नेपालमा मानसिक स्वास्थ्यलाई सरकारले खासै प्राथमिकतामा राखेको देखिँदैन। यस अवस्थामा निजी क्षेत्रबाट ब्रेन एन्ड न्यूरोसाइन्स सेन्टर नेपाल (बीएनसी नेपाल) को स्थापना गरी अनुसन्धान तथा परामर्श र उपचारको थालनी शुरु गरिएको छ।
दिमाग र नसाको समस्याका विषय विज्ञबाट शुरु गरिएको उक्त कार्यको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रशंसा गर्नुभयो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय राखी विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुदूर पश्चिममा अध्ययन–अनुसन्धान गर्ने योजनासहित अघि बढेको बीएनसी नेपालको टिमलाई सचिव पोखरेलले हौसला दिनुभयो । भोलिका दिनमा विदेशिएका विज्ञ नेपाली चिकित्सकहरुले यसरी नै नेपाल र नेपालीको आवश्यकतालाई ध्यान दिई नेपालमै सेवा गर्ने भावले फर्किने वातावरणका लागि प्रेरणा मिल्ने कुरा पनि उहाँले औँल्याउनुभयो ।
मानसिक स्वास्थ्यका विषयमा धेरै मानिसले खुलेर समस्या नबताउने र ढिलो गरी चिकित्सक तथा स्वास्थ्य संस्थामा पुग्दा समस्या बढ्दै जाने गरेको पाइन्छ । यस्तो अवस्थामा निजी क्षेत्रबाटै भए पनि अनुसन्धानसहितको स्वास्थ्य केन्द्र खोल्नु गौरवको कुरा हो। युवा विषय विज्ञ चिकित्सकको नेतृत्वमै स्वास्थ्य केन्द्र खुल्नुलाई सकारात्मक सन्देशको रुपमा लिनुपर्छ। सरोकारवाला निकायका उच्च पदस्थ व्यक्तित्वले संस्थागत वा व्यक्तिगतरुपमा समेत यस कार्यका लागि सघाउनु जरुरी छ।
मानसिक स्वास्थ्य खराब हुनुलाई रोग नै नमान्ने र मानिहाले पनि घर–परिवार, समाजको डरले उपचारमा जान नमान्ने नेपालीको प्रवृत्ति पाइन्छ । उपचार गराउन चाहने सचेत नागरिकले सहज उपचार पाउने स्थानकै समेत अभाव देखिन्छ। यस अवस्थामा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञता हासिल गरेका विज्ञ स्वदेशमै फर्किई आफ्नो ज्ञान–सीपमार्फत सेवा गर्ने केन्द्रहरु खोल्नु सकारात्मक पक्ष हो । ब्रेन एन्ड न्यूरोसाइन्स सेन्टर नेपालका संस्थापक डा. रिसव कोइराला आफैँ मानसिक स्वास्थ्य विशेषज्ञ हुनुहुन्छ। सरकारले यस्ता विज्ञहरुको ज्ञान, सीपका माध्यमबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाओस्।
सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा १४ वटा जिल्लामा स्वास्थ्य कार्यक्रम गर्न नसकेको अवस्थामा मानसिक स्वास्थ्य लक्षित स्वास्थ्य केन्द्र खुल्नुले ग्रामीण भेगका नागरिकले पनि सेवा पाउने अपेक्षा गरिएको छ। यो संस्थाले बिरामीलाई दिने सेवा सुपथ हुनुपर्छ। ग्रामीण भेगमा मानसिक समस्यालाई नबुझी बोक्सीको आरोप लगाउनेदेखि घर, परिवार र समाजले दुव्र्यवहार गर्ने, घर निकाला गर्नेजस्ता थुप्रै समस्या छन्। त्यसैले यस्ता स्वास्थ्य संस्थाको नेतृत्व गर्ने विशेषज्ञ चिकित्कको टिमले बिरामीको उपचारसँगै जनचेतनाको माध्यमबाट समाजको आँखा खोल्न सकोस्।
विश्वमा नै मानसिक स्वास्थ्यको अवस्था विकराल हुँदै गएको छ । त्यसैले यसको अध्ययन, अनुसन्धान, परामर्श, उपचारजस्ता विषय सहज र सर्वसुलभ हुनुपर्छ। साथै स्वस्थ भएर बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार सरकारले कागजमा मात्र होइन, व्यवहारमा समेत उतारेर देखाउनुपर्छ। मानसिक समस्याका बिरामी शहरमा भन्दा गाउँमा धेरै गम्भीर अवस्थामा छन्। उनीहरुको स्वस्थ भएर बाँच्न पाउने अधिकारको रक्षा गर्ने दायित्व सरकारको हो। त्यसैले यस्ता स्वास्थ्य केन्द्र र विज्ञसहितको सेवा हरेक जिल्लामा हुनुपर्नेतर्फ सरकारको ध्यान पुगोस्।
प्रतिक्रिया