‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट उज्यालोतर्फ । उपनिषद्को यो प्रसिद्ध मन्त्रले जीवनमा ज्ञान, सत्य र प्रकाशको महत्वलाई चित्रण गर्दछ ।
भर्खरै सकिएको यहुदी समुदायको हानुक्का पर्व पनि प्रकाशको पर्व हो, अन्धकारमा उज्यालो ल्याउने चमत्कारको प्रतीक हो । चन्द्रमामा आधारित हिब्रु पात्रोअनुसार मनाइने यो पर्व सामान्यतया नोभेम्बर वा डिसेम्बर महिनामा पर्छ । यो वर्ष भने डिसेम्बर २५ तारिख अर्थात् क्रिसमस डेको दिन शुरू भएर जनवरी १ अर्थात् नयाँ वर्षको दिन समाप्त भएको थियो ।
नेपालका लागि इजरायलका राजदूत स्मुलिक आरी बासका अनुसार यस पर्वले अन्धकार समयको अन्त्य गर्दै चमत्कारद्वारा आशा, स्वतन्त्रता र धार्मिक अध्यासको पुनस्र्थापनाको कथा सुनाउँदछ । उनी भन्छन्– ‘आठ दिनसम्म मेनोराह प्रज्वलन गर्नु चमत्कारको स्मरण र आशाको प्रतीक हो ।
आजभन्दा झण्डै २००० वर्ष अगाडि यहुदी समुदायले सिरियाली–युनानी शासनविरुद्ध विद्रोह गरेका थिए । उक्त विद्रोहको नेतृत्व गरेको मक्काबी समूहले जेरुसेलम मन्दिर पुनः कब्जा गरेपछि मन्दिर शुद्धीकरण गर्दा उनीहरूले एक दिनका लागि मात्र दीप प्रज्वलन गर्न पुग्ने तेल पाए । तर उक्त तेलले आठ दिनसम्म दीप प्रज्वलित भएको भन्ने प्राचीन कथन छ । सोही चमत्कारको सम्झनामा इजरायललगायत विश्वभरका यहुदीहरूले आठ दिनसम्म हानुक्का मनाउने गर्दछन् ।’
नेपालका लागि इजरायलका पूर्व राजदूत खनान गोदरले हानुक्काको प्रकाशले आतंकबादको लडाई लडिरहेका इजरायलीलाई संघर्षको बीचमा पनि उज्यालोको खोजी गर्न, सत्यलाई अँगाल्न र अन्धकार अर्थात् आतंकबादलाई परास्त गर्न प्रेरणा दिने बताए ।
हानुक्का केवल ऐतिहासिक विजयको पर्व मात्र होइन, यो धार्मिक स्वतन्त्रताको प्रतीक पनि हो । यसले सामूहिक रूपमा उज्यालो फैलाउने र परम्परालाई जीवित राख्ने महत्वलाई स्मरण गराउँदै अन्धकारबाट उज्यालोको यात्रा, ज्ञान र आशाको आवश्यक्तालाई उजागर गर्छ ।
हानुक्काको मुख्य परम्पराहरू:
मेनोराह प्रज्वलन
हानुक्काको केन्द्रविन्दु आठ बत्ती भएको दीप मेनोराह हो । हानुक्काको प्रत्येक रात एउटा नयाँ दीप बालिन्छ, जसले चमत्कार र आशाको प्रतीकको रूपमा काम गर्छ ।
विशेष परिकारहरू
हानुक्कामा तेलबाट बनेका लट्केस (आलुको परिकार) र सुफ्गानियोट (जाम भरिएको डोनट) लगायतका परम्परागत परिकारहरू खाइन्छ । हानुक्कामा तेलले चमत्कार गरेको भएर परिकारहरू पनि तेलमा बनाइएको हो ।
ड्रेडेल खेल
हानुक्कामा चारतिर हिब्रु अक्षरहरू लेखिएको घुर्रा जस्तै परम्परागत खेल खेलिन्छ । प्राचीन समयमा यहुदीहरूलाई आफ्नो धर्म सिक्न रोक लगाइएको बेला यही खेलको माध्यमबाट उनीहरूले आफ्ना बालबालिकालाई धार्मिक तथा सांस्कृतिक शिक्षा दिएको कथन छ ।
प्रतिक्रिया