सहयोगी मनहरुको सत्प्रयासमा प्रशंसनीय काम

12.5k
Shares

२००७ सालको परिवर्तनपछि पनि कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भनेझैँ कुनै परिवर्तन आउन सकेन। जनता सुसुप्त अवस्थामा नै रहिरहे। चेतनात्मक विकासको मेरुदण्ड मानिने शिक्षाको उज्यालो प्रकाश पनि उपलब्ध हुन सकेन। गाउँघरमा आधारभूत आवश्यकता परिपूर्ति गर्न भाषा पाठशालातक थिएनन्। तत्कालीनका हामी किशोरहरु गोठालो भएरै हिँडिरहेका थियौँ। आफ्ना सन्ततिको उज्ज्वल भविष्यका चिन्तक हाम्रा गन्यमान्य अभिभावकज्यूहरुको सुझबुझले चुँदी क्षेत्रका विद्वान् पण्डित टीकानिधि खनालज्यूसँग अनौपचारिक शिक्षा लिने सौभाग्य जुर्‍यो । उहाँसँग संस्कृत व्याकरण, रघुवंश, हितोपदेशजस्ता साहित्यसम्बन्धी पुस्तक पढेर परीक्षामा सामेल हुन राजधानी काठमाडौंतिर लाग्यौँ ।

राजधानीमा पुगेर परीक्षा दियौँ र समुत्तीर्ण पनि भयौँ । अंग्रेजी कक्षामा समायोजन हुँदा कक्षा ८ को मान्यता थियो । आर्थिक संकटापन अवस्था थियो तापनि शिक्षा पिपासा भएका हामी तत्कालीन केही किशोरहरु उच्च शिक्षाद्वार मानिने संस्कृत पूर्वमध्यमा पढ्न थाल्यौँ । त्यो थियो अंग्रेजीको १० कक्षासरहको मान्यता प्राप्त । अध्ययनकै क्रममा रानीपोखरी छात्रावासमा ब्राह्मणपुत्रहरुलाई भर्ना लिइने त्यो आवासमा आवेदनको आह्वान भयो । रिक्त विद्यार्थीको स्थानमा आवेदन दियौँ । परीक्षा लिइने रहेछ, परीक्षा दियौँ र चन्द्रमा दाहिने भएछन्, उत्तीर्ण पनि भयौँ । पढुन्जेलसम्मको लागि आर्थिक संकटापन्न अवस्थाबाट मुक्त पनि भयौँ । उच्च शिक्षा लिने चाहना निर्विकल्प पूरा हुने भई नै हाल्यो । त्यो रहेछ आफ्ना भाइबन्धु हत्या प्रायश्चित्तका लागि वीर शमशेरबाट स्थापित र सञ्चालित ।

पढ्नु केवल पुस्तकीय ज्ञान मात्र नभई आफू उभिएको धरातल त्यस ठाउँ, समाजको अध्ययन गर्नु पनि हो । पढ्ने सन्दर्भमा तत्कालीन समयमा हामी किशोरको मन–मस्तिष्कमा दुःख पाएको कुराले डेरा जमाएको थियो । मानिसको रित्तो मनमा वर्षाको बाढी आएझैँ हाम्रो मन–मष्तिकमा विविध विचारका बाढीहरु आउन थाले । बुद्धि र विवेकपूर्ण तरिकाले नियन्त्रण गरी विद्यालयको आवश्यकता देख्यौँ । त्यसै सन्दर्भमा तनहुँ चुदी क्षेत्रका विविध पेसा र व्यवसायमा कार्यरत पाका, अनुभवी, प्रौढ व्यक्तित्वहरुसँग समागम हुन थाल्यो । अध्ययन गर्ने क्रममा अनेकौँ हण्डर र ठक्कर खाएका अनुभवहरु नजरवरिपरि घुमिरहेका हामीहरुमा उहाँहरुसँगको समागमले जोश–जाँगर भरिन थाल्यो, हौसलाको संवद्र्धन हुन थाल्यो।

उता तनहुँ चुदी क्षेत्रका प्रौढ व्यक्तित्वहरुबाट पनि चुदी क्षेत्रमा उच्च द्वार मानिने शिक्षा दिन सक्ने खालको एक विद्यालयको स्थापना आवश्यकता भएको कुरा जानकारी पायौँ । पाको अनुभव, प्रौढ व्यक्तित्वको विचार र जोश–जागँर भरिएका तत्कालीन हामी युवाहरुको विचारमा तादात्यम्यता आएकाले हामी एक–अर्कामा एकाकार भयौँ । समय–समयमा समागमको वातावरण सिर्जियो । विद्यालय स्थापनाको निश्चित टुंगो लागिहाल्यो । परिणामतः बाइसे चौबीसे सेन वंशीय रजस्थल पूर्वोत्तर स्थानीमाईको काखमा चिरकट्टाको पाखामा तत्कालीन १२ गाउँपञ्चायतको बृहत्तर जनभेला भयो । त्यही बृहत्तर भेलाले २०२१ साल पौष ६ गते करतल ध्वनिका साथ चन्द्रावती नामाकरणलाई स्वीकार गरी सञ्चालन गर्ने निर्णय लिइयो । यो त्यतिखेर जिल्लाको दोस्रो विद्यालयको मूर्तरुप थियो। यो हाम्रो सत्प्रयासको सफलता पनि थियो।

