लामाबगर, दोलखा ।
दोलखाको विगुु र गौरीशङ्कर गाँउपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ जना मजदुरहरु सक्रिय रहेका छन् । परिवारको भविष्य खोज्न प्रत्येक दिन मृत्युको त्रासमा काम गरिरहेको उनीहरुको भनाई छ ।
दोलखा लापिलाङका तुलबे थामी विगत एक महिना देखी चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउने काममा लागेका छन् । खुट्टा टेकाउने अवस्था नभएको ठाँउमा समेत डोरीको सहारामा काम गर्नुपर्ने तुलबेको भनाई छ । हामी प्रत्येक दिन मरेर बाँचिरहेका छौ तुलबेले भने– किनभने विहान काममा लागेपछि बेलुका जिउदै फर्कने हो की हैन ठेगानै हुुदैन । काममा जतिसुकै जोखिम भएपनि परिवारको भविष्यको लागि पनि मृत्यु छल्दै अघि बढ्नुको विकल्प नभएको तुलबेको भनाई छ ।
परिवारलाई नभनि सुुटुुक्क काममा आएका तुुलबेले केही दिन त काम गर्नै कठिन भएको बताए । परिवारले थाहा पाएभने यस्तो ठाँउमा काम गर्न आउनै दिदैनन्, उनले भने– गुजारा गर्ने बाध्यताले परिवारलाई थाहै नदिई आएको हो । उमेरले ६४ बर्ष लागेका गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ रिकुका नेत्रबहादुर खड्का पनि विगत दुई महिनादेखी यहि भीरमा परिवारको भविष्य खोजिरहेका छन् । अरु सीप जानिएन नेत्र बहादुरले भने– आफुले जानेको यस्तै मजदुरी काम छ, यो सजिलो ठाँउमा मात्र नहुने रैछ ।
उमेर र जोखिमलाई हेरेर घरमा बस्ने हो भने परिवार चलाउन कठिन हुने नेत्र बहादुर बताउछन् । सिन्धुलीका गोपाल मगरको बाध्यता पनि अरु साथिहरुको भन्दा फरक छैन । उनी भन्छन्– यो भीरमा काम गर्दा ज्यान जोखिममा छ भन्ने बुुझेको छु, तर रोजगारीको विकल्प नभएपछि यहि काम गर्न बाध्य छु । यो भीरमा एउटा डोरीको भरमा काम गर्नु परेको छ, अलिकता खुट्टा चिप्लीएर खसियो भने बाँच्ने संभावनै छैन– गोपालले भने ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्र्तगतको रोलवालिङ खोला जलविद्युत आयोजनाको सहयोगमा चिम्लिङको चट्टानी भीर छिचोल्दै पैदलमार्ग निर्माण भै रहेको हो । झण्डै साढे चार किलोमिटरको पैदलमार्गले दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगर मा रहेको माथिल्लो तामाकोशी हाईड्रोपावर आयोजना स्थल नजिक खोरदिङबाट गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ रिकु गाउँ जोड्ने रोलवालिङ खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनोज ताम्राकारले बताए ।
रिकु गाँउमा रोलवालिङ खोला आयोजनाको अडिट– १ टनेल बन्दै छ । यो टनेलबाट आयोजनाको रोलवालिङ खोला स्थित बाँध स्थल र लामाबगरमा रहने पावरहाउसमा पानी पु¥याउने सुरुङ भेटिने आयोजना प्रमुख ताम्राकारको भनाई छ । रिकुसम्म जोड्ने पदमार्ग रिकु गाउँका स्थानीयलाई आवत– जावतमा सहज होस र गाँउको जीवन स्तर उकास्न समेत उपयोगी बनोस भनेर निर्माण गर्न लागिएको आयोजना प्रमुख ताम्राकार बताउछन् । पदमार्ग निर्माण पछि च्छो– रोल्पा हिमताल पुग्ने पर्यटकलाई समेत सहज हुने आयोजना प्रमुख ताम्राकार बताउछन् ।
झण्डै छ करोड रुपैया लागत अनुमान गरिएको पैदल मार्गको १४ सय मीटर निर्माण सकिएको आयोजना प्रमुख ताम्राकारले बताए । आयोजनाले पदमार्ग निर्माणको जिम्मा हाई हिमाललाई दिएको छ । पदमार्ग निर्माणको काम पेटी ठेक्कामा लिएका लापिलाङका इन्द्र थामी पदमार्ग बनाउन निक्कै जोखिमपूर्ण रहेको बताउछन् । मजदुरमात्र हैन हामी आफैपनि जोखिममा छौ तर यो गुजाराको लागि आवश्यक छ– इन्द्रले भने ।
पिसिसि ढलान र रेलिङ सहितको दुई मीटर चौढाईको पदमार्ग निर्माण पछि रिकुका स्थानीय र पर्यटकहरुको लागि निक्कै उपयोगी हुुने इन्द्र थामी बताउछन् । पदमार्ग निर्माणको काम आगामी जेठ महिनासम्म सक्ने लक्ष्य रहेको हाई हिमालले जनाएको छ ।
प्रतिक्रिया