‘थंतुरी द्रङ्ग’बाट हराउँदै गएका सम्पदाहरु

752
Shares

हालको तारकेश्वर नगरपालिकास्थित पाँचमानेको पुछार अर्थात् भुवनेश्वरीको मन्दिर भएको राजपुर डाँडादेखि बुढानीलकण्ठसम्मको प्राचीन बस्तीलाई लिच्छविकालमा थंथुरी द्रङ्ग भनिन्थ्यो, जसको पुष्टि चार सय टोखा सात सय फेरा पुस्तकमा उल्लेख गरिएको छ। थंथुरी द्रङ्ग धार्मिक, सांस्कृतिक, ऐतिहासिक आदि दृष्टिमा ज्यादै महत्त्वपूर्ण स्थल मानिन्छ। यो स्थानको ज्यादै महत्त्व भएको अनुमान यस क्षेत्रमा प्राप्त शिलालेख, मठमन्दिर आदिबाट सहजै अनुमान लगाउन सकिन्छ। प्राचीन लिच्छविकालीन नगरका रुपमा चिनिएको धर्मस्थलीमा प्राप्त शाके संवत् ५१७ को शिवदेव तथा अंशुवर्माको शिलालेखले नै यो थंथुरी द्रङ्ग भएको प्रस्ट हुन आउँछ।

नेपाल इतिहासको एकीकरणका सन्दर्भमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाबाहिर रहेका बस्ती र राज्यलाई हात पार्ने रणनीति अपनाएका थिए । र, यसैअनुसार उनले विजय प्राप्त गरेका थिए। त्यसपछि मात्र उनले कान्तिपुर राज्यलाई आक्रमण गरेको देखिन्छ । यस अर्थमा तत्कालीन कान्तिपुर राज्यवरपरका स–साना राज्य र बस्ती नै लिच्छविकालदेखि आवादी हुँदै आएका प्राचीन बस्ती थंथुरी द्रङ्ग हुन् भन्न सकिन्छ।

नेपालको राजनीतिक परिवर्तनमा यस्ता स्थानहरुको आफ्नै महत्त्व र विशेषता रहेको पाइन्छ । प्राचीन थंथुरी द्रङ्गमा विभिन्न प्रकारका सम्पदाहरु रहेका थिए भन्ने कुरा यहाँ प्राप्त शिलालेख, इस्तिहार आदिबाट प्रस्ट हुन्छ । थंथुरी द्रङ्गबाट चालीसको दशकमा विभिन्न महत्त्वपूर्ण सम्पदाहरु हराएका छन् । थंथुरी द्रङ्गको महत्त्वपूर्ण नगर धर्मस्थलीबाट पनि विभिन्न सम्पदाहरु हराउन पुगेका थिए । यस क्षेत्रका धर्मस्थली, गोलढुंगा, मनमैजु, फुटुङ, साङ्ला, टोखा आदि स्थानबाट विगतमा विभिन्न प्रकारका मूर्तिहरु तथा महत्त्वपूर्ण शिलालेखयुक्त सम्पदाहरु हराएका छन्, नष्ट भएका छन् ।

यहाँ रहेका ढुंगेधारा, मूर्ति आदि सम्पदाहरु लोप हुन पुग्दा यहाँको वास्तविक इतिहास पनि विलुप्त हुन पुगेको देखिन्छ । त्यसो त यहाँ भएका कैयन् ढुंगेधारा, चोक, गल्ली, डबली, लवछेरी, खल्चा, फल्चा, पाख्चा, केःव, ख्य, पुखु, द्येग, द्ययेछ, सिःबहा आदि सम्पदाहरु क्रमशः लोप हुँदै जानुले पनि यस्ता महत्त्वका सम्पदाहरुको अस्तित्व लोप हुन पुगेको देखिन्छ । यस्ता सम्पदाहरु हराउन पुगेका छन् भने कैयन् सम्पदाको अस्तित्व हराउनै लागिसकेको छ । त्यसैले यस्ता सम्पदाको संरक्षणका लागि विशेष पहल गर्न स्थानीय सरकार र संस्कृतिकर्मी बेलैमा सचेत भएर लाग्नुपर्ने बेला आएको छ ।

