अघिल्लो साता राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ प्रतिवेदन सार्वजनिक गर्दै देशभर होटल तथा रेस्टुरेन्ट अर्थात् आतिथ्य सत्कार उद्योगमा १ लाख ४२ हजार २२३ प्रतिष्ठान रहेको र तिनले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने उल्लेख गरेको छ।
५ खर्ब ४३ अर्ब रुपियाँ स्थायी सम्पत्ति रहेको उक्त उद्योगमा ३ लाख ८७ हजारजनाले रोजगारी पाएका छन् भने तिनलाई तलब वार्षिक २० अर्ब ६१ करोड ५० लाख ७६ हजार रुपियाँ भुक्तानी हुने गरेको छ। त्यस्तै करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको छ। यो यद्योगले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ दशमलव ९६ प्रतिशत योगदान पुर्याएको छ।
यस तथ्याङ्कअनुसार यस उद्योगले देशको पर्यटन क्षेत्र र समग्र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक धरोहरलगायत साहसिक गतिविधिले विदेशी पर्यटकलाई आकर्षित गर्ने भएकाले होटल तथा रेस्टुरेन्ट उद्योगको आधारभूत संरचनामा विकास हुँदै गएको छ। यस उद्योगले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई सकारात्मकरूपमा प्रभावित गरेको छ।
शहरीकरण र पर्यटनको वृद्धिसँगै काठमाडौं, पोखरा, लुम्बिनी, चितवन र अन्य पर्यटकीय क्षेत्रहरूमा स्टार होटलदेखि साना गेस्ट हाउस र स्थानीय रेस्टुरेन्टहरूको संख्या बढ्दै गएको छ । त्यसबाहेक साना होमस्टे र बुटिक होटलहरूले ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न मद्दत पुर्याएका छन्।
आधुनिक प्रविधिको प्रयोग बढ्दै गएपछि अनलाइन बुकिङ प्लेटफर्म, डिजिटल मार्केटिङ र ग्राहक सेवा सुधार गर्न नयाँ प्रविधि अपनाइएको छ। यस उद्योगले ठूलो मात्रामा रोजगारीको अवसर प्रदान गरेको छ। प्रत्यक्षरूपमा होटल तथा रेस्टुरेन्टमा र अप्रत्यक्षरूपमा आपूर्ति चेन (कृषि, निर्माण, हस्तकला) मा लाखौँ मानिस निर्भर छन्। विदेशी पर्यटकबाट हुने खर्चले वैदेशिक मुद्रा भित्र्याउन पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
कृषिजन्य उत्पादन, हस्तकलाका सामग्री र सेवाको माग बढेको छ। स्थानीय परम्परागत खाना, कला र जीवनशैलीलाई प्रवद्र्धन गर्न सहयोगी बनेको छ। होटल तथा रेस्टुरेन्टको विकासले स्थानीय समुदायको आयस्तर सुधार गर्न मद्दत गरेको छ। तथापि, यो सकारात्मक प्रभावका साथै बढ्दो पर्यटन र उद्योगले पर्यावरणमा भने दबाब सिर्जना गरेको छ। फोहोर व्यवस्थापन, जल र ऊर्जाको दुरुपयोग र पर्यटकीय क्षेत्रहरूमा अतिक्रमणजस्ता समस्या समाधान गर्न नीति तथा व्यवस्थापन आवश्यक छ।
त्यस्तै दक्ष जनशक्तिको अभाव, सेवामा गुणस्तरको कमी र प्रविधिको सीमित उपयोग यस क्षेत्रका मुख्य चुनौती हुन्। कोभिड–१९ महामारीपश्चात् होटल तथा रेस्टुरेन्ट उद्योगलाई नराम्ररी प्रभावित गर्यो। पर्यटक आगमनमा कमी र रोजगारी गुम्ने समस्याहरू देखिए । वित्तीय स्रोत र पूर्वाधारको कमीले उद्योगको दीर्घकालीन विकासलाई प्रभावित गर्यो । तर, अब फेरि यो क्षेत्रले पुनर्जीवन पाउँदै गएको छ।
फेरि जुर्मुराउन थालेको यो क्षेत्रमा सुधारको खाँचो पनि उत्तिकै देखिएको छ । होटल तथा रेस्टुरेन्ट उद्योगलाई प्रोत्साहित गर्न र दिगो पर्यटन विकासका निम्ति पर्यावरणीय जिम्मेवारीसहितका व्यवसाय मोडलहरू अपनाउनुपर्छ । सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूबीच सहकार्य गर्नुपर्छ। होटल म्यानेजमेन्ट, खाना पकाउने कला र ग्राहक सेवा क्षेत्रमा तालिम प्रदान गर्नु आवश्यक छ।
पर्यटनलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाए पनि गुणस्तर सुधार, दिगो विकास र चुनौतीहरूको सामना गर्न दीर्घकालीन रणनीति आवश्यक छ। पर्यटनमैत्री वातावरण निर्माण र यस क्षेत्रको सुदृढीकरणमार्फत नेपालले आर्थिक सम्भावनालाई अझ बढी उपयोग गर्न सक्ने भएको हुँदा सरोकार पक्षले विशेष ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया