लेखराज भट्ट भन्छन्– म माथि सुनियोजित भ्रम र षडयन्त्र गरियाे


काठमाडौं ।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले आफूले एमाले छाडेको भनि गरिएको प्रचार एमाले र आफूविरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्र भएको बताएका छन् ।

सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

आफूले एमाले बाहिर रहने कुराका कल्पना समेत नगरेको बताउँदै भट्टले सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएका बताएका हुन् ।

‘यति बेला सुदूरपश्चिममा एमाले बलियो शक्ति बनेको छ, अरू सबै कमजोर भएका छन्, त्यही भएर म माथि प्रहार गरेर मेरो राजनीतिक चरित्र हत्या गर्न सकियो भने केही गर्न सकिन्छ कि भन्ने प्रवृत्तिले अहिले भ्रम फिँजाउने काम गरिरहेका छन्’, उनले भने ।

कतिपय मानिसहरूको आफू उनीहरूसँग रहिरहोस् र उनीहरूको लागि काम गरिदेओस् भन्ने अभीष्ट भएको हुनसक्ने बताउँदै भट्टले उनीहरूको स्वार्थ अनुसार काम नगरेपछि यस्तो हर्कत गरिएको बताए । ‘म माथिको प्रहार भनेको अहिले एमाले एमाले सुदूरपश्चिम माथिको प्रहार हो, जसरी अहिले पार्टी केन्द्रमा हाम्रो अध्यक्ष केपी ओली माथि प्रहार भइरहेको छ त्यस्तै सुदूरपश्चिममा म माथि प्रहार भएको हो, टाउकोमा नै हान्यो भने केही गर्न सकिन्छ कि भन्ने विभिन्न प्रवृत्तिका मानिसहरूलाई लागेको हुनसक्छ तर त्यो सम्भव छैन’, भट्टले भने ।

सुदूरपश्चिममा नेकपा एमालेको इञ्चार्ज भएकोले आफूमाथि प्रहार गरेपछि एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कतिपयलाई लागेको हुनसक्ने उनले बताए । ‘यही कोणबाट यी प्रवृत्तिहरूले चलखेल गरेका हुन् भन्ने मलाई लाग्छ’, उनले भने।


यी सबै चलखेल र भ्रमलाई चिरेर सुदूरपश्चिममा पार्टीको अभियानलाई थप बलियो बनाएर लैजाने भट्टले प्रतिबद्धता व्यक्त गरे । ‘पार्टीले अहिले तलसम्म काम गर्ने वार्षिक कार्ययोजना बनाएको छ, अहिले नयाँ ढङ्गले समीक्षा पनि गरेको छ, घरदैलोसम्म पुग्ने तीन महिने अभियान चलेको छ, तीन महिने अभियानमा हामी तलसम्म पुग्छौँ, यसले पार्टीलाई एकताबद्ध बनाउन र सबै खालका भ्रम चिर्न मद्दत गर्दछ’, भट्टले भने ।