क्यानद्वारा कलाकारहरु सम्मानित


काठमाडौं ।


राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार संघ (क्यान)को स्थापना दिवसको अवसरमा प्रथम ज्यापुरत्न नेपाल प्रा. गोविन्द नारायण ‘ज्यापु’, बरिष्ठ मूर्तिकार मानबहादुर वि.क.लगायत १५ जना कलाकार पुरस्कृत भएका छन् भने एक जना कला व्यवसायी सम्मानित भएका छन् ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा मंगलबार प्रज्ञा भवनमा आयोजित एक समारोहमा क्यानले २५ हजार रुपैया राशीको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कारबाट काठमाडौंका प्रथम ज्यापुरत्न प्रा. गोविन्द नारायणलाई पुरस्कृत गरेको हो । त्यस्तै २० हजार राशीको क्रोधकला शिरोमणि पुरस्कार रुपन्देहीका बरिष्ठ मूर्तिकार मानबहादुर वि.क., १५ हजार राहीको मुल्मी ग्राफिक डिजाइन अवार्ड काठमाडौंका राजन काफ्ले र १० हजार राशीको अमात्य कला पुरस्कार काठमाडौंकै सुन्दरबहादुर लामालाई प्रदान गरियो ।

त्यसैगरी १० हजार राशीकै हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार, क्यान सिग्देल आर्ट पुरस्कार, निर्वाण कला सम्मान, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार क्रमशः भक्तपुरका केदार दाहाल, काठमाडौंकी इन्दु पन्त लोहनी, भोजपुरका डा. कृष्ण ओझा, बीरगञ्जकी स्मिता श्रीवास्तव, काठमाडौंका रमेश खनाल र पाटनका भुवन थापाले प्राप्त गरेका छन् ।

कार्यक्रममा पाँच हजार राशीको क्यान आइडियल कला पुरस्कार, बालकृष्ण स्मृति कला पुरस्कार, नारायणदेवी स्मृति पुरस्कार, राजेश मानन्धर कार्टुन अवार्ड, ऋचा मैनाली रिमाल स्मृति पुरस्कार क्रमशः काठमाडौंका विपिनराज श्रेष्ठ, देवेन्द्र पौड्याल र नविन्द्रमान राजभण्डारी, पोखराका पदम घले र पूर्व रुकुमका प्रश्ना बुढामगरलाई प्रदान गरिएको थियो ।


कार्यक्रममा क्यानले हेटौंडाका कला व्यवसायी चन्द्रकुमार मानन्धरलाई सम्मान गरेको थियो । कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले कलाकारहरू देशका गहना भएको जिकिर गर्दै कलाकारहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।