संघीयता कार्यान्वयनसँगै गणतन्त्र आएपछि मुलुकको अवस्थामा आमूल परिवर्तन आउने परिकल्पना गरिएको थियो । आम नेपालीले विश्वसामु आफूलाई एक विकसित मुलुकको नागरिकका रुपमा चिनाउन सक्ने अपेक्षा गरेका थिए तर त्यो व्यवहारमा लागू भएन ।
अहिले जनता उल्टै प्रश्न गर्न थालेका छन्, संघीयता र गणतन्त्र मुलुकका लागि भार बन्दै गयो । संघीयता खारेज हुनुपर्ने भन्दै आवाज उठाउनेहरुको आवाज बलियो हुँदै गएको पाइन्छ । संघीयता र गणतान्त्रिक व्यवस्था अफापसिद्ध भएकै हो त ? यो प्रश्न अहिले सतिशालझैँ ठडिएको छ ।
नेपालमा बहुदलीय व्यवस्था आएपछि शासन सत्तामा पुगेका नेताहरुले त्यसबारे सोच्नुपर्ने बेला आएको छ । सत्ता सम्हालेका नेताहरुले आफ्ना सेवकलाई मात्रै व्यवस्थापनमा ध्यान दिँदा मुलुकको अवस्था असहज बन्दै गएको छ । मुलुक द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको डेढ दशक बितिसक्दा पनि नेपाली जनताको जीवनस्तरमा तात्विक भिन्नता आएको देखिँदैन । शासन सत्ता नेता र उनीहरुका वरिपरि घुम्नेहरुको व्यवस्थापन गर्ने अखडा बन्दै गएको छ । राजनीतिक मूलभूत विषयमा खाना, नाना र छानाले प्राथमिकता नपाउँदा संघीयता र गणतन्त्रले अपजश पाउँदै आएको छ ।
जनताका प्रतिनिधि भनिएकाहरु नै जनताबाट आफूलाई असुरक्षित महसुस गरी सेनामेना अघिपछि लगाएर हिँड्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा लज्जाको विषय बनेको छ तर पनि नेताहरु भने आफ्ना कुविचारबाट बाहिर निस्कन सकेका छैनन् । शासन सत्तामा पुगेका नेताहरुले राज्यकोषबाट गरेको खर्च केही हदसम्म ठीक भए पनि सत्ताबाहिर रहँदासमेत राज्य सत्तालाई दुरुपयोग गरेको पाइन्छ । यो ठीक हो कि होइन ? यो बहसको विषय बन्नुपर्ने हो ।
तीन दशकअघि सत्तामा पुगेका नेताहरु नै अहिलेसम्म आफूलाई अब्बल प्रमाणित गर्दै शासन सत्ता चलाइरहेका छन् । यो भद्दा मजाकको विषय बन्न पुगेको छ । बहुदलयीय व्यवस्था आएपछि राजनीति गरेकाहरु अहिले पनि सरकारी सेवा–सुविधामा नै लिप्त हुनुले नेपालका नेताहरु सादगी हुन सक्दैनन् भन्ने प्रमाणित हुन थालेको छ ।
एकातिर व्यवस्थामाथि प्रहार गर्ने समूह सक्रिय रहनु, अर्कोतर्फ राज्य सत्तामा पुग्नेहरुले राज्य दोहनमा आफूलाई अब्बल प्रमाणित गर्दै जानुले पनि राजनीतिप्रति वितृष्णा फैलँदो अवस्थामा रहेको छ । तर पनि नेतागणमा सुध्रर्नुपर्दछ भन्ने चेतना पलाएको पाइँदैन ।
एउटै व्यक्तिले ४ देखि ६ पटकसम्म सत्ताको बागडोर सम्हाल्दा पनि अझै सत्ताको लालचमा रहनुले नेपालको राजनीति कस्तो छ भन्ने प्रस्ट हुन्छ । दशकौँ राजनीति गरेका नेताले आफूलाई अझै अब्बल प्रमाणित गर्न खोज्नुले दलीय व्यवस्थामाथि नै प्रश्न उठेको छ । राजनीति अब दलका नेताको हातमा छ । नेता देख्दा जनताले गाली गर्ने होइन, ताली बजाउने वातावरण सिर्जना गर्न सक्नुपर्दछ ।
प्रतिक्रिया