न्यायिक विकृतिविरुद्ध जुर्मुराउला त सर्वोच्च बार ?

564
Shares

निश्चित अवधिपछि भइरहने विभिन्न संघ–संगठनहरुको निर्वाचनहरुमध्ये कानुनी र सामाजिक अभियन्तामा दरिएका विशेष गरी रिस उठेको बेलामा पोखिने उद्गार ‘कालोकोटेहरु’को जमघट हुने ठाउँ सर्वोच्च बारको निर्वाचन गएको शनिबार सम्पन्न भएको छ। हुन त प्रत्येक दुई–दुई वर्षमा भइरहने यो निर्वाचनले न्यायिक विचलन हटाउन भूमिका खेल्नेछ भन्ने आशा गरेर बसेकाहरु सदैव निराश नै हुन पुगेका छन्।

प्रायः विकृतिलाई नै मलजल गरी आफ्नो स्वार्थ पूरा गरिरहने कुनै–कुनै कालोकोटेहरुले यो शीर्षक र आलेख पढ्न भ्याए भने बारमा के विकृति छ ? भनेर प्रश्न पनि उठाउन सक्लान्। तर यो कुरा जसले उठाउँछ उसका लागि ठीक नै होला, किनभने न्यायिक विचलन गराउन सकिएन भने उनीहरुको स्वार्थमा धक्का लाग्ने पक्का छ। त्यसैले न्यायिक विचलनकर्ताहरु यी र यस्ता कुराबाट तर्सिनु स्वाभाविकै हो।

थुप्रै न्यायिक मन भएका कालाकोटेहरुको बार स्थापनादेखि लिएर अहिलेसम्मको अवस्थालाई गहन अध्ययन गर्ने हो भने वर्तमानको जस्तो न्यायिक विचलनहरु २०४६ सालअघि खासै देखा परेका थिएनन् भन्ने बुझाइ रहेको छ। वास्तवमा हुनुपर्नेचाहिँ २०४६ पछि अग्रज र अनुभवी कालाकोटेहरुले यस विषयमा ध्यान पुर्‍याई भर्खर उदयीमान हुन लागेका कालाकोटेहरुप्रति कुनै पनि बेला हाबी हुन सक्ने दलीय प्रवृत्तिलाई बेलैमा खबरदारी गराउँदै मात्र कानुनी शासनको निरन्तरता, न्यायपालिकाको सुदृढीकरण र कालाकोटेहरुको विभिन्न क्षमता अभिवृद्धि अनि अन्य पीडितहरुको हितसम्बन्धी मुद्दाहरुलाई मात्र प्राथमिकता दिएर सबल संगठन बनाई आउने युवा पुस्ताका कालाकोटेहरुलाई नेतृत्व हस्तान्तरण होला कि भन्ने आशामा बसेका प्रायः कालाकोटेहरु आजको मितिसम्म आइपुग्दा जिल्लिएको जिल्लिएकै छन्।

दलीय आस्था जे भए पनि र मनमा जे कुरा राखे पनि हामी कालाकोटधारीहरुले चाहे उम्मेदवारको रुपमा होस्, चाहे सामान्यरुपमा होस्, ‘हामी वकिलहरु आफ्नो व्यावसायिक हितका लागि अनि राजनीतिक हस्तक्षेपका विरुद्ध, सुशासन, कानुनको शासन अनि न्यायपालिकाको सुदृढीकरणमा हाम्रो प्रतिबद्धत्ता रहनेछ’ भनेर नै बोल्दै हिँड्ने हो। त्यस कार्यको लागि प्रतिबद्ध भएर लाग्नेछौँ भनेर हल्ला गर्ने नै हो।

