हामी आफ्नो जीवनमा निकै धेरै योजना बनाउँछौँ । यी सारा योजनालाई पूरा गर्न कटिबद्ध हुन्छौँ । यथार्थमा एउटा पनि योजनालाई पूरा गर्न सक्दैनौँ । वास्तवमा हामीलाई सफलता पनि चाहिएको छ, हामीलाई ख्याति पनि चाहिएको छ । हामीलाई यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ ! तथापि, यी सबै कुराहरूका बीचमा ‘म को हुँ’ भन्ने एउटा कुरालाई चाहिँ हामीले बुझ्न सकेका हुँदैनौँ । यो दुनियाँले त हामीलाई के चाहिन्छ भन्ने कुराका बारेमा बताइरहन्छ । तर, तपाईँले स्वयंसँग ‘मेरो चाहना के हो ?’ भनेर प्रश्न गर्नुहुन्न । तपाईँलाई प्राप्त भएको यो जीवनमा तपाईँका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ! यो संसारले बताइदिएको कुरा होइन, तपाईँको हृदयबाट उत्पन्न हुने कुराचाहिँ हो । तपाईँ को हुनुहुन्छ ? तपाईँ वास्तवमा के चाहनुहुन्छ ?
यी सबै कुराहरूमध्ये मानिसलाई अरू सबै जिम्मेवारीका बारेमा त थाहा छ तर उसलाई स्वयंका बारेमा नै थाहा छैन । मानिसले आफूले आफूलाई चिन्दैन भने उसलाई आफू को हुँ, के हुँ, यहाँ किन आएको छु भन्ने प्रश्नको उत्तर कसरी थाहा हुन्छ र ! यी कुरा थाहा नभएका कारण उसमा हजारौँ प्रश्नहरू उठ्छन्– म यहाँ के गरिरहेको छु, मलाई यस्तो कसरी भइरहेको छ, यो किन भइरहेको छ, त्यो किन भइरहेको छ, यो किन राम्रो छ, यो खराब किन छ ! यी अनेकन् प्रश्नहरू हुन्छन् । यदि आफूले आफूलाई चिन्नुभएन भने यिनै सारा कुराहरू हुनेछन्, किनभने संसारका सबै कुराहरू बदलिरहन्छन् । तथापि, यदि आफूले आफूलाई चिन्नुभयो भने यी कुराहरूबाट हटेर तपाईँभित्र रहेको चिजका बारेमा जान्न सक्नुहुन्छ । यो कुरा आज मैले भनिरहेको छु तर धेरै वर्ष पहिला सुकरातले भनेका थिए– ‘नो योरसेल्फ !’ आफूले आफूलार्ई चिन्नुहोस् । उनी ग्रिसका निकै प्रसिद्ध दार्शनिक हुन् । उनले भनेका छन्, ‘आफूले आफूलार्ई चिन्नुहोस् । आफूले आफूलार्ई पहिचान गर्नुहोस् ।’ कबिरदासले पनि भनेका छन्–आत्मज्ञान– सेल्फ नलेज अर्थात् आफूले आफूलाई चिन्नु ।
आत्मज्ञानविना मानिस भड्किन्छ,
कहिले मथुरा त कहिले काशी ।
मृगको नाभिमा हुन्छ कस्तूरी,
वन–वनमा घुम्छ भई उदासी ।
यसको अर्थ मृगको नाभिमै कस्तूरी हुन्छ तर थाहा नभएका कारण त्यस चिजको खोजीमा ऊ उदास बनेर वनवनमा भौँतारिन्छ । उसले चाहना गरेको चिज त उसैका साथमा छ तर ऊ त्यो चिजलाई नपाएका कारण दुःखी भएर भौँतारिरहेको छ । आज हामी आफ्नो जिम्मेवारीका पछि, प्रविधिका पछि लागिरहन्छौँ । मैले आफ्ना जिम्मेवारीहरूलाई अपनाउनुहुँदैन भन्न खोजेको होइन । हामीले यसलाई अपनाउनुपर्छ तथापि यदि हामीले यसलाई स्वीकार पनि गर्यौँ अनि पार गर्नुपर्ने पुलका बारेमा हामीलाई थाहा छैन भने अर्थात् त्यो पुल बलियो छैन भने हामी लक्ष्यसम्म कसरी पुग्न सक्छौँ र ! हामीले स्वयंलाई नबुझेसम्म हाम्रो गन्तव्यलाई कसरी पहिल्याउन सक्छौँ ?
