संसारकै लोकप्रिय खेल भलिबल


भलिबल संसारकै लोकप्रिय खेलमध्येमा पर्छ । भलिबल नेपालमा पनि लोकप्रिय बनेको खेल हो । गाउँ गाउँ, सहर सहर वा खुला ठाउँमा खेल्न सकिने खेल हुँदा पनि यो खेल नेपालमा लोकप्रिय भएको हो । यसैले पनि डण्डिबियो, कपर्दी खेललाई छोडेर भलिबललाई २०७६ सालमा नेपालको राष्ट्रिय खेल घोषित गरियो ।


यसअघि नेपालको राष्ट्रिय खेल कुन हो भन्नेमा अन्योल नै थियो । तर, भलिबललाई राष्ट्रिय खेल घोषित गरिसकेपछि त्यो अन्योलताको समाप्त पनि भइसकेको छ । नेपालमा हरेक मौसममा भलिबलका राष्ट्रिय र स्थानीय प्रतियोगिताहरू आयोजना भइरहेको पनि छ । बिगत केही वर्षदेखि नेपाली भलिबल टोलीले अन्तर्राष्ट्रिय जगतमा पनि सफलता हासिल गरेको छ ।
नेपालमै यही वर्ष भलिबलको फ्रेन्चाइजी लिग शुरू भयो ।

महिला भलिबलमा भएको फ्रेन्चाइजी प्रतियोगितामा विदेशका चर्चित खेलाडीले पनि खेलेका थिए । यो प्रतियोगिताले नेपाली महिला खेलाडीले विदेशका खेलाडीसँग केही सिक्ने मौका मिलेको थियो । यदि, त्यही प्रतियोगिता लगातार गर्न सके नेपाली भलिबलले दक्षिण एसियाली स्तरमा राम्रो छाप छोड्नेमा कुनै शंका हुँदैन ।

खेल्ने नियम


भलिबल हातले खेलिने खेल हो । भलिको रूपमा खेलिने भएको हुँदा यसलाई भलिबल भनिएको हो । यसमा खुट्टाको प्रयोग गर्न पाइँदैन । भलिबलमा एक टोलीमा ६ जना खेलाडी हुन्छन् भने दुबै टोलीका गरी १२ खेलाडीले कोर्टमा खेल्छन् ।
६ खेलाडीको भूमिका पनि फरक फरक हुन्छ ।

भलिबलमा सर्भिस गर्ने खेलाडीलाई सर्भर भनेर बुझ्न सकिन्छ । यो जुन खेलाडीले पनि सर्भ गर्न सक्छन् । बल अर्को टोलीको कोर्टमा पुग्दा बललाई उठाउँछ । ती खेलाडीलाई लिफ्टर भनिन्छ । त्यस्तै बललाई अर्को टोलीको कोर्टमा सट हान्ने खेलाडीलाई स्पाइकर भनिन्छ । यस्तै, बल सेटिङ गर्ने खेलाडीलाई सेटर भनिन्छ । एक जनाको भूमिका लिबरोमा हुन्छ । लिबरो खेलाडी अरू ५ खेलाडीभन्दा अलग देखिन्छन् । उनको जर्सी पनि अरू खेलाडीको भन्दा छुट्टै हुन्छ । लिबरोको भूमिका धेरै महत्वपूर्ण हुन्छ ।


भलिबल कोर्ट

भलिबलको कोर्ट १८ मिटर लम्बाइ र ९ मिटर चौडाइमा बनेको हुन्छ । कोर्टलाई बराबरी गरी बिचमा एक मिटरको जाली (नेट) राखिएको हुन्छ । नेटको उचाइ भने पुरुष र महिला खेलाडीको लागि फरक गरिएको हुन्छ । पुरुष खेलका लागि ७ फिट साढे ११ इन्चको नेट राखिन्छ भने महिला खेलका लागि ७ फिट साढे ४ इन्चको नेट प्रयोग गरिन्छ । भलिबलमा प्रयोग हुने बल २६० देखि २८० ग्रामको तौल हुन्छ ।

भलिबलको इतिहास
भलिबलको इतिहासअनुसार भलिबलको आविष्कार सन् १८९५ मा विलियम जो मोर्गानले गरेका थिए । यस हिसाबले भलिबल शुरू भएको सन् २०२५ सम्म गर्दा करिब १३० वर्ष भइसकेको छ । तर, भलिबल भन्दा पहिले बास्केटबल खेल शुरू भइसकेको थियो ।
पहिले प्रदर्शनीको रूपमा सन् १८९६ मा भएको थियो । हाल स्प्रिन्गफिल्ड कलेज (अमेरिका) नामकरण गरिएको कोर्टमा सो प्रदर्शनी खेल आयोजना गरिएको थियो । बललाई धेरै माथि पनि होइन र धेरै तल पनि होइन ठिक्क भलिको रूपमा प्रहार गर्ने हुँदा त्यतिबेला नै यो खेलको नाम भलिबल भनेर नामाकरण गरिएको थियो ।

अंक निर्धारण
भलिबलमा एक टोलीले सर्भिस गर्छ । तब अर्को टोलीका खेलाडीले बल उठाउन नसकेमा अंक सर्भिस गर्ने टोलीले पाउँछ । बललाई स्पाइक गरेर बलले अर्को टोलीको भुँइमा छोएर बाहिर गएमा वा त्यो टोलीका खेलाडीले उठाउन नसकेमा अंक स्पाइक गर्ने टोलीले पाउँछ । यदि स्पाइक गर्दा विपक्षी खेलाडीले सफल ब्लक गरेमा विपक्षी टोलीले एक अंक पाउँछ ।
यो अंक निर्धारण पहिले पहिले स्थानीयमा खेल्दा फरक थियो । जसले सर्भिस गर्छ त्यसले अंक पाउने प्रावधान गरेको थियो । यो नियम राष्ट्रियस्तरको खेलमा पनि हुन्छ । तर, यसले खेल लम्बिने हुँदा यो अंक निर्धारणलाई खारेज गरेर नयाँ नियम निकाल्यो । जसमा, हरेक सर्भिसमा अंक मिल्ने प्रावधान भयो ।