विडम्बना, बार बारको रुपमा रहन नसकेर अवस्थाअनुसार दलीय पक्ष–विपक्षमा रुपान्तरण हुन गई दलीय नेतृत्व अथवा खुङ्खांर राजनीतिक व्यवसायीहरुले जुन भाषा बोल्छन् त्यही भाषालाई समर्थन गर्ने र वकालत गर्ने संस्थाको रुपमा कालाकोटेहरुको संस्था चित्रित हुन पुग्यो। सरसर्ती कालाकोटेहरुलाई प्रायः तीन वर्गमा राखेर मूल्यांकन गर्ने गरिन्छ । पहिलो कानुनी र सामाजिक अभियन्ता, दोस्रो कानुनी अभियन्ता मात्र र तेस्रो सामाजिक अभियन्ता मात्र । पहिलो अभियन्ता कानुनी र सामाजिक अभियन्तामा पर्न जाने कालाकोटे साथीहरुले चाहिँ देशमा भएको कानुनको माध्यमबाट समाजमा भैरहेको र देखिइरहेको सामाजिक विचलनलाई यथास्थानमा ल्याउन सहयोग पु¥याई समाजमा सुशान्ति कायम राख्ने सवालमा पनि योगदान पुर्‍याएका हुन्छन् ।

दोस्रो वर्ग अर्थात् कानुनी अभियन्तामा मात्र रुचि राख्ने कालाकोटेहरु जसले प्रचलित कानुनको सेरोफेरोमा मात्र रही सेवा प्रदान गर्ने गर्दछन् । धेरै संंख्यामा कालाकोटेहरु यसै वर्गभित्र पर्दछन् । यस वर्गमा पर्न जाने कालाकोटेहरुले कानुनमा भएका छिद्रहरु केलाएर सेवाग्राहीहरुले चाहेअनुसारको सेवा प्रदान गर्ने जमर्काे गर्दछन्। व्यावसायिक किसिमले यस खालका कालाकोटेहरु संख्यात्मकरुपमा बढी नै हुन्छन् । यही वर्गलाई राजनीतिक व्यवसायीहरुले मिल्ने, नमिल्ने गरी खेलाउने कार्य गर्दै आइरहेका छन्। आजको दिनसम्म आइपुग्दा यस वर्गमा पर्ने कालाकोटेहरु दलीय दासताबाट मुक्त हुन सकिरहेका छैनन्।

यदाकदा प्रयास गरे पनि कुनै पनि बेला गरिएको सानो वा ठूलो गलत कार्यको फेद समाएर तर्साउने कार्य राजनीतिक व्यवसायीहरुले गर्दै आएका छन्। त्यस्तै तेस्रो वर्गमा पर्ने केही कालाकोटेहरु सामाजिक अभियन्ताको रुपमा मात्र आफूलाई राख्ने प्रयास गरिरहेका छन्। यस वर्गका कालाकोटेहरुले कानुनको ज्ञान हासिल गरेको भए तापनि कानुनको छिद्र मात्र नखोजी पीडितरुको हकको बारेमा कुरा उठाइरहेको देखिन्छ। सँगसँगै यस वर्गका कालाकोटेहरु प्रायः गरी सामाजिक मूल्य–मान्यतालाई स्थापित गर्ने सवालमा लागिपरेका हुन्छन्।

जघन्य अपराधमा संलग्न कुनै पक्षले आफ्नो पक्षमा पूरा सफाइ पाउने वकालतको लागि अनुरोध गर्न आएमा पनि जतिसुकै रकम खर्च गर्छु भने तापनि त्यो कुरालाई ठाडै इन्कार गर्दै पूरा सजायमा सफाइ पाउन सकिँदैन, सजायमा केही कमी ल्याउने सवालमा वकालत गर्न सकिन्छ भन्ने अडानमा रहन्छन् यस खालका कालाकोटेहरु । यस्ता खालका कालाकोटेहरुसँग व्यावसायिक मुद्दामामिला हुँदै हुँदैन भने पनि हुन्छ । फौजदारी प्रकृतिको मुद्दादेखि बाहेक अन्य जुनसुकै मुद्दाहरुमा पनि पक्षहरुलाई मिल्ने कुरामा नै जोड दिन्छन् यिनीहरु ।

