एमालेबाट रावल निष्कासनको कटु सत्य

5.83k
Shares

एमालेबाट अलग भएका भीम रावल अब नयाँ संरचनात्मक ढाँचामा जान सक्ने सम्भावना छ। उनी अर्को दल खोल्ने पक्षमा छन् तर उनको मन परेका देखिने नेता माधवकुमार नेपाल भएको धेरैले फरक अनुभव र अनुमान पनि गरेका छन् । रावलको लागि डुब्न लागेको डुंगालाई पार लगाउने कि आफू पनि डुबिन्छ कि भन्ने पारख गर्न छनौटको आवश्यकता पनि होला । डुब्न लागेको डुंगा पार लगाए जश ज्यादा अरुले पाउने र डुबे बरबाद हुने पो हो कि भन्ने पनि होला ।

केपी ओली लोकतन्त्रको पक्षमा अविचलित सैद्धान्तिक अडान भएका व्यक्ति हुन् । अरु कम्युनिस्ट पार्टीहरुमा जस्तो लोकतन्त्रप्रतिको आस्थामा उनीप्रति शंका छैन । यो प्रस्ट अवस्थाले उनी विदेशीहरुबीच पनि सकारात्मक रहेका छन् । वर्तमान विश्व परिवेशमा यो पनि राम्रो सन्देश हो । केपी ओलीले कम्युनिस्ट एकताको लािग माओवादीलाई साथ दिएर देशको सबैभन्दा ठूलो कम्युनिस्ट दलमात्र बनाएनन्, बरु संसद्मा पहिलोपल्ट एउटै कम्युनिस्ट पार्टीको लगभग संख्या संसद्मा दुई तिहाइ बहुमत हुन पुग्यो । उनले प्रचण्डको ज्यादा नजिक बनेर माधवकुमार नेपाल र झलनाथ खनाललाई चित्त दुखाए । त्यो दुखेको मन ओलीसँग प्रचण्ड छुट्टिँदासम्म पनि कायम रह्यो । यति जटिल अवस्थामा पनि ओलीले एमालेलाई जोगाउन सके। प्रतिनिधिसभामा एमाले सबैभन्दा धेरै जनताको मत पाउने पार्टी बन्यो । यसको चुरो कारण ओली भएकोमा कुनै सन्देह छैन।

रावलले जहिले पनि ओलीको विरोध मात्र गरे। पार्टी कठिन अवस्थामा अर्थात् संक्रमणकालमा उनले ठूलो गल्ती नै गरेका हुन्। यद्यपि उनी समाज र राष्ट्रका लागि बेइमान नेता होइनन्। जानेर मात्र होइन, नजानेर पनि समाज र देशको प्रत्यक्ष अहित गरेका नेता होइनन् । हामी राजनीतिभन्दा बाहिर रहनेले उनलाई नकारात्मकरुपमा हेर्न आवश्यक छैन । तर उनको एमालेमा क्रियाकलाप जस्तो हुनुपर्ने हो त्यस्तो नभएको सत्य नै हो।

अर्कोतर्फ माधवकुमार नेपालहरुले पार्टी फोर्दा भीम रावल, घनश्याम भुसाल तथा एक–दुईजना अरु नेताहरु एमालेलाई भित्रबाट नै कमजोर बनाउन लागेका थिए भन्ने आरोप छ । उनीहरुले कसै गरेर एमालेलाई कमजोर बनाउने र माधवकुमार नेपालहरुलाई सहयोग पुग्ने कार्य गरेर पछि पस्ने र बस्ने सुरक्षित सेल्टरको हिसाबले सोचेका थिए भन्ने केही आधारहरु पनि होलान् ।
माओवादीहरुको आरोप, दलबाट फुटेका माधव–झलनाथको झटारो, भित्र–भित्रका धमिराहरुजस्ता लाग्नेहरुको प्रयासले एमाले धूलो नै हुन्छ जस्तो लाग्दा पनि दलको कत्ति साख नडगाउने मियो केपी बने । अझै पनि एमाले संक्रमणकालबाट पार पाइसकेको छैन कि जस्तो देखिन्छ । यो अवस्थामा नेतृत्वले उचित व्यवस्थापन र कडाइ गर्न नसकेमा दल नै तहसनहस हुन सक्ने तथ्यलाई भुल्न सकिँदैन ।

