देशका अधिकांश विश्वविद्यालयमा अध्ययन गर्ने छात्राको संख्या ह्वात्तै बढेको छ । यसले छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । छोराछोरीलाई समान अधिकारसहित पठनपाठनको व्यवस्था गर्नु आमाबाबुको कर्तव्य पनि हो । पछिल्लो समय छोराछोरीलाई पठनपाठनमा समान अधिकार दिएको पनि पाइन्छ।
यसरी समान व्यवहार गर्दा तुलनात्मकरुपमा छोरीले नै प्रगति गरिरहेका छन् । यसको पछिल्लो उदाहरण देशका सबै विश्वविद्यालयमा छात्राको संख्या अप्रत्यासितरुपमा बढ्नु हो । आजभन्दा करिब एक दशकअघि ‘छोरीलाई पढाउनुहुँदैन, घरको काममा लगाउनुपर्छ, पढाए पनि घरको काम सकेर सरकारी वा तल्लो स्तरको शिक्षालयमा पढाउनुपर्छ’ भन्ने परिवारको दरिद्र मानसिकताको कारण छोरीले पढाइमा खासै प्रगति गर्न सकेका थिएनन् । यस मान्यताको ठीक उल्टो पछिल्लो समय छोरीहरुले पढाइमा उत्कृष्ट स्थान हासिल गरेको पाइएको छ ।
हालै सम्पन्न त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा पदक र पुरस्कार पाउने सूचीमा छात्राहरु अब्बल देखिएका थिए । २३ मध्ये १७ छात्राले मात्र पुरस्कार र पदक हात पार्न सफल भएका थिए । यसले के देखाउँछ भने, पढाइमा छात्रभन्दा छात्राहरु बढी मेहनती र अब्बल छन् । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (इमिस) मा छात्राको संख्या बढेको देखाएको छ । विश्व विद्यालयगतरुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत ४ लाख ९१ हजार २ सय ९९ मध्ये ५८ दशमलव ४ प्रतिशत छात्रा छन् । छात्रको संख्या ४२ प्रतिशत मात्र छ । त्रि.वि.मा स्नातक तहमा छात्राको संख्या बढी छ। सो तहमा ५७ दशमलव ६१ प्रतिशत अध्ययनरत छन्।
देशभरका विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थामा ६ लाख ३३ हजार ५३ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७४ दशमलव ८, नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) मा ७४ दशमलव ३ प्रतिशत छात्रा अध्ययनरत छन् । अनुपातमा ७१ दशमलब ८९ प्रतिशत छात्रा विभिन्न विश्वविद्यालयका संकायहरुमा अध्ययरत छन् । मेडिसिनमा ५९ दशमलव ४७, व्यवस्थापन संकायमा ५७ दशमलव ५४ प्रतिशत छात्रा अध्ययनरत छन् । मानविकी तथा सामाजिक संकायमा समेत छात्राको संख्या बढेको छ । सो संकायमा ५३ दशमलव ६८ प्रतिशत छ। तथ्यांगतरुपमा त्रि.वि.मा ४ लाख ९१ हजार २ सय ९९ अर्थात् ७७ दशमलव ६१ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा मात्र होइन, विद्यालय तहमा पनि छात्राको संख्या बढेको पाइएको छ ।
आमाबाबु र समाजको चेतनास्तर वृद्धि भएकोले पनि होला, छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता बढेको छ । त्यसको परिणामस्वरुप विद्यालयदेखि विश्वविद्यालसम्म छात्राको संख्या बढेको हो। छोरालाई मात्र होइन, छोरीलाई पनि पढाउनुपर्छ भन्ने सोचमा वृद्धि भएका कारण छात्राको संख्या बढ्दो क्रममा छ । सरकार र समुदायले पनि छोरीलाई आफ्नो खुट्टामा उभ्याउन पढाउनै पर्छ भन्ने मान्यता स्थापित गर्न सबैको सहयोग महत्वपूर्ण हुन्छ । त्यसैले यस विषयमा सबैको हातेमालो आवश्यक हुन्छ ।
प्रतिक्रिया