यी विभिन्न वर्गमा रहेका कालाकोटेहरुको छाता संगठन जिल्ला, उच्च, सर्वोच्च हुँदै नेपाल बारसम्मको निर्वाचन प्रत्येक दुई–दुई वर्षमा हुने गर्दछ । त्यसै अनुरुप गएको शनिबार अर्थात् पुस २० गतेका दिन सर्वोच्च बारको निर्वाचन सम्पन्न भयो । यसपालिको निर्वाचनमा दलीय ध्रुवीकरणमार्फत उम्मेदवारी दर्ता भएको भए तापनि एउटा राम्रो पक्ष के देखिन पुग्यो भने, मौखिक प्रचाप्रसार मात्र हुन पुग्यो, कागजी प्रचारप्रसार पूरै बन्द भयो, जुन खुशीको कुरा हो । तथापि थुप्रै कालाकोटेहरुको आत्माको आवाजचाहिँ जुनसुकै बारको निर्वाचन भए पनि नेतृत्व चयनका सवालमा राजनीतिक गन्धबाट अलि टाढै रहेर नेतृत्व चयन भए हुन्थ्यो भन्ने नै हो । जुनसुकै तहका बारमा नेतृत्व लिनेहरु जुनसुकै दलसँग आबद्ध भएको भए तापनि कम्तीमा पनि बारलाई स्वतन्त्र राख्न नै योगदान दिनुपर्दछ भन्ने मान्यतालाई स्थापित गराउन असफल नै हुन पुगेका छन्।

कालाकोटेहरु जुन–जुन दलीय आस्थामा विभक्त भए पनि कम्तीमा निर्वाचनको बेला कालाकोटेहरुले दलीय भक्तिबाट उन्मुक्ति प्राप्त भएको सन्देश प्रवाह गरी विशुद्ध निर्वाचनमार्फत अझ साँच्चै भन्ने हो भने निर्विरोधरुपमा नेतृत्व चयन भएर, दलीय आशक्तिमा भिजेर जस–जसले दुर्नियत राखी बार र न्यायालयलाई यो अवस्थामा ल्याइपुर्‍याएका छन्, तिनीहरुलाई कानुनी कठघरामा उभ्याउन सघाउ पुर्‍याएको दिनपछि मात्र कुनै पनि बारको निर्वाचन सार्थक भएको मानिन्छ । अस्ति भर्खरै भएको सर्वोच्च बारको निर्वाचनमा पनि दलीय विभक्त भइछाडयो । होइन त्यसो नहुँदो हो त कालाकोटेहरु जुन–जुन दलीय आस्थामा विभक्त भए पनि एउटै स्व–घोषणामार्फत आफ्नो कार्यकालमा गरिने कार्यहरुको फेहरिस्तसहित सार्वजनिक गर्दै निर्विरोध निर्वाचित भएको सन्देश प्रवाह हुनुपथ्र्यो ।

दलीयकरणले गर्दा यसको असर अर्को विषयमा पनि पर्न गएको छ भन्छन् केही कालाकोटेहरु। प्रायः प्रत्येक बारको निर्वाचन महँगो पर्दै गएको छ। एउटा छाता संगठनको निर्वाचनमा थुप्रै खर्च गर्नुपर्ने अवस्थाको सिर्जना गराइएको छ। निर्वाचनमा नाम मनोनयन गर्ने शुल्कदेखि लिएर सबै प्रदेशमा रहेका सम्बन्धित मतदाताहरुलाई आफूप्रति आकर्षित गराउन गरिने तामझाम, गोप्य छलफल, विविध अश्वासन र सार्वजनिक हुन जाने प्रचारप्रसारका तडकभडकले विशेष गरेर नेपाल बारको निर्वाचनमा स्थान पाउने गरेको छ।

भर्खरै सम्पन्न भएको सर्वोच्च बारको निर्वाचनबाट जो–जोले विजय हासिल गरे पनि न्यायिक विकृतिको अन्त्यमा एकजुट भएर लाग्नेछन् भन्ने कुरामा सरोकारवालाहरु अझै विश्वस्त हुन सकिरहेका छैनन्। त्यसको एउटै कारण हो विजयी हुन नसकेका उम्मेदवारहरुले विजय भएकाहरुलाई आवश्यक कार्यमा सहयोग नपुर्‍याउनु। यस अर्थमा सबै मिलेर संयुक्तरुपमा उम्मेदवारी दिएर विभिन्न बारहरुमा मौलाइरहेको दलीय विकृतिविरुद्ध आवाज उठाउलान् भनेर आशामा रहेका केही कालाकोटेहरुको सपना यसपालि पनि पूरा होलाजस्तो संकेतचाहिँ देखिएको छैन, तथापि यो अनुमान झुट्टा हुन पुगोस् ।

