–अधिकांश प्रअ भन्छन्: मार्कर किन्नेसमेत रकम छैन, चियाखाजाको कुरै नगरौं
–तत्काल निकासा गर्न माग, नभए कार्यक्रम नचलाउने
काठमाडौं ।
काठमाडौं महानगरपालिकाभित्रका सबै विद्यालयको आर्थिक अवस्था दयनीय भएको छ । चालू आर्थिक वर्षमा कामपाले सञ्चालन गरेको नमुना र गौरवको योजना कार्यक्रमलगायत कुनै पनि शीर्षकमा बजेट निकास नगरेको कारण सबै विद्यालयको आर्थिक अवस्था दयनीय भएको छ ।
मेयर बालेन्द्र साहले कारबाही गर्ने त्रासले विद्यालयका प्रअ र शिक्षकले विद्यालयको पछिल्लो अवस्थाबारे दुःख बिसाउन सकेका छैनन् । मेयर साहको निर्देशनमा शिक्षा विभागले सामुदायिक विद्यालयले कुनै पनि शुल्क नलिन पटकपटक चेतावनी दिइरहेको छ ।
महानगरमा माध्यमिक र आधारभूत तह गरी ८९ विद्यालय सञ्चालित छन् । त्यतिमात्रै होइन विद्यालयमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सटर भाडामा लगाएर खर्च टारेका विद्यालयको सबै आम्दानी बन्द गरेको छ । यहाँसम्म कि भएका सटर सबै भत्काएर खेलमैदान र अन्य प्रयोजनमा उपयोग गर्न निर्देशन दिएको छ ।
‘निर्देशन दिएअनुसार समयमै रकम निकासा गरेको भए कामपाभित्रका सबै विद्यालयका आर्थिक रूपमा दयनीय अवस्था बेहोर्नुपर्ने थिएन’ –नेपाल शिक्षक महासंघ काठमाडौ जिल्ला समितिका अध्यक्ष राजेन्द्र अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार कामपाले हालसम्म कातिक महिनासम्मको दिवा खाजाबाहेक कुनै पनि शीर्षकको रकम निकासा गरेको छैन । कामपा शिक्षा विभागका अधिकृत नेत्रनारायण पौडेलले रुजु गर्ने काम भइरहेका कारण केही समय ढिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘केही समय ढिलो भएको होला, निकासा नहुने त कुरै आउँदैन ।’
विद्यालयका प्रअहरूले रकम निकासा नगरे कार्यक्रम सञ्चालन गर्न नसकिने चेतावनी दिएका छन् । भन्छन– ‘दाम नभएपछि कसरी गर्नु काम । अब निकासा दिन दबाब दिनेछौं ।’ मेयर साहले महानगरभित्रका विद्यालयलाई नमुना बनाउन विभन्न लोभलाग्दा कार्यक्रम शुरू गर्नुभएको थियो । अधिकांश कार्यक्रमले सफलता हात पारे पनि रकम अभावको कारण रोकिने पो हो कि भन्ने खतरा बढेको छ ।
कामपाले मेयरको गौरव, स्वर्ण, नमुना विद्यालय गरी झन्डै आधा दर्जन बढी लोकप्रिय कार्यक्रम सञ्चालन गरिरहेको छ । रकम अभावका कारण कहिलेसम्म कार्यक्रम सञ्चालन हुने हो अनिश्चित छ । कामपाले सीपसँग शिक्षा, फोकल शिक्षक तालिम, हरित विद्यालय, कक्षा–९ का विद्यार्थी लक्षित सीपसँग शिक्षा, स्टिम, स्काउटका लागि ड्रेसलगायत कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको थियो ।
कामपाले ती कार्यक्रमका लागि मासिक २ लाखसम्मको बजेट व्यवस्था गर्ने गरेको थियो । सीपसँग शिक्षा कार्यक्रमअन्तर्गत ३० जना विद्यार्थीका लागि मासिक २ लाख रुपियाँ उपलब्ध गरेको थियो । ६ महिना भयो कार्तिकसम्मको दिवा खाजाबाहेक अन्य कुनै पनि कार्यक्रममको बजेट निकासा भएको छैन । कामपाले विद्यालय सञ्चालन खर्चबापत उपलब्ध गराउने रकमसमेत पाउन नसकेको प्रअहरूको भनाइ छ ।
अधिकांश प्रअले नेपाल समाचारपत्रसँग भने– ‘मार्कर किन्न नसक्ने अवस्थामा पुगिसेका छौं, कहिलेकाहीँ अतिथि सत्कार र अन्य कार्यक्रममा चिया खुवाउने गरिन्थ्यो त्यसो पनि व्यवस्थापन गर्न सकेका छैनौं । यस्तो दयनीय अवस्थामा विद्यालय चलिरहेको छ । कामपा शिक्षा विभागले सोच्न सकेको छैन । यो वा त्यो शीर्षकमा शुल्क नलिनु भन्न सक्ने विद्यालयले किन समयमा रकम निकासा गर्न सक्दैन ?’
प्रतिक्रिया