काठमाडौं ।
संसद्का दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक संगठन सुदृढीकरण अभियानलाई प्राथमिकता दिँदै बैठक सम्पन्न गरेका छन् । आइतबारबाट चलेको यी दुवै दलको बैठकले संगठन सुदृढीकरणको कार्ययोजनासहितका पार्टी आन्तरिक जीवनमा महत्व राख्ने विभिन्न निर्णय पारित गर्न सकेका हुन् ।
सत्ताको नेतृत्वकर्ता एमालेले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै पार्टी निर्माणका लागि तीन महिना गाउँ पस्ने कार्ययोजनासहित बैठक सम्पन्न गरेको उक्त दलका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । तीन दिन बसेको बैठकले १४ समसामयिक प्रस्तावसमेत पारित गरेको छ । जसमा कांग्रेस एमाले सम्मिलित संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन र सम्मृद्धितर्फ आशा जगाएको उल्लेख छ ।
त्यस्तै, देशमा युवाहरूले अवसर नपाएर पलायन हुनुपर्ने अवस्थाप्रति एमालेले चिन्ता प्रकट गरेको छ । देशभित्र केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकार सफल होस् भन्ने एमालेको कामना छ ।
त्यसै गरी भ्रष्टाचार नियन्त्रणमा सरकारले शुरू गरेका कदमलाई सकारात्मक भनेको एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको छानबिन गरेर निष्कर्षमा पु¥याउन तथा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको उपमहासचिव ज्ञवालीले भनाइ छ ।
त्यस्तो पार्टी विभाजनलगायतका कारणले बाहिर रहेका नेता कार्यकर्ताहरूलाई नेकपा एमालेमा फर्कन आह्वान गरेको छ । बैठकबाट एमाले सुदृढ र एकताका साथ अघि बढ्ने आधार तयार भएको भन्दै नेताहरूले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने संकल्प गरेको बताएका छन् । बैठकले पारित गरेको तीनमहिने वडा केन्द्रित कार्ययोजनाअनुसार एमाले नेता कार्यकर्ताहरू माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन् ।
जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ समेत भनेको हो । मिसन २०८४ मा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी अघि बढेको एमालेले सो प्रयोजनका लागि यसअघि नै १८ वटा कार्ययोजना सार्वजनिक गरेको थियो ।उता, नेकपा माओवादी केन्द्रले फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्नेछ ।
सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरूको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिनुभयो । अबको पहिलो छ महिना पार्टी निर्माण अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि विशेष महाधिवेशनमा जाने अध्यक्ष दाहालको भनाइ छ । छ महिना अभियान सकेर त्यसपछि महाधिवेशनको तयारीमा जाने उहाँले घोषणा नै गर्नुभयो । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको नेताहरूले दाबी गरेका छन ।
बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्दा माओवादीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरी उच्च जनवादको अभ्यास गरेका माओवादीले दाबी गरेको छ ।
प्रतिक्रिया