रियल कोपा डेल रे को अन्तिम १६ मा

2.26k
Shares

लन्डन, (एजेन्सी) ।


स्पेनिस क्लब रियल मेड्रिड कोपा डेल रे कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको अन्तिम ३२ को खेलमा रियलले दोस्रो डिभिजनको टिम डेपोर्टिभा मिनेरालाई उनीहरूकै घरेलु मैदानमा ५–० को फराकिलो गोलअन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

मिनेराको घरेलू मैदानमा भएको खेलमा रियलका लागि पहिलो गोल पाँचौं मिनेटमै फेडे भाल्भर्डेले हाफ भलीमा गरेका थिए । दोस्रो गोल १३औं मिनेटमा इडुआर्डो कामाभिङ्गाले फर्रान गार्सियाको पासमा गरेर अग्रता दोब्बर पारे । तेस्रो गोल २८औं मिनेटमा अर्दा गुलेरले गरे । उनको गोलमा फेडे भाल्भर्डेले असिस्ट गरेका थिए । त्यसपछि चौथो गोल भने ५५औं मिनेटमा ब्राहिम डियाजको पासमा लुका मोड्रिचले गरेर अग्रता बढाए ।


रियल त्यत्तिमै रोकिएन । खेलको ८८औं मिनेटमा फर्रान गार्सियाको पासमा अर्दा गुलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित ५–० ले पक्का गरे । उक्त खेलमा रियलले नयाँ खेलाडीलाई समेत मौका दिँदै मिश्रित टिम उतारेको थियो । उक्त खेलमा केही नयाँ खेलाडीले समेत सिनियर टिममा डेब्यू गरेका थिए । अब ला लिगामा तीन शीर्ष टिम बार्सिलोना, एट्लेटिको मेड्रिड र रियल मेड्रिड सबै अन्तिम १६ मा प्रवेश गरेका छन् । अब रियलको आगामी खेल साउदी अरबमा सुपर कपको सेमिफाइनलमा मालोर्काविरुद्ध हुने तालिका रहेको छ ।