हाम्रा लागि सम्भव हुने कुरा के हो ! कुन चिजका लागि हामी यहाँ (पृथ्वीमा) छौँ ! प्रकृतिले किन हाम्रा लागि यो सबैथोक बनाएको छ ? हामी यहाँ कसरी आयौँ ? धेरै मानिसले हामीलाई सृष्टिकर्ताले बनाएर यहाँ पठाएका हुन् भन्ने गर्छन् । म मानिसहरूलाई सोध्न चाहन्छु, ठीक छ ! तपाईँ जन्मनुभयो, तपाईँ यो पृथ्वीमा हुनुहुन्छ अनि एकदिन तपाईँले जानुपर्छ । तपाईँ यो पृथ्वीमा जन्मेपछि के यस पृथ्वीको तौल बढ्यो ? अनि जब तपाईँ यो पृथ्वीबाट जानुहुनेछ, के यो पृथ्वीको तौल घट्नेछ ? अब यो आफैँमा एउटा प्रश्न हो। यो कुरा मानिसले स्वयंसँग सोध्नुपर्छ, किनभने सत्य कुरा त तपाईँको जन्म भएकै कारणले यस पृथ्वीको तौल थप बढेको थिएन। अनि, तपाईँ जानुभएपछि पनि यो पृथ्वीको तौल कम हुने होइन । किनभने, तपाईँ बन्नुभएका पदार्थहरू यसै पृथ्वीका चिज हुन् अनि ती चिजहरू यसै पृथ्वीमा रहनेछन् । यहीँ, यही माटोमा विलय हुने हो । यहीँबाट आयौँ, यहीँँ छौँ । तथापि, एउटा कुरा फरक छ– हामी जीवित रहेसम्म केही अरू नै कुरा भइरहेको छ । हामीभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ।
मानिसको जीवन पनि एउटा सुनजस्तै हो। तर, समय रहँदै हामी यसलाई कदर गर्न जान्दैनौँ । हामी आफ्नो भाग्य खुल्ने पर्खाइमा रहन्छौँ । कोही आउँछ र हाम्रो भाग्य खोलिदिन्छ भन्ने सोच्छौँ। यही पर्खाइमा हामी पूरै जीवनलाई खेर फाल्छौँ । यो मानिसको जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कुराका बारेमा हामी कहिल्यै सोच्दैनौँ।
मैले श्वासको बारेमा कुरा गर्दा धेरै मानिसले बुझ्दैनन्– ‘तपाईँ के भनिरहनुभएको छ ?’ तर, तपाईँ जन्मनुभन्दा पहिला तपाईँका आमाबुबाले छोरो होला कि छोरी होलिन्, के हुने होला, के नहुने होला भनेर सोच्नुहुन्थ्यो । तपाईँ जन्मिदा सबैको ध्यान एउटै ठाउँमा, एउटै कुरामा केन्द्रित थियो– तपाईँ श्वास लिइरहनुभएको छ या छैन ? अनि, यो श्वास तपाईँको जीवनभरि चलिरहन्छ । अन्तिम समयमा एउटा यस्तो पनि हुन्छ, जतिखेर डाक्टरले तपाईँ हुनुहुन्छ या हुनुहुन्न भनेर निर्णय दिनुपर्ने हुन्छ । मेसिन जडान भएको हुन्छ । सारा कुराहरू जोडिएका हुन्छन् तर अन्तिम जाँचमा– तपाईँ श्वास लिइरहनुभएको छ या छैन ?