थंथुरी द्रङ्गबाट हालसम्म धेरै सम्पदाहरु लोप भइसकेका छन् भने कैयन् सम्पदा चोरी भइसकेका पनि छन् । यसको संरक्षणका लागि हालसम्म कुनै पनि निकायबाट पहल भएको देखिन्न । धर्मस्थलीको शि पुखु अर्थात् ऐतिहासिक बजारको पुछारमा रहेको पाँचमुखे शिवलिंग चोरी भइसकेको छ । २०४४/४५ सालतिर यस बस्तीको कर्मीटाल कौत्वाबाट शिवलिंग चोरी भएको थियो भने त्यस्तै नायः त्वामा रहेको शिवलिंग पनि चोरिएको थियो । यस्तै कर्मीटोलमा नै रहेको ढुंगेधारा र नारायणको मूर्ति पनि हराएको पाइन्छ। धर्मस्थलीको खेलाचौरमा रहेको अत्यन्त महत्त्वपूर्ण मानिएको हारती अजिमा अर्थात् ख्यमा अजिमाको मूर्ति पनि चोरी भएको थियो।

त्यस्तै पूःस अर्थात् पुसल बस्तीमा रहेको गजलक्ष्मी अर्थात् भृकुटी ताराको प्राचीन मूर्ति पनि केही वर्षअगाडि हराएको थियो। उक्त हराएको मूर्तिका सम्बन्धमा पुरातत्व विभागले प्राचीन मूर्ति भएको र उक्त मूर्ति भृकुटी अर्थात् ताराको भएको जनाएको छ। धर्मस्थली बीच बजारमा रहेको इन्द्रको मूर्ति पनि चालीसको दशकमा चोरी भएको थियो । यसै गरी चोगाउँमा रहेको प्राचीन सरस्वतीको मूर्ति पनि केही वर्षपहिले नै हराएको थियो । त्यस्तै, पुरानो गुह्येश्वरीको प्राचीन कलश पनि धेरै पहिले नै हराएको थियो ।

त्यस्तै चालीसको दशकमा नै ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण मानिने टोखा नगरको चण्डेश्वरी मन्दिरको मूल ढोकाको बाँयापिट्ट भगवती र नृत्य गणेशको मूर्ति पनि ३० को दशकमा हराएको थियो । यस्तै २ वर्षअघि बिस्काः जात्राको दिन थने लाछीमा काठबाट बनेको ४ सय वर्ष पुरानो नृत्य गणेशको मूर्ति चोरी भएको थियो । मूर्तिनृत्य गणेशलाई गणेशको दुर्लभ मूर्तिका रुपमा लिइन्छ । टोखा नगरबाट थुप्रै मूर्तिहरु हराएको देख्न सकिन्छ ।

चण्डेश्वरी महादेवको मूल ढोकाका दायाँ–बायाँ द्वारपाल, छत्रपाल र अगाडि सिंह र मन्दिरको दायाँ भित्तामा माहांकाल, कालभैरव र त्यसमाथि हनुमान थिए । हाल चोरी भएकाले नया मूर्तिहरू राखेको पश्चिममा बायाँतिर लक्ष्मीनारायण र दायाँतिर महाराज भीमसेन, उत्तरतिर बायाँ तुयुख्वा, दायाँ सरस्वती माता, पूर्वमा दायाँ गुरुगणपति गणेश, बायाँ लक्ष्मीनारायण राखिएका छन् । यस मन्दिरको पूर्वतिर दक्षप्रजापतिको मूर्ति थियो, जुन ४० को दशकमा चोरी भएको थियो । अहिले सिमेन्टले बनेको मूर्ति राखिएको छ । भनिन्छ, यस चण्डेश्वरीवरिपरि ३३ कोटी देवताहरू छन् । यस चण्डेश्वरी स्थलमा सबै देवीदेवताहरूको दर्शन गरिएमा काशी जानुपर्दैन भन्ने कहावत छ । तर दुःखको कुरा कतिपय महत्त्वपूर्ण लिच्छविकालका मूर्ति चोरिएकोले त्यसको बदलामा अर्को नक्कली देवीदेवताका मूर्तिहरू राखिएका छन् । यस चण्डेश्वरीवरिपरि अनगिन्ती मूर्ति र शिलापत्रहरू पाइएको छ । तर बेवारिसे अवस्थामा रहेको छ । यहाँ प्रायजसो अब मल्लकालीनको शिलापत्रहरू र मूर्तिहरू बाँकी रहेका छन् ।

