर्नुभएको छ। उपप्रमुखको काम नै बुझ्न सकिएको छैन’ –विभागीय प्रमुखको भनाइ छ।
विभागीय प्रमुखको बैठकमा वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले प्रमुख प्रशासकीय नभएको कारण कुनै पनि भुक्तानी दिन नसकिने बताउनुभएको थियो । राजस्व विभागका दीपक अधिकारीले यस्तो अवस्थामा महानगर चल्न नसक्ने बताउनुभयो । महानगरभित्र देखिएको समस्या समाधान गर्न प्रमुख र उपप्रमुख लाग्नुपर्ने उहाँको भनाइ थियो।
स्वास्थ्य विभाग प्रमुख दीपक केसीले पुसदेखि ३२ वडामा खटिएका चिकित्सकलाई तलब खुवाउन नसकेर बिदा दिनुपर्ने अवस्था आउने जानकारी दिनुभयो । वातावरण विभाग प्रमुख सरिता राईले टेकुलाई कामपाले डम्पिङ साइट बनाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘फोहोर पनि यही, कुकुर पनि यही भएभरका काम नलाग्ने सामान थुपारेका कारण विभागलाई काम गर्न समस्या परेको छ ।’
बैठकमा सूचना विभाग प्रमुख अनिरुद्र नेपाल, सामाजिक विभाग प्रमुख सदीक्षा निरौला, सहरी व्यवस्थापन विभागका हरिश्चन्द्र लामछाने, सार्वजनिक निर्माणका सुरज शाक्य, प्रशासन विभागमा रहेर कामविहीन बनाएका निर्देशक महेश काफ्ले, निमित्त प्रशासन विभाग प्रमुख, सम्पदा विभाग प्रमुख कुमारी राई, कृषि तथा पशुपंक्षी विभाग प्रमुख नूरनिधि न्यौपाने, सहकारी विभाग प्रमुख नमराज ढकाल, सार्वजनिक निजी साझेदारी विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यलगायतका उपस्थित थिए।
सहकारी विभाग प्रमुख ढकालले सहकारी नियमनलाई कडाइ गरिएको बताउनुभयो।
पीपीपी प्रमुख बज्राचार्यले काठमाडौं टावरको निर्माण सम्पन्न गर्न ताकेता गर्नुभयो । उहाँले टावर निर्माण प्रक्रिया कानुनसम्मत रहेको तर्क गनुभयो । बैठकमा कानुन विभाग प्रमुख वसन्त आचार्य, खरिद प्रमुख रामरतन शाह, अनुगमन इकाइका वरिष्ठ शाखा अधिकृत रमेश घिमिरे, प्रशासन विभाग प्रमुख धु्रव काफ्लेको उपस्थिति थिएन ।
राजीनामा दिएका शर्मा फेरि काममा फर्किए
काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख गोविन्दप्रसाद शर्माले राजीनामा फिर्ता लिएर काममा फर्कनुभएको छ। कामपाका प्रमुख बालेन्द्र साहको अनुरोधमा करिब साता दिनअघि दिनुभएको राजीनामा फिर्ता लिएर काममा फर्कनुभएको हो।
१५ महिना कार्यकाल बाँकी रहँदा कामपाको प्रशासकीय प्रमुखको पदबाट राजीनामा दिनुभएका शर्मा पुनः काममा फर्किएपछि कर्मचारी अचम्मित भएका छन् । विभिन्न दबाब आउन थालेपछि घरायसी कारण देखाउँदै राजीनामा दिनुभएका शर्मा पुनः प्रमुख प्रशासकीयको कुर्सीमा बसेर काम गर्न थाल्नुभएको छ ।
आर्थिक अधिकार लिन नचाहेका शर्मालाई प्रमुख साहले तत्काल काम टार्न प्रशासकीय प्रमुखकै जिम्मेवारीमा रहन आग्रह गरेलगत्तै उहाँ बिहीबारबाटै काममा फर्कनुभएको हो। कामपा शिक्षा विभागको प्रमुखको जिम्मेवारीमा आउनुभएका शर्मा १०औं तहका वरिष्ठ अधिकृत हुनुहुन्छ । उता, प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत माग गर्दै शुक्रवार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र पठाउनुभएको छ । मन्त्रालयले तत्काल प्रमुख पठाउने सम्भावना देखेको छैन ।
फेरि सल्लाहकारकै संयोजकत्वमा दोस्रो समिति
काठमाडौं टावर निर्माण प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नक्सापास गर्दा हार्डकपीमा हस्ताक्षर गरेको विषयमा अनुसन्धान गर्न कामपाका अर्का सल्लाहकार एवं पूर्वसचिव शंकरप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको छ। संयोजक पाण्डे कामपाकै प्रशासनिक सल्लाहकार हुनुहुन्छ।
यसअघि समितिको संयोजकमा पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल रहनुभएको थियो। समितिको सदस्यमा महानगरको सहरी योजनाका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र कानुनी सल्लाहकार महेश नेपाल हुनुहन्छ। नेपाल कामपाका कानुनी सल्लाहकार हुनुहुन्छ भने राजभण्डारी सहरी योजना आयोगका अध्यक्ष हुनुहुन्छ।
प्रमुख साहले पुस १४ गते सम्पन्न १६औं अधिवेशनलगत्तै समिति गठन गर्नुभएको थियो । पहिलो समितिका संयोजक पौडेलले कानुनी सल्लाहकारबाट समेत राजीनामा दिनुभएको थियो । समितिका संयोजक पौडेलले पत्र नबुझ्दै राजीनामा दिनुभएको थियो।
नयाँ समितिले शुक्रवार पत्र बुझेर काम शुरू गरेको कामपा स्रोतले जनाएको छ। प्रमुख साहले स्वतन्त्र समिति बनाएर छानबिन गर्न नसकेर कामपाकै सल्लाहकारलाई समितिमा राख्नु अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया