वामपन्थी एकताको ‘कागजी’ रटानमा माओवादी

564
Shares

काठमाडौं ।

वामपन्थी एकताको कथनी र कागजी रटानलाई बेलाबखत उछाल्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पार्टी बलियो बनाउन बृहत् वामपन्थी एकतालाई प्राथमिकता दिने योजना दोहोर्‍याएको छ।

आइतबारबाट चलेको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकताको विषयलाई प्राथमिकताका साथ उठाउनुभएको हो। विगत वर्षदेखि नै वाम तथा कम्युनिस्टहरूबीच कार्यगत एकता हुँदै पार्टी एकतासम्म जान सकिने प्रस्तावसहित विभिन्न दलहरूसँग छलफल भइरहे पनि त्यसको निष्कर्ष निस्कन सकेको छैन।

सोही प्रयोजनका लागि डेढ वर्षअघि गठन गरिएको समाजवादी मोर्चाले समेत हालसम्म देखिने गरी केही गर्न सकेको छैन। माओवादीले साना कम्युनिस्ट घटकलाई सँगै लिएर हिँड्न सके आफ्नो दलको हैसियत बढ्ने सोचेर अभियानमा लागेको माओवादीले चाहँदैमा वामपन्थीहरू एक ठाउँमा आउन नसक्ने कतिपय कम्युनिस्ट नेताहरूले बताएका छन्।

२०७५ जेठ ३ मा दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाएर एक वर्ष टिकाउन नसकेका नेपालका कम्युनिस्टहरूले फेरि वामपन्थी एकताको रटानलाई काजगी रूप दिए पनि सजिलो नभएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

यद्यपि, माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु साह नेतृत्वको आम जनता पार्टी र महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादीसँग एकताको पहल गरिने आफ्नो राजनीतिक प्रतिवेदनमार्फत भन्नुभएको छ। ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले एकीकरणबारे लामो ब्रिफिङ गर्नुभएको थियो।

‘पार्टी एकता र बृहत् वामपन्थी एकीकरणको सन्दर्भमा अहिलेको समाजवादी मोर्चालाई सक्रिय गराउने कुरा भएको छ’, पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो– ‘साथै वैज्ञानिक समाजवाद मान्नेसँग एकताको लागि पहल गर्ने कुरा अध्यक्षबाट आएको छ। विप्लव, नेकपा (बहुमत), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, प्रभु साहको आमजनता पार्टीसँग पनि एकताको पहल गर्ने कुरा भएको छ।’

अध्यक्ष प्रचण्डले ब्रिफिङका क्रममा देशैभरि माओवादीका लागि सकारात्मक ‘भाइब’ पैदा भएको बताउनुभएको थियो। यथास्थितिबाट अगाडि बढ्नुपर्ने, जनतातिर फर्किनुपर्ने र अभियान चलाउन आवश्यक रहेको उहाँको प्रतिवेदनमा उल्लेख छ। तर, पार्टी एकता गर्ने भनेका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया ठोस रूपमा अगाडि बढ्न सकेको छैन। ‘प्रचण्ड’सँग नीतिगत असहमति राख्दै १२ वर्षअघि सम्बन्ध विच्छेद गर्नुभएका विप्लव अहिले माओवादी केन्द्रसहितका चार दल सम्मिलित समाजवादी मोर्चाका समेत हुनुहुन्छ । यद्यपि, पार्टी एकता प्रक्रिया अघि नबढाउनुमा प्रचण्डको चाहना नभएको विप्लवले संकेत गरिसक्नुभएको छ।

उता, नेकपा एकीकृत समाजवादी पनि कम्युनिस्ट पार्टीहरूबीच कार्यगत एकता भए पनि पार्टी एकतासम्म जान सक्ने अवस्था तत्काल नबन्ने जनाएको छ । उक्त दलका उपाध्यक्ष जगन्नाथ खतिवडाले भन्नुभयो– ‘नेकपा एकीकृत समाजवादीले भर्खरै पार्टीको महाधिवेशन सकेर नेताहरूको कार्यविभाजनसमेत सकेको अवस्था छ। यसबीचमा नेकपा एमालेलगायत दलहरूबाट हाम्रो पार्टीमा आउने नेताहरू पनि हुनुहुन्छ । त्यस कारण अहिले नै माओवादीसँग एकता हुन्छ भन्ने कुरा छैन।’

माओवादीले आफ्नो बैठकमा पेस गरेको वाम एकताको प्रस्ताव ठिकै भए पनि अहिले नेपालमा वामहरूको परिस्थिति त्यस्तो नभएको उहाँको भनाइ छ । प्रचण्डले भनेका अरू दलहरू पनि अहिले नै माओवादीसँग एकता गर्ने पक्षमा देखिँदैनन् । नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा रहँदा एमालेबाहेक साना कम्युनिस्ट घटक मिलेर बनाएको समाजवादी मोर्चालाई उपेन्द्र यादवले समेत छाडिसक्नुभएको छ।

अहिले बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा रहँदा पार्टीको क्रान्तिकारी छवि जोगाइराख्ने चुनौती माओवादीसामु आइपरेको बताउनुभएको प्रचण्डले वामपन्थी एकताको कागजी रटानलाई निरन्तरता दिए पनि वास्तविक रूपमा कम्युनिस्टहरू एक ठाउँमा हुन सक्ने अवस्था नेपालको राजनीतिमा नरहेको वाम विश्लेषकहरूले बताएका छन्।