काठमाडौं ।
सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। अध्यादेशमा सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ।
सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउनेगरी अध्यादेशमार्फत कानुन संशोधन हुने भएको छ। शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकास उमेर ५८ बाट ६० वर्ष कायम गर्ने प्रावधान पनि अध्यादेशमा गरिएको छ। गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने व्यवस्था अध्यादेशमा गरिएको छ।
यसै गरी सरकारले ल्याएको अध्यादेशमा कसुर (अपराध)जन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसपछि अब राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्नेछन् । राष्ट्रपतिबाट जारी भइसकेपछि अध्यादेशले कानुनी प्रावधान पाउनेछ।
प्रतिक्रिया