विनयी पुल भासियो, पूर्व-पश्चिमको आवागमन ठप्प


नवलपरासी ।

पूर्वी नवलपरासीको दम्किबास स्थित विनयी खोलाको पुल शुक्रबार भासिएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गकाे  पुल भासिए पछि सम्पूर्ण आवत जावत बेलुका ५ बजेबाट ठप्प भएको छ ।

मुख्य सडक मार्गको पुल एकाएक भासिए पछि डाइभर्सन बनाई यातायात सुचारु गर्ने प्रयास भई रहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।

दम्किबास बजार पूर्वकाे विनयी खोलाको लामाे फलामे पुल भासिदा बीचबाटै भाचिएकाेले एउटा  सवारी पुलमै फसेका छन् ।

झन्डै  ५० वर्ष पुरानो पुल जीर्ण भई सकेकाे र अत्यधिक लाेड बाेकेका मालबाहक सवारीकाे चाप पर्न गई पुल ठाउँ ठाउमा भाचिएकाे स्थानीयहरू बताउँछन् ।

विगत केही दिन देखि चलेको शितलहरका कारण दाउन्ने खण्डमा सडक चिप्लो हुन गई सवारी जाम लागेकोमा झन् पुलै भासिदा यात्रुहरू मर्कामा परेका छन् ।

यहाँ बाटो चिप्लो र हिलाम्मे हुँदा बिहीबार बुटवल नारायणगढ खण्डकाे दाउन्ने आसपास झन्डै २५ किलोमिटर सम्म सवारी लाम लागेकाे स्थानीयले बताए ।