काठमाडौं ।
भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालले अत्याधुनिक उपकरण सहितको लेभल ३ आइसियु सञ्चालनमा ल्याएको छ। ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेपछि लेभल–३ आइसियु सेवा सञ्चालनमा ल्याएको हो । सोमबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्पताल पुगी थपिएको नयाँ सेवाको उद्घाटन गरे।
सो अवसरमा बोल्दै उनले स्थानीय नागरिकको पहुँचमा सेवा हुनु पर्नेमा जोड दिए। उनले भने- ‘समुदायलाई आफ्नो महसुस गराउने कोसिस गर्नुहोला । त्यसका लागि अस्पताल समुदायको पहुँचमा हुनुपर्छ।’
उनले गरिब तथा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क हुनुपर्ने व्यवस्थाका लागि पटक पटक भन्नु नपरोस् कार्यान्वयन गरियोस् भन्दै सो सुविधा अन्तर्गत सेवा लिनेको नाम र फोटो समेत सार्वजनिक गर्न समेत आग्रह गरे।
स्वास्थ्य सेवा भनेको आफैमा गुणस्तरीय हुनुपर्छ भन्दै स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने योजनामा सरकार रहेको र सुझाव समितिले स्पष्ट पारि के कसरी स्वास्थ्य बिमा लागु गर्दा ५ लाख बनाउन सकिन्छ भन्ने मार्ग खुल्ला गरेकाले सोही बाटो अपनाउन आफूले सरकार समक्ष प्रस्ताव अघि सारेको उनले बताए।
ह्याम्स अस्पताल तथा नागरिक अस्पतालका अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्र सहयोगी बनेको बताए। निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा स्वास्थ्य संस्था वा अस्पतालहरूको ग्रेडिङ गर्नुपर्नेमा जोड दिए । उनले यसका साथै सरकारले शुल्क पनि निर्धारण गर्नुपर्ने कुरा औँल्याए।
सोही अवसरमा मध्यपुर थिमी नगरपालिकाका उपमेयर सुरेन्द्र श्रेष्ठले सरकारी अस्पतालले मात्रै नथेगिरहेको अवस्थामा नागरिक अस्पतालले भरथेग गर्ने बताए। ‘नगरपालिकाले नेपाल–कोरिया मैत्री अस्पतालमा आधुनिक उपकरणसहित राम्रो सेवा दिने कोसिस गरिरहेको छ । अस्पतालमा ६ वटा आइसियु छन् तर कतिपय अवस्थामा धान्न सकेको छैन र थप गर्दैछौं । यो अस्पतालले पनि सेवा दिँदा थप सहयोग पुग्नेछ।’
आइसियु विशेषज्ञ डा. अर्जुन कार्कीले आइसियुमा निकै जटिल अवस्थाको बिरामी भर्ना गरिने र भन्ने बित्तिकै बाँच्दैन भन्ने धारणा रहेको पाइन्छ । तर, त्यस्तो नभई बिरामीलाई उपचार गरेर निको पार्न त्यहाँ राखिने गरेको र धेरै बिरामी निको भएर जाने गरेका छन्।
‘आइसियुमा हामी त्यस्ता बिरामी राख्छौँ, जसको कुन अङ्गले काम गर्न छाड्ने सङ्केत गर्छ वा छाडेको हुन्छ। त्यहाँ रहेका उपकरणको सपोर्टमा उपचार गरेर खतरामुक्त बनाइन्छ ।’ यस्तो अवस्थामा दक्ष चिकित्सक, उपकरण लगायत महँगो हुने हुनाले बिरामीको उपचार खर्च पनि महँगो हुन्छ’ उनले भने।
अस्पतालका मेडिकल डाइरेक्टर डा. कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधुनिक उपकरणयुक्त बनाइरहेको बताए । उनले उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यमा आफूहरू रहेको बताए। ह्याम्स अस्पताल सञ्चालन गर्ने आरएस भण्डारी समूहले गत भदौ ताका मध्यपुर थिमि–३ गठ्ठाघरमा रहेको १ सय शय्याको नागरिक हस्पिटलको ४३ प्रतिशत सेयर स्वामित्व खरिद गरेको थियो । सो समूहले नागरिक हस्पिटल र नागरिक कलेज अफ हेल्थ साइन्सको ४३ प्रतिशत सेयर ९ करोड ९१ लाख रुपैयाँमा खरिद गरेको थियो ।
नागरिकसँग हाल १ सय शय्याको अस्पतालसँगै १२ रोपनी जग्गा र तीन तलाको नागरिक कलेज अफ हेल्थ साइन्सको सम्पत्ति छ। नागरिक कलेज अफ हेल्थ साइन्सले बीएन, बीएससी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
अध्यक्ष भण्डारीले नागरिक अस्पतालले १६३ हजार स्क्वायरफिट हेलिप्याड सहितको अस्पताल भवन बनाई भक्तपुरकै नमना स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्देश्य रहेको बताए।
प्रतिक्रिया