रावलको अन्य इमानदारी कसैबाट छिपेको छैन, तर उनले ओलीप्रति पूर्ण विश्वासको अनुभूति दिन सकेनन् । उनी जुन समयमा केपी ओलीको लागि खम्बा बन्नुपर्ने थियो त्यो समयमा खारिन सकेनन् । अब केही समय पनि एमालेको संक्रमणकाल रहने अवस्था आउँदासम्म एमाले एक भन्ने भावना दिने र संक्रमणकाल सकिएपछि लोकतान्त्रिक आचरणको आधारमा फरक मत राख्ने र ओलीसँग मिलेर नै कार्यकर्ताको मन जित्ने कार्य हुनुपर्नेमा उनीले त्यति समय पर्खन सकेनन् ।

एमालेमा न सैद्धान्तिक विवाद छ, न यो इमानदार र यो बेइमान भनेर समूहको आधारमा छुट्याउन सजिलो छ । केवल ओली मन परे वा परेनन् भन्ने आधार देखिएको छ । काखा र पाखाको चिन्ता छ, त्यो गल्ती भएदेखि पार्टीका फोरममा कार्यकर्ताहरुमा जान सकिनेमा बाहिर नै आफ्ना उत्कण्ठाहरु पोख्नुपर्ने थिएन । तथापि सिद्धान्त नै फरक भएको हो भने पनि दुईवटा फरक विचार लोकतन्त्रमा एकै ठाउँमा बस्न उपयुक्त नहुन सक्छ । चुनावमा समेत मिलेर लड्न हुँदैन, बरु चुनावपछि हैसियत र मुद्दाको आधारमा कार्यगत एकता हुन सक्छ । यो रोगको शुरुवात देउवाले गरे र त्यसको ठूलो सहयोगी प्रचण्ड बने । यसले गर्दा मतदाताहरुको वैचारिक मत निखाररुपमा बाँकी रहेन । विचारको आधारमा बहसको समाप्ति नै देउवा–प्रचण्डको ठूलो राजनीतिक कमजोरी र सैद्धान्तिक बेइमानी भयो ।

हुन त राजनीतिक विश्वास आर्थात् सिद्धान्तको आधार रहेको आर्थिक फरक एजेन्डा लोकतन्त्रमा पूर्णतः फरक रहन सक्दो रहेनछ । दलका सिद्धान्तहरु बहुलवादी र बहुदलीय राजनीतिमा एक–अर्कासँग अछूतो भएर रहन सक्ने रहेनछन् । कुनै योजना कुनै दल सरकारमा रहँदा अर्कोले बेठीक नै भनेको भए पनि जनतामा लागू भएपछि त्यसको असर र प्रभावलाई रोक्न अर्को दल सरकारमा जाँदा पनि कठिन हुँदो रहेछ । शायद रियल पोलिटिक्स लोकतन्त्रको अन्तर्य रहेछ जस्तो पनि लाग्छ । जस्तै– बेलायतमा पुँजीवादी भनिने कन्जर्भेटिभ पार्टी र समाजवादको नजिकजस्तो लाग्ने लेवर पार्टीहरुका सरकार बदलिँदा सामाजिक सुरक्षा व्यवस्थासमेतमा यस्तो परिवर्तन आएको देखिंँदैन । अर्थात् सैद्धान्तिक आधारहरुका साझा अर्थात् उपयुक्त पक्षलाई समावेश गर्ने बाध्यता हुन्छ ।

