विश्वविद्यालयभित्र अराजकता बन्द गर


त्रिभुवन विश्वविद्यालयमा रेक्टरको मूल गेट र प्रिन्सिपलको कार्यालयसहित आधा दर्जन निकायमा ताला लगाएर विद्यार्थीले अराजकता देखाएका छन्। यो अराजकतालाई विश्वविद्यालयका गुरु अर्थात् प्राध्यापकहरुले पनि साथ दिएका छन् । यद्यपि प्राध्यापकले आफ्नै माग राखेर आन्दोलनमा जाने चेतावनी दिएका छन्।

अघिल्लो हप्ता त्रि.वि. क्याम्पसका स्ववियु सचिव रिद्धान्त भट्टले उपकुलपति प्रवेश गर्ने ढोकामा धर्ना दिएर आफ्ना माग पूरा गराए। सोही पथ पछ्याउँदै अनेरास्ववियु (क्रान्तिकारी) सहित विपक्षी दलका संयुक्त विद्यार्थी संगठनले रेक्टरको कोठाअगाडि धर्ना शुरु गरे। त्यसभन्दा पहिले सामान्य प्रशासन महाशाखा र प्रिन्सिपलकोमा तालाबन्दी भयो।

यति धेरै संघ–संगठनले तालाबन्दी र घेराउ गर्दा पनि तीन पदाधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन्। अर्थात् तीनैजना निरीह भएका छन् । हुँदा–हुँदा संयुक्त विद्यार्थी संगठनका नेताहरु मंगलबारदेखि रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षको गेटमा धर्ना बसेका छन्। ती संगठनको धर्नाको मक्सद फरक छ। आफ्ना पार्टी निकटलाई क्याम्पस प्रमुख बनाउन दबाब दिनु रहेको छ। रेक्टर कार्यालयमा १७ क्याम्पस प्रमुखको लागि अन्तरवार्ता जारी छ। अन्तरवार्ता प्रभावित पार्न धर्ना दिएको अनुमान पदाधिकारीको छ। धर्नाको कारण रेक्टर कार्यालयबाट हुने काम प्रभावित भएको छ।

कहिले उपकुलपति त कहिले रेक्टर, प्रिन्सिपल कार्यालय र विभिन्न संकायमा लगाएको ताला र धर्नाको कारण पठनपाठनमा गम्भीर असर परेको छ। विद्यार्थीले मात्र होइन, त्रि.वि. प्राध्यापक संघले समेत २१ गतेबाट उपकुलपति कार्यालयमा दैनिक १ घण्टा अनिश्चितकालीन धर्ना कार्यक्रम सार्वजनिक गरेका छन्। त्रि.वि. कर्मचारी संघले गएको २७ मंसिरदेखि विविध माग राख्दै १९ गतेसम्मको लागि दैनिक १ घण्टा धर्ना जारी राखेका छन्।

आन्दोलनरत शिक्षक, विद्यार्थी र कर्मचारीको एउटै धारणा छ– रहरले आन्दोलन गरेको होइन, पदाधिकारीले बाध्य बनाएर आन्दोलन गर्नुपरेको हो। तर बाध्यताले आन्दोलन गरेको बताइरहँदा विश्वविद्यालयको शैक्षिक र प्रशासनिक क्षेत्रमा कति असर परेको हुन्छ ? यो विषयमा गम्भीर हुन सकेका छैनन्। प्राध्यापक, कर्मचारी र विद्यार्थीले आ–आफ्नै माग राखेर आन्दोलन गरेको जनाए पनि सबैको संस्थाअनुसार स्वार्थ जोडिएको छ।

यसअघि अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनले केन्द्रीय क्याम्पस प्रमुख (प्रिन्सिपल) को कार्यालयलगायत ४ निकायमा तालाबन्दी गरेको छ। प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गर्नुको मुख्य कारण एनपीएलमा त्रि.वि.को जग्गा पार्किङको लागि भाडामा दिएको आरोप छ।

त्रि.वि.का पदाधिकारीले शिक्षक, विद्यार्थी र कर्मचारीले राखेको मागप्रति बेवास्ता गरेको कारण आन्दोलन गर्न बाध्य भएको दाबी गरिरहेका छन्। कार्यकक्ष वा कार्यालय बन्द गरेर आन्दोलन गर्नु कदापि हुँदैन। आन्दोलनका फरक विकल्प सोचेर विद्याको मन्दिरलाई शान्तिक्षेत्र बनाउन सबैले भूमिका खेल्नु आवश्यक छ।