काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्कघात (स्ट्रोक)को उपचार पनि निशुल्क हुने बताएका छन्। सोमबार कान्ति बाल अस्पतालको ६३ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा उनले ‘स्ट्रोक’को उपचार निशुल्क गर्ने तयारी भएको बताएका हुन्।
‘हामीले केही दिनमा स्ट्रोकको उपचार निशुल्क हुने घोषणा गर्दैछौँ । त्यसको सम्पूर्ण तयारी लगभग पुरा भईसकेको छ,’ मन्त्री पौडेलले भने ।
सो अवसरमा उनले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार पूर्ण रुपमा निशुल्क हुने गरी ५ वटा अस्पताल तोकिएको र त्यसको कार्यान्वयन सुरु भईसकेको बताए। तर, १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क सम्वन्धी ११ कात्तिकमा भएको मन्त्रीस्तरीय निर्णयमा तीनवटा सरकारी अस्पताल मात्रै उल्लेख थियो।
त्यसबेला १ मंसिर २०८१ बाट निशुल्क उपचार हुने अस्पतालहरुमा कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन भनिएको थियो ।
यस्तै उनले सोमबारको कार्यक्रममा जलनको उपचार पनि नि:शुल्क सुरु भएको र त्यसका लागि पनि अस्पताल तोकिएको जानकारी दिए । ‘जलनका लागि ठूलो बजेट भार पर्दो रहेनछ, यसवर्ष हामीले मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्था मिलाएका छौँ । अर्को वर्ष बजेटमै समेटने योजना छ,’ उनले भने ।
गत २ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंको दुई सहित सातै प्रदेशका एक एक वटा अस्पतालमा जलन उपचार निशुल्क हुने घोषणा गरेको थियो। त्यसरी जलन उपचार निशुल्क हुने घोषणा गरिएका अस्पतालहरुमा काठमाडौँको कीर्तिपुर अस्पताल र वीर अस्पताल, कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा रहेका छन्।
यस्तै लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल रहेका छन् । मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउन मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट अङ्ग लिने र प्रत्यारोपण गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए।
‘मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारले अङ्गदान गर्न चाह्यो भने सो परिवारलाई प्रोत्साहन स्वरुप दुई लाख रुपैयाँ दिने निर्णय गरेका छौँ । यस्तै त्यसको जानकारी दिने अस्पताल वा ब्रेन डेथ भएको व्यक्ति रहेको अस्पतालाई ७५ हजार रुपैयाँ दिने व्यवस्था मिलाएको छौँ,’ उनले भने।
यसअघि मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दान गर्न परिवार ईच्छुक हुँदा क्रिया खर्च वापत भन्दै एक लाख रुपैयाँ दिने चलन थियो । त्यसको जानकारी दिने अस्पताललाई ५० हजार रुपैयाँ दिने गरिएको थियो। नयाँ नयाँ घोषणा गरे पनि मन्त्री पौडेलले सबै रोगको उपचार यसरी निशुल्क गर्दै जान नसकिने भन्दै योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकल्प नभएको बताए।
उनले अहिलेको व्यवस्थालाई परिमार्जित गर्दै यसलाई प्रभावकारी बनाउन सुझाव समिति गठन गरेको र सो समितिले राम्रो सुझाव दिएको भन्दै त्यसको कार्यान्व्यन पछि स्वास्थ्यमा सुधार आउने बताए।
प्रतिक्रिया