नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप अभियान सञ्चालन हुनु प्रशंसनीय कार्य हो । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको एचपीभी खोप १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीहरुलाई निःशुल्क लगाइने भएको छ।
पछिल्लो समय क्यान्सर रोगको वृद्धिसँगै पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा रहेको छ । हरेक दिन चारजना नेपालीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउँदै आएको तथ्यांक छ। नेपाल सरकारको पहलमा १६ लाख ८८ हजार ७ सय ६८ बालिका तथा किशोरीले क्यान्सरविरुद्धको यो खोप निःशुल्क पाउनुले आगामी दिनमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणमा ठूलो राहत पुग्नेछ। नेपाल सरकारले यो खोप अभियान १५ दिन (२०८१ माघ २२ देखि ६ फागुन) सम्म चलाउँदै छ। खोप भित्र्याउने काममा स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखा सक्रिय रुपमा लागिपरेको छ।
नेपालमा हरेक वर्ष ५ लाख ७० हजार पाठेघरको मुखको क्यान्सरका बिरामी हुने गरेका छन्। यही अवस्था रहेमा सन् २०३० सम्ममा यो संख्या वार्षिक ७ लाखको हाराहारीमा पुग्ने अनुमान गरिएको छ। तर एचपीभी खोप लगाएका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर रोकथाम हुने, ९० प्रतिशत नियन्त्रण हुने र ९० प्रतिशतलाई समयमै उपचार गरी सफलता मिल्ने गरेको विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानको तथ्यांकले पुष्टि गरेसँगै नेपालले पनि यो खोप लगाउने निधो गरेको हो । नेपाल मात्र नभई यो अभियानमा विश्वका १ सय ४४ मुलुक जुटिसकेका छन्।
नेपालमा हाल प्रति १ लाख महिलामा १६ जनामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । सन् २०३० सम्ममा प्रति १ लाखमा ४ जनामा झार्ने विषयमा नेपाल सरकारले विश्वसामु हस्ताक्षर गरिसकेको अवस्था छ । यो लक्ष्य पूरा गर्न सरकारले कडा मेहनत भने गर्नुपर्ने देखिन्छ। खोपका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउनेछ।
नेपालमा आइसकेको खोपलाई प्रदेशस्थित आपूर्ति केन्द्रहरुमा पठाउने काम भइरहेको र स्वास्थ्यकर्मीहरुलाई तालिमसमेत दिइसकेको छ । यसअघि यो खोप दुई मात्रा लगाउँदै आएकोमा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयका विज्ञ सिफारिस समितिको सिफारिसका आधारमा यसपटकबाट एक डोज मात्र लगाए पुग्ने भएको छ। रोग लाग्नै नदिने खोप उत्पादन गर्नु र प्रयोगमा ल्याउनले मानिसमा रोगसँग लड्ने क्षमताको विकास हुने विश्व स्वास्थ्य संगठनको ठम्याइछ।
पाठेघरको मुखको क्यान्सर यौनसम्पर्कका क्रममा पुरुषबाट महिलामा सर्छ र बढी असर गर्छ। त्यसैले यौनसम्पर्क गर्ने उमेरभन्दा पहिला नै यो खोप लगायो भने भाइरस सर्न सक्दैन भन्ने अनुसन्धानले पुष्टि गरेको छ। यो भाइरस शरीरमा प्रवेश गरेको १० देखि २० वर्षमा सक्रिय भएर फैलिन्छ । त्यसैले भाइरस सर्नुपूर्व खोपले नियन्त्रण गर्न सक्छ। बालिका तथा किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रित छ। १८ हजार ९ सयवटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ।
विद्यालयबाहेक पनि थप ८ हजार २ सयवटा स्वास्थ्य संस्थाहरुमा केन्द्र तोकिएको छ । यस खोप अभियानमा २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयंसेवक र १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालन हुनेछन्। नेपाल सरकारले यसपटक यो खोप अभियानका रुपमा सञ्चालन गर्ने र अर्को वर्षबाट भने नियमित खोपको सूचीमा राखेको छ। यस खोपले यसरी नै निरन्तरता पाओस्।
प्रतिक्रिया