खुशीको खबर के हो भने, समस्याहरू हामीले नै बनाएका हौँ अनि यदि हामीले यिनलाई परिवर्तन गर्न चाह्यौँ भने बदल्न सक्छौँ । तपाईँको जीवनमा के भइरहेको छ भन्ने कुराले केही फरक पर्दैन । तपाईँले बिर्सनै नहुने कुरा त शान्ति तपाईँभित्र छ अनि त्यो सदैव रहनेछ । तपाईँका सामुमा सङ्कट भएको भए पनि शान्ति तपाईँभित्रै हुन्छ । केवल तपाईँले यस कुरालाई बुझ्नु आवश्यक छ। हामीलाई मानिसको शरीर प्राप्त भएको छ । यसबाट हामी के गर्न सक्छौँ ? यो हामीले किन पायौँ त ? त्यो लक्ष्यलाई बुझ्नुहोस्, जसका लागि यो जीवनलाई पाएका छौँ।
एकपटकको कुरा हो । एउटा गाउँमा तीन भाइ छोराहरू आफ्ना आमाबाबुसँगै बस्थे । तिनका बाबुआमाहरू बितेपछि तीनै भाइले सल्लाह गरे– ‘अब के गर्ने होला ?’ तिनीहरू तीनैजनाले फरक–फरक दिशामा गएर काम गर्ने विचार राखे । आफ्नो भाग्यअनुसार जस्तो हुन्छ त्यही गर्ने भन्ने निर्णय पनि भयो। अलि–अलि उनीहरूको खेती थियो । जमिन र एउटा घर थियो । जे–जे उनीहरूसँग थियो, सबैलाई बेचेर सुन किने अनि त्यसलाई तीन भाग लगाएर बाँडे। सल्लाहबमोजिम तीनैजना हिँड्ने भए । पाँच वर्षपछि यही ठाउँमा भेट्ने है भनेर निधो पनि गरे । त्यसपछि आ–आफ्नो भाग्यलाई हेरौँला भनेर तीनैजना आ–आफ्नो दिशालाई पक्रेर बाटो लागे।
एक भाइचाहिँ भक्तिभाव भएका व्यक्ति थिए । उनले आफ्नो कुटीमा एउटा सानो मन्दिर बनाएर त्यसमा सुनलाई सजाएर राखे । दिनदिनै त्यसको पूजा गर्दथे । भजन–कीर्तन गर्ने गर्दथे । त्यसमा प्रसाद चढाउँथे । उनले सुनलाई दिनदिनै प्रार्थना गरेर भन्दथे, ‘हे सुन ! तिमीसँग यस्तो शक्ति छ, तिमी मेरो दरिद्रतालाई भगाउन सक्छौ ।’ उनको अवस्था भने दिनदिनै बेहाल भइरहेको थियो । उनीसँग लगाउने लुगा पनि थिएन । उनले भिख मागेर खानाको प्रबन्ध गर्नुपरिरहेको थियो । तर पनि, उनले सुनलाई अति श्रद्धापूर्वक भक्ति गरिरहन्थे।
अर्को भाइ लेखक थिए। उनले एउटा दराज बनाएर त्यसमा सुनलाई राखे । अनि, सुनका बारेमा किताब लेख्न शुरु गरे– ‘सुन कति राम्रो हुन्छ ! सुनबाट मानिसले के–के मात्र पाउँदैन र ? सुनबाट के–के सम्भव हुँदैन ? सुन त भगवान्को अद्भुत देन हो ! यसमा मेरो दरिद्रतालाई हटाउन सक्ने क्षमता छ।’ उनले सुनका बारेमा ठूला–ठूला किताब लेख्न शुरु गरे। उनको पनि त्यही हालत भयो। लाउनका लागि लुगा भएन । खानका लागि भिख माग्नुपर्ने भयो तर उनी किताब लेख्नमै मस्त थिए।
