भूकम्पबाट तिब्बतमा कम्तिमा ९ जनाको मृत्यु


काठमाडौं ।

चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ। चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

भूकम्पले तिब्बतको सिगात्से सहरका भवनहरूलाई भत्काएको छ। आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्से केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।