सोनाम ल्होछारको अवसरमा लमजुङमा साँस्कृतिक उत्सव हुने

17.2k
Shares

लमजुङ ।
तामाङ समुदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होछारको अवसरमा लमजुङमा बृहत साँस्कृतिक उत्सव हुने भएको छ । सदरमुकाम बेसीशहरमा नेपाल तामाङ घेदुङ् जिल्ला समन्वय समिति लमजुङको आयोजनामा साँस्कृतिक उत्सव हुने भएको हो ।


आयोजक समितिले विहिबार सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी साँस्कृतिक उत्सवको बारेमा जानकारी गराएको हो । तामाङ समूदायको वर्गचक्र अनुसार डुल ल्हो (नाग वर्ग) को अवसरमा माघको १२ गते उत्सव आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ् जिल्ला समन्वय समिति लमजुङका सचिव आशिष तामाङले बताएका छन् ।

‘भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ उत्सव आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ् जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङले बताए ।

बेसीशहरको फुलबारी मञ्चमा आयोजना हुने साँस्कृतिक उत्सवमा तामाङ जातीको परम्परागत रुपमा प्रयोग हुँदै आईरहेको भेषभुषा, बाजागाजा, बोम्वो, ताम्वा, लामा, गन्वा आदिको प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ । सो सँगै तामाङ समूदायमा प्रचलित परम्परागत खाना, साहित्यीक कार्यक्रम, झाँकी तथा ¥याली पदर्शन, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीको साथमा विबिध मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी भएको अध्यक्ष तामाङले बताए ।

करिव सात लाख रुपैया खर्च हुने अनुमान गरीएको उक्त साँस्कृतिक उत्सवका लागि विभिन्न फर्म, कम्पनि, बैंक तथा वित्तिय संस्थाहरु, सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, जिल्लका स्थानीय तहहरु, स्वदेश तथा विदेशमा रहेका तामाङ समूदायका व्यक्तीत्वहरु एवं अन्य सरोकारवालाहरु सँग सहयोग अपेक्षा गरेको आयोजकले जनाएको छ । उत्सवलाई सभ्य र भव्य बनाउने मुल समारोह सहित विभन्न उपसमितिहरु गठन गरिएको छ ।

सामान्यतय मान्यजनबाट आशिर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा–मीठा परिकार खाने खुवाउने र नाचगान गरि ल्होसार मनाउने गरिन्छ । विभिन्न ठाउँमा छरीएर रहेका तामाङ समूदायलाई एकठाउँमा जम्मा गरी एकता र भातृत्वका लागि महोत्सव आयोजना गर्न लागिएको सचिव आशिष तामाङले बताए ।

सोनाम ल्होछारका अवसरमा तामाङ समूदायमा ठूलाबडासंग आशिर्वाद लिने तथा घर र गुम्वाहरुमा पूजापाठ समेत गर्ने गरिन्छ । ल्हो भन्नाले वर्ष तथा “छार” भन्नाले नयाँ भन्ने बुझाउने हुँदा तामाङहरुको नयाँ वर्ष नै ल्होछार हो । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई विभिन्न जनवार तथा पंक्षीको प्रतिकका रुपमा लिइन्छ ।