तेस्रो भाइ पनि अर्कै दिशातर्फ गएका थिए । उनले यसो सोचे, यो सुनलाई राखेर के फाइदा ? उनले सुनलाई बेचिदिए । सुन बेचेर प्राप्त भएको पैसाबाट एउटा ठूलो खेत किने । खेतीका लागि गोरु र हलो किने। त्यसपछि उनले आफ्नो खेतमा खूब मिहिनेत गरे। अन्नबाली पाकेपछि उनले आफूलाई चाहिने जति अन्न राखेर बाँकीलाई बेचिदिन्थे। यस्तो गर्दागर्दै ती भाइ भने निकै धनी भए । उनले आफ्ना लागि एउटा नयाँ घर किने। नयाँ कार, नयाँ–नयाँ कपडा किने । खानपिनका लागि पनि मीठा–मीठा चिज किन्थे।
पाँच वर्ष बित्यो । तीनैजना दाजुभाइलाई बाचाअनुरूप एकपल्ट भेट्ने मन भयो । सबैजना के–कस्ता भइयो त भनेर तोकिएको ठाउँमा भेला भए । पहिलो भाइ– उनको लुगा फाटेको अनि टालेको देखिन्छ । कमजोर देखिन्छ । कपाल पनि लामो–लामो छ ! आफ्नो हातमा ‘सुन, सुन !’ भनेर लेखेका । सुनकै भजन गाइरहेका थिए, ‘सुन तिमी कति शक्तिशाली छौ, कति बलवान् छौ !’
पहिलो भाइसँग कुरा भयो, ‘भाइ तिमीले के गर्यौ ?’
उनले भने, ‘मैले त मेरो सुन राख्नलाई एउटा सुन्दर मन्दिर बनाएँ । त्यस मन्दिरमा सुनलाई राखेर म त दिनदिनै पूजा गर्छु । मलाई त विश्वास छ, एक न एक दिन मेरो सुनले मेरो दरिद्रतालाई हटाउनेछ ।’ दोस्रोचाहिँ भाइको पनि हालत त उस्तै थियो । पुरानो फाटेको कपडा, हातमा किताब बोकेका ! उनले भने, ‘मैले त एकदमै राम्रो दराज बनाएर त्यसमै सुन राखेको छु । मैले यो सुनका बारेमा धेरै किताब लेखेँ । मलाई त पूरा विश्वास छ– एक न एक दिन मेरो सुनले मेरो दरिद्रतालाई अवश्य हटाउनेछ ।’
दुवै भाइपछि अब तेस्रोचाहिँ भाइलाई सोधे, ‘तिमीले सुनलाई के गर्यौ ?’ उनले भने, ‘मैले त पहिलो दिनमै आपूmले पाएको सुनलाई बेचिदिएँ ।’ दुवै भाइ एकदम आश्चर्यचकित भएर भने, ‘बे..चि..दि..यौ !’ उनले भने, ‘हो ! मैले त बेचिदिएँ । त्यसबाट मलाई जुन पैसा प्राप्त भयो, त्यसबाट मैले जमिन किनेँ । घर बनाएँ । मेरो त दरिद्रता हटिसक्यो । मसँग त सबैथोक छ । त्यो सुनमा दरिद्रता हटाउने क्षमता थियो र मैले आफ्नो दरिद्रतालाई भगाएँ ।’
त्यसै गरी, मानिसको जीवन पनि एउटा सुनजस्तै हो । तर, समय रहँदै हामी यसलाई कदर गर्न जान्दैनौँ । हामी आफ्नो भाग्य खुल्ने पर्खाइमा रहन्छौँ । कोही आउँछ र हाम्रो भाग्य खोलिदिन्छ भन्ने सोच्छौँ । यही पर्खाइमा हामी पूरै जीवनलाई खेर फाल्छौँ । यो मानिसको जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कुराका बारेमा हामी कहिल्यै सोच्दैनौँ ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया