एसी मिलान इटालियन सुपर कप च्याम्पियन


लन्डन, (एजेन्सी) ।

एसी मिलान इटालियन सुपरकपको च्याम्पियन बनेको छ । मिलानले सोमबार इटालियन सुपर कपको फाइनलमा सहरको प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ गोलअन्तरले पराजित उपाधि हात पारेको हो ।

टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलले एसीलाई इटालियन सुपरकपको उपाधि दिलाउन सफल भयो । साउदी अरेबियाको रियादमा भएको सो खेलमा इन्टरले २–० गोलको अग्रता जोगाउन नसक्दा उपाधि गुमाउन परेको हो । लौटारो मार्टिनेजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए । मेहदी टारेमीले ४७ औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता २–० बनाएका थिए ।


अर्कोतिर खेलको ५२ औं मिनेटमा थिएओ हर्नान्डेजले फ्रि–किकबाट मिलानका लागि पहिलो गोल गरे । त्यसपछि अमेरिकी विन्गर क्रिस्टियन पुलिसिचले ८० औं मिनेटमा बराबरी गोल फर्काए । अब्राहमले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै मिलानलाई उपाधि दिलाए । दुई गोलले पछि परिसकेको अवस्थामा राफाएल लिओले बेन्चबाट मैदान प्रवेश गरेर मिलानका तीनवटै गोलमा एसिस्ट गर्दै निर्णायक भूमिका खेलेका थिए ।


सन् २०१६ यता मिलानको यो पहिलो उपाधि हो । समग्रमा मिलानले इटालियन सुपरकप जितेको भने यो आठौं पटक हो । नयाँ प्रशिक्षकका रुपमा सर्जियो कोन्सेस्को आएयता मिलानले यो उपाधि जितेको हो । पाउलो फोन्सेका बर्खास्त भएसँगै सोमबार नियुक्त भएका कन्सेइसाओले सेमिफाइनलमा युभेन्टसविरुद्ध पनि कमब्याक गर्दै जित दिलाएका थिए ।


अब मिलानले शनिबार काग्लियारीविरुद्ध सिरी ‘ए’ खेल खेल्नेछ । हाल मिलान १७ खेलबाट सात जित मात्र निकाल्दै आठौं स्थानमा छ । तर, यो जितले टोलीलाई नयाँ आत्मविश्वास दिएको छ । इन्टरले यो सिजन सबै प्रतियोगितामा गरी केवल तेस्रो हार बेहोरेको हो । यसअघि इन्टर च्याम्पियन्स लिगमा बायर लेभरकुसेनसँग र मिलानसँग सिरी ‘ए’ डर्बीमा पराजित भएको थियो ।