यति मात्र नभई प्राचीन नगर टोखा शहरमा अन्य महत्त्वपूर्ण ऐतिहासिक शिलापत्र, देवीदेवताका मूर्ति पाइन्छ । यहाँ थुप्रै विष्णु अर्थात् नारायणका मूर्तिहरू रहेको बुझिन्छ । यसमा अधिकांश लिच्छविकालका मूर्तिहरू चोरी भैसकेका छन् भने बचेका मूर्तिहरू पनि कतिपय टुटफुट भएका र नयाँ राखिएका छन् । यति भएर पनि टोखामा हाल बचेर रहेका केही मूर्तिहरूमध्ये तपलाछीको धारामा रहेको चतुर्बाहु विष्णुको मूर्ति पनि रहेको छ । यस मूर्तिका आठ बाहुमध्ये दायाँपट्टि अक्षमाला, धनु र वरदमुद्रा छ भने बायाँपट्टि माथिबाट पुस्तक, परशु डाँठसहितको कमल धारण गरेको र तल शंख धारण गरेको देखिन्छ। यो मूर्तिको पादपीठको अभिलेख मिति बुझ्न निकै कठिन छ । तर पहिलेको पुरानो मूर्ति चोरिएकोले यो नयाँ मूर्ति राखिएको हो ।
टोखामा रहेका अधिकांश मूर्तिहरू चोरी भैसकेका छन् । तपलाछी नारायणको मन्दिरअगाडिको स्तम्भमा राजा प्रताप मल्लले राखेको गरुड, यक्ष मल्लको पालाको गणेश, सपनतीर्थ विनायक, कोठु गणेश, शिवलिंगलगायत दर्जनौं मूर्तिहरू चोरी भैसकेका छन् । हाल बचेका मूर्तिहरू पनि त्यति सुरक्षित भने छैनन् । तपलाछीमा पर्यटकहरूलाई मन पर्ने ११ औं शताब्दीमा बनेको लोकेश्वरको मूर्ति पनि चोरिएको छ । उक्त मूर्ति चोरिएपछि स्थानीय बासिन्दाहरू बिलौना गर्दै रोएको देखेको कुरा अहिलेका बूढापाकाहरू सुनाउँछन् ।

प्राचीन सम्पदाहरुले सजिएको थंथुरी द्रङ्गका सम्पदा क्रमशः लोप हुँदै गएका छन् भने यसको संरक्षणका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन । त्यसैले सम्पदाप्रेमीहरु एकजुट भएर सम्बन्धित पक्षलाई झकझकाउनु आवश्यक छ । हामीले हाम्रो पहिचान र अस्तित्वका लागि पनि यस्ता प्राचीन सम्पदाको संरक्षण गर्नुपर्ने देखिन्छ ।

टोखा नगरमा धेरै मात्रामा पाइने उमामहेश्वरका मूर्तिहरू आज ३/४ वटा मात्रै बाँकी रहेका छन्। चोरहरू देवदेवीहरूको आलिंगन अवस्थाका कुँदिएका मूर्तिहरू चोर्न बढी नै भुतुक्क भएको कारणले यस प्रकारका मूर्तिहरू कम मात्रामा रहेका छन्। चोरहरूको क्रुरताको परिचय दिँदै हर्कलालले बताए– ‘उमामहेश्वरको मूर्ति चोर्न नसकेपछि उनीहरूले मूर्तिको टाउको नै काटिदिए। ठूला मूर्तिहरू बोक्न र सिमाना कटाउन गाह्रो हुने भएकाले तिनीहरू मूर्तिका टाउकाहरू काट्छन र भरसक सबैभन्दा सुन्दर अंग लिने प्रयास गर्दछन् ।’ टोखामा जताततै टाउका नभएका मूर्तिले पनि यसै कुराको पुष्टि गर्दछन्।
यसरी नै चोरिँदाचोरिँदै बचेका मूर्तिहरूमा सरस्वतीका मूर्ति पर्दछन् । ससुखेलका स्थानीय जनता खनिएपछि चोरहरूले सरस्वतीको मूर्ति छाडेर भागे । तपलाछीको चार कुनामा रहेको गणेश र हाथु ध्दः पनि चोरहरूको हातबाट खोसेर पुनः फर्काइसकिएको छ । कलाक्षेत्रको बढी घनत्व काठमाडौं उपत्यका भएकै कारणले गर्दा पनि यस्ता घटना यहीँ बढ्ता देखिएका हुन सक्छन् ।

प्राचीन सम्पदाहरुले सजिएको थंथुरी द्रङ्गका सम्पदा क्रमशः लोप हुँदै गएका छन् भने यसको संरक्षणका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन । त्यसैले सम्पदाप्रेमीहरु एकजुट भएर सम्बन्धित पक्षलाई झकझकाउनु आवश्यक छ । हामीले हाम्रो पहिचान र अस्तित्वका लागि पनि यस्ता प्राचीन सम्पदाको संरक्षण गर्नुपर्ने देखिन्छ ।