हुन पनि मानिसहरु नेपालमा समेत पुँजीवाद, समाजवाद, उदारवाद, साम्यवाद आदिका कुरा गर्दछन् । ती आदर्श त कुनै पक्षको मात्र सैद्धान्तिक अध्ययनका विषय हन् । ती पक्षलाई व्यवहारमा ल्याउँदा औचित्य र आवश्यकताको आधारमा एउटै पद्धतिमा पनि सबै सिद्धान्तहरु उपयोग गरिन्छन् । जबकि एक दलीय परिपाटीमा फरक मत, अल्पमत भन्ने हुन्छ । त्यो पूर्ण त बाध्यात्मक स्वाभाविकता हो । किनकि फरक दल खोल्न वा फक्राउन नै सकिँदैन । लोकतन्त्र नहुँदा कतिपय नेताहरुले विरोधी स्वरको कारणले जीवनको नै सुरक्षा नहुने हुनाले गल्ती गरेका छन् भन्ने साहस हुँदैन । कोही आफ्नो समर्थक कार्यकर्ता नै पनि ज्यादा जनप्रिय भएमा सर्वसत्तावादी व्यवस्थाका मालिकहरु सजग हुन्छन्। स्टालिनको समयमा उनका पूर्ण सहयोगी र अन्धभक्तजस्ता रहेका व्यक्ति मस्कोका मेयरमा अत्यधिक मतले जिते। उनी देशभरमा नै जनप्रिय हुनेजस्तो देखियो। सोभियत समाजवादी गणतन्त्र रुसमा राष्ट्रपति स्टालिनका ती भक्त मारिए र कसले मा¥यो भन्नेसमेत राम्रो छानबिन नहुँदा थाहा भएन। चीनमा सुधारवादी नेता तेग् स्याओपिङलाई माओले धेरै दुःख दिए मात्र होइन, बरु उनका जेठा छोरालाई माओको लालसेनाले कुटेर र तलामाथिबाट खसालेर अपांग नै बनाए।

अहिलेको चीन माओको चीन होइन, माओको समय अर्थात् २९७० को दशकको पूर्वाद्र्धमा माओको मृत्य भयो । त्यस समयमा चीनको विकास भारतको भन्दा राम्रो थिएन। उत्तर कोरिया विरोध गर्ने आफ्नै परिवारका सदस्यहरु र नातेदारलाई पनि सिकारी कुकुरहरुको खोरमा नै फालिदिएर मारेका आरोपहरु लागेका छन् । खमेरुजहरुले विरोधीहरुलाई तहसनहस पार्दा देश नै तहसनहस भयो । ९५ प्रतिशतभन्दा ज्यादा बौद्धहरु भएको देशमा अहिले करिब ९५ प्रतिशत इसाईहरु छन् । धर्मको राजनीति पनि अचम्मको छ । देश डुबोस्, तानाशाह नै आओस्, जनतामा दुखैदुःख होस् तर त्यसै कारणले आफ्नो धर्म प्रचार गरेर धार्मिक प्रभुत्ता स्थापना गर्न पाइन्छ भने त्यो पनि ठीक छ भन्ने पनि छन् । त्यसको पछि लाग्नेहरु नेपालमा पनि सलबलाएका होलान् । नेपाल गृहयुद्धमा गए जाओस् तर आफ्नो धार्मिक अभीष्ट पूरा हुनुपर्छ भन्ने सोच कदापि राम्रो हुन सक्दैन ।

अर्थात् देशमा धेरै पक्षका प्रभावहरु र स्वार्थहरुले काम गरेका हुन्छन् । राम्रो देखाउने, परिणाम नराम्रो आउने कार्य पनि हुने गर्छन् । नेपालमा राजनीतिक अवस्था अहिले कमसे कम कम्पुचिया, उत्तर कोरियाको जस्तो छैन । ओलीको कार्यशैली मन नपरे अर्को दल खोज्न पाइन्छ । फरक मत भनेर एउटै पार्टीमा बाँधिन पर्दैन, पर्खन सके र केही लक्ष्मणरेखाहरु पार नगरे पार्टीमा रहन पनि सकिन्छ । एमालेमा माओवादी पक्षको बाहिर गमन भयो, माधवकुमार नेपालहरु फुट्नेजस्ता कार्य भए । बामदेव पनि एमालेमा सकारात्मक सन्देश दिने व्यक्तित्व रहेनन् । त्यो अवस्थामा कतै एकपा एमाले पूर्ण त अव्यवस्थित हुने पो हो कि ? भन्ने थियो तर चुनावमा सबै दलको भन्दा पपुलर मत एमालेले ज्यादा ल्यायो । यो एमालेको सम्पत्ति हो र यो सम्पत्तिलाई बचाउने कार्य ओलीको मात्र नेतृत्व र त्यसमा सम्हालिएकाहरुको भावनाको कारणले भएको हो । यो कार्यको लागि पनि रावलको सकारात्मक भूमिका रहेन । रावलले जहिले पनि ओलीको विरोध मात्र गरे । पार्टी कठिन अवस्थामा अर्थात् संक्रमणकालमा उनले ठूलो गल्ती नै गरेका हुन् । यद्यपि उनी समाज र राष्ट्रका लागि बेइमान नेता होइनन् । जानेर मात्र होइन, नजानेर पनि समाज र देशको प्रत्यक्ष अहित गरेका नेता होइनन् । हामी राजनीतिभन्दा बाहिर रहनेले उनलाई नकारात्मकरुपमा हेर्न आवश्यक छैन । तर उनको एमालेमा क्रियाकलाप जस्तो हुनुपर्ने हो त्यस्तो नभएको सत्य नै हो ।