कुनै पनि बारमा दलीय विकृति अन्त्य गर्न चाहेको भए कालाकोटे साथीहरुले र अग्रजहरुले हस्तक्षेप गरेर भए पनि दलीय हस्तक्षेप बन्द गर्न सक्थे । सो कार्य गर्न धेरै समय लाग्दैनथ्यो। दलीय आस्था जे भए पनि र मनमा जे कुरा राखे पनि हामी कालाकोटधारीहरुले चाहे उम्मेदवारको रुपमा होस्, चाहे सामान्यरुपमा होस्, ‘हामी वकिलहरु आफ्नो व्यावसायिक हितका लागि अनि राजनीतिक हस्तक्षेपका विरुद्ध, सुशासन, कानुनको शासन अनि न्यायपालिकाको सुदृढीकरणमा हाम्रो प्रतिबद्धत्ता रहनेछ’ भनेर नै बोल्दै हिँड्ने हो । त्यस कार्यको लागि प्रतिबद्ध भएर लाग्नेछौँ भनेर हल्ला गर्ने नै हो । यदि बारम्बार फलाकिरहने यो कुरालाई सत्यमा परिणत गराउने प्रयास हुन्थ्यो भने सबै इच्छुक उम्मेदवारहरुलाई एकै स्थानमा भेला गराई प्रत्येक इच्छुक उम्मेदवारको बारलाई बारकै रुपमा कायम राख्ने रणनीतिबारे चर्चा–परिचर्चा गराइन्थ्यो । र, सकेसम्म निर्विरोध उम्मेदवारीको चयन हुने वातावरणको सिर्जना हुनुपथ्र्यो भन्ने धारणा विगतदेखि नै रहिआएको थियो ।

सर्वोच्च बारको भर्खरै भएको निर्वाचनमा यो कुराले मूर्तरुप लिन सकेन । प्रजातान्त्रिक अभ्यास हो, निर्वाचन हुनु र त्यसमा हार–जित हुनु कुनै नौलो कुरा होइन भन्ने भनाइ पनि सार्वजनिक हुन्छन्। प्रायः निर्वाचनको माध्यमबाट जोसुकै छानिए तापनि त्यसलाई तत्काल आत्मसात् गरी हातमा हात मिलाएर अथवा हातेमालो गरी हिँड्ने संस्कृतिको आजसम्म शुरुवात नै हुन सकेको छैन । विडम्बना नै भन्नुपर्छ, सम्भवतः यसपालिको सर्वोच्च बारको निर्वाचन नतिजा सार्वजनिक भएको अवस्थामा मनाएको खुशीयाली र माला ग्रहणको कार्यलाई हेर्दा र देख्दा हामी अझै पनि विजय उन्मादबाट पछि हट्न सकेका छैनौँ भन्ने नै सन्देश प्रवाह भएको छ।

जसरी विभिन्न दलहरुका घोषणापत्र लेखेझैँ लेखेर निर्वाचन गरिने परम्परालाई यो निर्वाचनले रोकेको थियो, त्यसै गरी विजयोत्सवको नाउँमा माला प्रथालाई पनि अन्त्य गरेको भए थप राम्रो सन्देश प्रवाह हुन्थ्यो । यो गहन कार्य गर्नबाट सर्वोच्च बार चुक्न पुगेको छ । जे जसो भए पनि कम्तीमा अब विजयी नामहरु सार्वजनिक भइसकेको अवस्था भए पनि सबै खेमाका कालाकोटे साथीहरुले देशमा देखा परिरहेको न्यायिक विचलन रोक्ने विषयमा गम्भीररुपमा सोच्नुहुनेछ । र, आगामी दिनहरुमा बारलाई नयाँ दिशा प्रदान गर्नुहुनेछ भन्ने आशासहित निर्वाचित भएका र नभएका सबैलाई हातेमालो गरी अगाडि बढ्न प्रेरणा प्राप्त होस् ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)