सूर्यदर्शन सहकारी ठगी प्रकरण: प्रतिवादीहरुका वकिलको बहस सकियो


काठमाडौँ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ । आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि (बिहीबार) मात्र हुनेछ । बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ ।

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन् । लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्र साथ उपस्थित गराइएको छ । विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।