बहुदलीय लोकतन्त्रमा मन नमिलेपछि अर्को दल खोल्ने, मन मिल्ने अर्थात् मुख्यतः वैचारिक धार मिल्ने दलमा जान सकिनेसमेत अधिकार छ । दलमा उचित योगदान दिइएन वा दिन चाहिएन या दिन दिइएन भने, एक दलीय सर्वसत्तावाद या धार्मिक राज्यमा जस्तो ज्यानकै खतरा पनि हुँदैन । नेकपा एमालेको संस्थापन पक्षले गल्ती नै गरेको र रावल ठीक छन् भने आउँदो चुनावमा जनताले र कार्यकर्ताहरुले मूल्यांकन गर्ने नै छन् । तर ओलीको इतिहासले देखाएको छ, बहुमत लोकतन्त्रका पक्षधर कम्युनिस्टहरु उनको साथमा अर्थात् एमालेको वर्तमान नेतृत्वमा रहेको र रहन चाहेको देखिएको छ । माओवादीको ठूलो हिस्साले र दुई पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्रीसमेत भएकाले बल गर्दासमेत केही नभएर अझै पपुलर मत ज्यादा ल्याएको ओलीको नेतृत्व भीम रावलको कारणले ताछिन्छ जस्तो लग्दैन ।

ओलीलाई उनीभन्दा पहिला नेता भएकाहरुले हेपेको कारण र उनको जनप्रियता नबुझेको कारण एमालेमा विवाद आएको हो । कांग्रेसमा पनि गिरिजाप्रसाद कोइरालाको जनप्रियता र उनीभन्दा सिनियर नेताहरुले उनलाई हेपेको कारण नै कांग्रेसमा विवाद आएको थियो । पार्टीमा यस्ता अवस्था आउँछन्, जसले जनताको पक्षमा को छन् भन्ने मूल्यांकनको प्रतीक्षा गरेका हुन्छन् । एमालेलाई प्रचण्डहरुले कब्जा गर्न खोजे तर सफल भएनन्, माधव नेपालहरुले देखाइदिन खोजे तर सकेनन् । बामदेव निष्क्रिय भए पनि फरक परेन, केही माक्र्सवादीहरुले चित्त दुखाउँदा पनि केही भएन, रावलको कारणले केही होला त ?

एमाले र ओलीको चट्टानी अडान एक–अर्काका पूरक भएका छन् । केवल लोकतन्त्रलाई मूल एजेन्डा र लोकतन्त्रको माध्यमबाट नै समाजवाद जान सबैभन्दा उपयुक्त हुन्छ भन्ने सन्देश एमालेमा अझै सशक्त भएर जानुपर्छ अर्थात् एमालेले आफूलाई लोकतान्त्रिक समाजवादी धारमा इमानदारीसाथ विश्वको सामु प्रस्तुत भएर जनताको सेवामा लाग्ने आवश्यकता अझै ज्यादा छ । यसै माध्यमबाट एमालेको पहिचान बलियो हुन्छ र पात्रहरु त अस्थायी माध्यम मात्र हुन् । लोकतन्त्रमा आधारित समाजवाद नै यो शताब्दीको लक्ष्य र व्यवहार हुन आवश्यक छ । लोकतन्त्र नै यस्तो परिपाटी हो जहाँ नेताले नजानेर गल्ती गर्ने सम्भावना कम हुन्छ, किनकि उसका विरोधीहरुले उसको गल्ती देखाइरहेका हुन्छन् । नेतामा आफू अरुभन्दा भिन्नै र ठूलो हुँ भन्ने भ्रम एवं घमण्ड रहन सक्दैन, नभए तानाशाही व्यवस्थामा जस्तो त हुनै सक्दैन, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।