यस विद्यालयले धेरै आरोह–अवरोह पार गरेर वार्षिकोत्सव मनाउने सन्दर्भमा ६१ औँ वार्षिकोत्सवमा समावेश हुन पाउँदा खुशी लाग्नु स्वाभाविक नै भयो । यो विद्यालयले २०८० सम्म नेपाल सरकार शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालयले लिने प्रवेशिका परीक्षामा ५७ विद्यार्थी समूह समावेश गराइसकेको छ । यसै अन्तर्गतको २३ औँ वर्षीय समूह (२०४५) ले प्रविधिमैत्री शैक्षिक सामग्री, अक्षय कोष स्थापना, आफ्ना तत्कालीन अध्यापन गराउने गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम अघि सारेकोमा खुशी लाग्यो। त्यो कार्य त्यति सहज थिएन तापनि आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरी केही विद्यार्थीहरुको भौतिक उपास्थितिमा असमर्थता भएता पनि भावनात्मक एकता भने प्रस्ट झल्किन्थ्यो ।

पूर्व विद्यार्थी समाज २०४५ को समूहले विद्यार्थी प्रविधिमैत्रीका रुपमा स्तरोन्नतिका लागि एक प्रोजेक्टर, जुनियर रेडक्रसबाट सञ्चालित हुने प्राथमिक उपचारका लागि अक्षयकोषको स्थापनार्थ रु. २ लाखको चेक हस्तान्तरण गर्न सफल हुन पुग्यो। संस्थापक सदस्य तथा पूर्वअध्यक्ष त्यति मात्र नभई तत्कालीन समयमा अध्यापन गराउने आफ्ना गुरुहरुलाई दोसल्ला, शिरपोश, एक लेखनी, एक नोट बुक, सम्मानपत्रसमेत प्रदान गरी गुरुहरुप्रति भक्तिभाव प्रदर्शन गरेर आफ्नो संस्कार संस्कृति बचाउन ठूलो टेवा पुर्‍याउने कार्य पनि अविस्मरणीय रह्यो। यसरी पूर्वविद्यार्थी समाजको शैक्षिक स्तरोन्नयनका लागि समर्पणभाव कार्यरत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकको सम्मान, अध्ययनरत विद्यार्थीहरुप्रति स्नेह–सद्भाव प्रदर्शन गरी आत्मीयताको कसिलो गाँठो कसेर गाउँ, समाज मात्र नभई जिल्ला स्तरमै अनुपम उदाहरण प्रस्तुत गरी अनुकरणीय अमिट छाप छाड्न सफल भएकोमा यस पुनीत कार्यमा संलग्न पूर्वविद्यार्थी २०४५ समूहलाई मुरी साधुवाद । आइन्दा दिनहरुमा पनि यस्तै पुनीत कार्यहरु गर्ने प्रेरणा मिल्दै जाओस् । सबै विद्यार्थीहरुमा शुभकल्याण ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको संकटापन्न अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति अक्षय कोषको स्थापना गर्ने पूर्वविद्यार्थी डा. शेखर पण्डित, पूर्वशिक्षक अरुण खनाल, सामाजिक व्यक्तित्व गणेश मल्ल, विद्यालय संस्थापक–पुत्र डा. प्रशान्त ढकाललगायत अन्य जो जसले अक्षयकोष राखी सेवा पुर्‍याउनुभएको छ, उहाँहरुप्रति पनि कृतज्ञता ज्ञापन गर्न चाहन्छु । साथै सबै सहयोगी मनहरुप्रति शुभकल्याणको कामना !

विद्यालयमा पठनपाठन तथा विद्यार्थीहरुको चरित्र निर्माणमा राम्रो ध्यान पुर्‍याई स्तरीय शिक्षा दिएर जिल्लाकै नमुना बनाउन कम्मर कसेर लाग्नुहुन शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरुमा हार्दिक अनुरोधका साथ विद्यालयको उन्नति–प्रगति हुँदै जाओस् । सबैमा जोश, जाँगरको संवद्र्धन हुँदै जाओस् भन्ने अपेक्षाकृत आशाका साथ शुभकामना !